पूर्वपश्चिम राजमार्गस्थित अधिकांश पुलहरुमा दुर्घटनाको जोखिम बढ्यो

महोत्तरी, ११ कात्तिक पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी, धनुषा, सर्लाही लगायतका जिल्लामा रहेका पक्की पुल जिर्ण बन्दा दुर्घटनाको जोखिम बढेको छ । ती ठाउँहरुमा रहेका सानाठूला नदी तथा खोल्साखोल्सीका पुल जीर्ण बनेका छन् । त्यस्ता जिर्ण बनेका पुलहरु समयमा मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको हो । महोत्तरी र धनुषासँग जोडिएको रातु तथा महोत्तरी र सर्लाहीसँग जोडिएको बाँके नदीसहित त्यसको बीचमा पर्ने १८ किलोमिटरभित्रका सबैजसो पुलमा ठूलठूला भ्वाङ्ग परेका छन् । रातु नदीका २०७५ सालमा बनेको नयाँ पुलमा अहिले सयौं ठाउँमा भ्वाङ्ग परेको छ । २५० मिटर लम्बाइ र १०.९० मिटर चौडाइको सो पुल २०७५ असोजमा सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको एक वर्ष नपुग्दै २०७६ सालको प्रारम्भमै सो पुलमा भ्वाङ्ग पर्न लागेको थियो । अहिले यो पुलमा १०० भन्दा बढी ठूलठूला भ्वाङ्ग परेका हुन् । यो नयाँ पुल कालिका टु दी रसुवा जेवी कम्पनी काठमाण्डौले २४ करोड ६० लाख लागतमा बनाएको हो । रातु पुलमात्र नभएर जिल्लाभित्रका पूर्वपश्चिम राजमार्गमा पर्ने जङ्घा, टुटेश्वर, खयरमारा, गणन्ता, ढुङ्ग्रे, ढोलनखोला र बाँके नदीसहितका पुल पनि दिनानुदिन भ्वाङ्ग बढेर धराप बन्दै गएका छन् । यीमध्ये जङ्घा र मरहा क्रमशः दुई र तीन वर्षअघि पुनःनिर्माण भएका हुन् । यीबाहेक ससाना खोल्सीका पुलहरु पनि भत्कदैछन् । भब्सी नदीमा गतवर्षको बर्खामा लडाएको पुलको ठाउँमा अहिले बेलिब्रिजबाट आवागमन चलेको छ । कहिले हुन्छ मर्मत ? राजमार्ग र सडकको मर्मतसम्भारको जिम्मेवारी लिएका सडक डिभिजन कार्यालय मुजेलियाले यसपाली कोभिड–१९ सङ्क्रमणका सन्त्रासले यस्ता काम प्रभावित बनाएको स्वीकार गरेको छ । अब दिपावली र छठ पर्व सम्पन्न भएसँगै पुल र सडकको मर्मतसम्भारको काम थालिने डिभिजन कार्यालयले जनाएको छ । धेरै पुलको आयु खस्किसकेको छ । पुलमा प्रयोगमा आउने स्टिल विशेष खालको भएकाले लण्डनबाट खरिद गर्नुपर्ने प्राविधिकको भनाइ छ । राजमार्ग क्षेत्रमा बनाइने यस्ता पुलको औसत आयु ४० देखि ५० वर्ष भए पनि स्टिल ब्रिजमा आधारित पुल अहिले भाँचिन थालेका छन् ।
प्रतिक्रिया