NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

गगन थापाको माग : ओलीबाट राष्ट्रिय सुरक्षामा थ्रेट देखियो, उनीमाथि अनुसन्धान गरौं

काठमाडौं । कांग्रेस नेता गगन थापाले भारतीय गुप्तचर प्रमुखलाई भेटेका प्रधानमन्त्री केपी ओलीमाथि नै अनुसन्धान गर्न माग गरेका छन् । प्रधानमन्त्रीले कुटनीतिक मर्यादाको उल्लंघन गर्दै भारतीय गुप्तचर रअका प्रमुख सामन्तकुमार गाेयललाई भेटेको भन्दै थापाले प्रधानमन्त्रीमाथि नै अनुसन्धानको माग गरेका हुन् । ‘प्रधानमन्त्रीको भारतिय गुप्तचरसंगको भेटघाटलाई कुटनीतिक मर्यादाको उलङ्घन भनेर सामान्य त्रुटीका रुपमा प्रस्तुत गर्न खोजिएको छ’ थापाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सम्बन्धित मन्त्रालय र निकायको अनुपस्थितिमा विदेशी गुप्तचरसंग भएको भेटघाटले प्रमबाट नै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको छ । यसको अनुसन्धान हुनुपर्छ ।’ भारतीय गुप्तचरसँगको छलफलले नेपाल–भारतबीचको समस्या समाधान नहुने तर्क थापाको छ । ‘भारतीय गुप्तरचरसँगको कुनै पनि प्रकारको छलफलले नेपाल–भारत सम्बन्धको यथास्थितिको समस्या समाधान गर्ने सामर्थ्य राख्दैन’ थापाले भनेका छन्, ‘हाम्रो कुटनीतिमा हेक्का राख्नु पर्ने छलफल गर्नुपर्छ भन्ने मात्र होइन, कोसँग कसरी छलफल गर्ने भन्ने पनि हो ।’ राष्ट्रवादको हलुका कुरा गर्ने तर एउटा गुप्तचरसँग लत्रिने प्रधानमन्त्रीको व्यवहारलाई थापाले उत्ताउलोको संज्ञा दिएका छन् । उच्चस्तरकाे कुटनीतिक पहलबाट मात्रै नेपाल र भारतबीचकाे समस्या समाधान हुने थापाकाे मत छ । ‘राजनीतिक तहमा दुईपक्षीय सम्बन्धलाई सामान्य बनाउन छलफल गरेको भए निसन्देह हामीले स्वागत र समर्थन गर्ने थियौं । तर कहिले वेप्रसङ्ग, केवल आन्तरिक खपतका लागि, राम जन्मभूमिको कुरा निकालेर दुईपक्षीय सम्बन्धलाई झन् जटिल बनाउन तिर लाग्ने, अनि कहिले लत्रक्क परेर गुप्तचरसंग भेट्ने प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण उत्ताउलो व्यवहारमा हाम्रो प्रश्न हो’ थापाले भनेका छन्, ‘प्रधानमन्त्रीको यस्तो अप्रत्यासित व्यवहार आन्तरिक राजनीतिमा हामीले भोगेकै हौं । तर अन्तर्राष्ट्रिय सम्बन्धमा समेत यस्तो व्यवहार हुँदा हामी गम्भीर हुनै पर्छ ।’ सचिवालयमा रहेका अन्तर्राष्ट्रिय विज्ञ निर्लज्ज बनेको र भेटपछि बचाउको प्रयास गरिएको विषयले राजनीतिक व्यवस्थाकै उपहास भएको थापाको तर्क छ । ‘मुख्यसचिव नै परराष्ट्र सेवाको, सचिवालयमा अन्तराष्ट्रिय सम्बन्धका विज्ञ हुँदा हुँदै प्रधानमन्त्री निर्लज्ज भएर विदेशी गुप्तचरसँग भेट सम्भव भएबाट राज्यको कुटनीतिक कौशल मात्र नभई प्रधानमन्त्री वरपरका विज्ञहरुको हैसियत पनि सबै सामु प्रष्ट पारेको छ’ थापाले भनेका छन्, ‘र भेट पश्चातको बचाउको प्रायसले सम्पूर्ण राजनीतिक व्यवस्थाकै उपहास गरेको छ । यस प्रकरणबाट देश भित्रको समस्याबाट हात उठाएको ओली सरकार कुटनीतिमा पनि पूर्णत असक्षम रहेको पुष्टि भएको छ ।’