NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

वीर अस्पतालको क्षमतामा प्रश्न : बजेट हुँदा पनि किन स्वास्थ्य उपकरण खरिद गर्न सक्दैन ?

वीर अस्पतालमा आईसीयु नपाएको कारण कार्तिक ५ गते कटहरिया नगरपालिका वडा नं ४ की ४३ वर्षिया महिलाको मृत्यु भयो । ब्रेन ट्युमरको विरामी ती महिलालाई स्वास प्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । आईसीयूको लागि आवश्यक पर्ने बेड खाली नभएको भन्दै अस्पताल प्रशासनले ती महिलालाई आइसोलन वार्डमै राखेपछि ती महिलाको मृत्यु भएको थियो । सुरुमा उनको कोरोना रिर्पोट पोजेटिभ आएको थियो । वीर अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, सशस्त्र प्रहरी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल आयुर्वेद अस्पताल तथा रिर्सच सेन्टर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय २० आईसीयु थप गर्न सरकारले २ चैतमा यी छ वटा अस्पताललाई कुल ६२ करोड ५० लाख बजेट दिएको थियोे । त्यसमध्ये मुलुककै जेठो वीर अस्पतालले १२ करोड रुपैयाँ बजेट प्राप्त गरेको थियो । त्यसमध्ये टेकु अस्पतालले आईसीयु थप गरिसेकको छ भने सशस्त्र प्रहरी अस्पतालले उपकरण खरीदका लागि आवश्यक टेण्डर प्रकृया अगाडी बढाईसकेको छ । त्रि.वि शिक्षण अस्पतालले पनि खरीद प्रकृया अघि बढाईसकेको छ । आन्तरिक विवाद, अनिर्णय, उपकरण खरीद प्रकृयामा हुने ढिलाई लगायतका कारण उपकरण खरीद समयमै गर्न नसकिएको मुलुककै जेठो वीर अस्पताललले जनाएको छ । अस्पताल प्रशासनका अनुसार आईसीयु लगायतका उपकरण खरीदकै लागि अस्पतालले गत वैशाखमै प्रकृया अगाडी बढाएको थियो । तर लकडाउन, भनेको समयमा सामान उपलब्ध नहुने समस्याका कारण त्यसबेला प्रकृया अगाडी बढाउन नसकिएको अस्पताल प्रशासनको तर्क छ ।सामान खरीदका लागि अस्पतालले जेठमा सुचना निकाल्ने तयारी गरेको थियो । अस्पतालका अनुसार सामान खरीदका लागि अस्पतालले सार्वजनिक सुचना समेत जारी गरेको थियो । तर लकडाउनका कारण त्यसबेला कतिले दरखास्त नै दिएनन् भने दरखास्त दिने कम्पनीले पनि भनेको समयमा सामान ल्याउन नसकेपछि अस्पतालले प्राप्त गरेको बजेटमध्ये आधा रकम फ्रिज भयो । त्यसका बाबजुद साउनको पहिलो साता टेण्डर प्रकृया अघि बढाएर भएपनि आईसीयू सञ्चालनका लागि आवश्यक सबै उपकरण खरीद गरिसकेको अस्पतालले जनाएको छ । अस्तालका अनुसार हाल वीर अस्पतालमा आईसीयुका लागि आवश्यक पर्ने मोनिटर, भेन्टिलेर आइसकेको छ भने यसका लागि चाहिने थप जनशक्ति व्यवस्थापनको काम पनि अघि बढिसकेको छ । त्यसबाहेक, आईसीयु सञ्चालनका लागि आवश्यक पर्ने भौतिक संरचना पुर्ननिमार्णको काम अघि बढिसकेको छ । सम्भवतः अबको एक डेढ महिना भित्रमै थप गरिएको आइसीयुहरु पनि पूर्ण रुपमा सञ्चालनमा आउने अस्पतालले विश्वास लिएको छ । खरीद प्रकृयालाई लिएर बारम्बार विवादमा वीर अस्पतालआईसीयु मेसिन, भेन्टिलेटर, टेमाग्राफी लगायतका अस्पताललाई चाहिने आवश्यक उपकरण खरीदको विषयलाई लिएर वीर अस्पताल बारम्बार विवादमा पर्ने गरेको छ । आपसी मिलेमतो, सामान खरीद प्रकृयामा हुने मोलमोलाई, एउटै व्यक्तिसित सामान खरीद गर्नुपर्ने बाध्यता, कमिसनको खेल, कर्मचारी हावी हुने समस्या, प्रशासन, लेखा देखि उपकुलपतिको कार्यालय सम्मको संलग्नताका कारण पनि सामान खरीद प्रकृयालाई लिएर अस्पताल सधै विवाद आउने त्यहाँ कार्यरत कर्मचारी बताउँछन् । ‘यसमा धेरै कुराले भूमिका खेलेको हुन्छ । शक्तिको द्धन्द्ध देखि कमिसनको खेल लगायत विभिन्न स्वार्थ जोडिएको हुन्छ। स्वार्थ मिले ठिक तर स्वार्थ नमिलेको खण्डमा सामान खरीद प्रकृयालाई लिएर विवाद हुनु सामान्य हो’। प्रशासन शाखाका एक अधिकृतले भने । उपकरण खरीद प्रकृयामा प्रशासन देखि लेखा, उपकुलपतिको कार्यालयको संलग्नताका कारण पनि यो प्रकृया प्रभावित हुने गरेको डा. केदार सेञ्चुरी बताउँछन् । ‘सामान खरीदको अख्तियारी मलाई दिएको भए सम्भवत मैले समयमै काम अगाडी बढाउन सक्थे पनि होला । तर वीर अस्पतालमा खरीद प्रकृयाको सम्पूर्ण अख्तियारी न्याम्सलाई दिएको हुन्छ । मैले त प्रकृया अगाडी बढाइदिने मात्र हो । तर पनि अस्पतालको निर्देशकको हैसियतले दोष भने मलाई मात्र आउँछ’, वीर अस्पतालका मेडिकल डाइरेक्टर डा. केदार सेञ्चुरीले नेपालवाचसँग भने । उपकरण खरीद प्रकृयालाई लिएर वीरमा भएको ढिलासुस्तीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालकै कमजोरी ठहर गरेको छ । भेन्टिलेटर, आईसीयू लगायत कोभिड–१९को उचित व्यवस्थापनका लागि आवश्य उपकरण खरीदका लागि मन्त्रालयले प्रत्येक पालिकामा मागेको भन्दा २५ प्रतिशत बढाएर बजेट निकासा गरिसकेको छ । साथै, खरीद प्रकृयालाई सहज बनाउन सात दिनको सुचना राखेर, सिधै खरीद गर्न सकिने व्यवस्था समेत गरिसकेको छ । त्यसमध्ये टेकु अस्पतालले उपकरण खरीद गरेर सञ्चालनमै ल्याइसकेको छ भने अन्य ठाउँमा टेण्डर प्रकृया पनि अगाडी बढिसकेको छ । ‘यसका बाबजुद पनि अस्पतालले समयमै उपकरण खरीद गर्न नसक्नु भने अस्पतालकै कमजोरी हो’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने । अस्पतालहरुबाट उपलब्ध सेवा चुस्त दुरुस्त बनाउन, अस्पतालबाट प्रदान हुने सेवाको गुणस्तर नियमन गर्न, अस्पतालमा आईपर्ने समस्याको तत्काल समाधान गर्न तथा सम्बन्धी गुनासाहरुको तत्काल सम्बोधन गर्नकै लागि तीन महाशाखा प्रमुुखहरुलाई विभिन्न अस्पतालको लागि जिम्मेवारी दिएको उनले बताए । डा. गौतमले नेपालवाचसँग भने,‘ उपकरण खरीद प्रकृया, अस्पतालबाट प्रदान हुने सेवामा ढिलासुस्ती भयो भन्ने गुनासो बढेकै कारण मन्त्रालयले निति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनी, समन्वय महाशाखा प्रमुख डा. जागेश्वर गौतम तथा गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. विकास देवकोटालाई विभिन्न अस्पतालहरुको जिम्मेवारी दिएको हो ।