भारतद्वारा पाम आयलमा प्रतिबन्धः धराशायी बन्दै नेपाली उद्योग

वीरगञ्ज । भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएका छन् । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धरासायी भएको हो । भारतमा उच्च माग रहेको पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यावसायीहरुको ठूलो लगानी जोखिममा परेको छ । नेपालबाट निकास हुने प्रमुख वस्तुमध्ये एक पाम तेल पनि हो । आर्थिक वर्ष २०७६÷७७ मा निकासीको सूचीमा रहेको प्रशोधित पाम आयल चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म निकासीको सूचीबाट हटेको छ । पाम आयल उत्पादन गरी भारतमा निकासी हुने मुख्य २० वस्तुको सूचीबाट पाम आयल हटेका कारण यस क्षेत्रका उद्योग आर्थिक मारमा पर्दै गएको छ । इण्डोनेसिया, क्यानाडालगायत तेस्रो मुलुकबाट भारतको बाटो गरी आयात भई नेपाल भित्रिने तथा नेपालमा प्रशोधन गरी पुनः भारतीय बजारमा जाँदा भारतीय उद्योग प्रभावित हुने गरेकाले भारत सरकारले पाम आयलमा प्रतिबन्ध लगाएको हो । नेपाल चामल, दाल, तेल उद्योग संघका अध्यक्ष सुवोधकुमार गुप्ताले भने, ‘पाम आयलको आयातमा भारतले एकपक्षीयरूपमा प्रतिबन्ध लगाउँदा यसले पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग बन्द हुने अवस्थामा पुगेको छ ।’ वीरगञ्ज भन्सार नाका हुँदै अघिल्लो वर्ष नेपालबाट भारततर्फ १८ अर्ब ३१ करोड रुपैयाँको पाम आयल निर्यात भएको थियो । पर्सा, बारामा रहेको १४ यस्ता उद्योगले वीरगञ्ज भन्सार नाकाबाट मात्रै ११ अर्ब ७२ करोड रुपैयाँ मूल्य बराबरको एक लाख ६० हजार मेट्रिक टन पाम आयल भारत निकासी गरेको थियो । तर भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि गत वैशाखदेखि यसको निकासी हुन नसकेको वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत रमेश सुकमनीले बताए । भारतमा पाम आयल निर्यात गर्न नपाएर अहिले उद्योगी सोयाबिनको प्रशोधित तेल निकासी गरिरहेको जानकारी दिँदै ओसिबी फुड्सका सञ्चालक सुरेश रुगंटाले भने, ‘पाम आयल निकासी गर्ने भनेर यो क्षेत्रका अधिकांश उद्योग आफ्नो क्षमता विस्तार गरेका थिए तर पाम आयल निर्यातमा भारतले एकाएक प्रतिबन्ध लगाएपछि उद्योगमा गरिएको लगानी डुब्ने डरले उद्योगी बाध्य भएर सोयाबिन तेल निकासीमा जोड दिएका छन् ।’ नेपालबाट प्रशोधित भई भारत जाने पाम आयलले ८० प्रतिशत भारतीय बजारमा आफ्नो कब्जा जमाएकाले त्यहाँबाट विदेशी मुद्रा नेपाल आउँदा यहाँको उद्योग फस्टाउँदै गरेको थियो । तर भारतले केही महिनायता पाम आयलको आयातमा प्रतिबन्ध लगाएपछि ती उद्योगको व्यापार घाटा उच्च भएपछि उद्योगीले आफ्ना उद्योगलाई रुग्ण हुनबाट जोगाउन पाम आयलको ठाउँमा भटमासको तेल प्रशोधन गरी निर्यात गर्न थालेको अर्का उद्योगपति सन्दीप गाडिया बताउँछन् । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नौ अर्ब १० करोड रुपैयाँ मूल्य बराबरको ६३ हजार १०१ मेट्रिक टन भटमासको प्रशोधित तेल भारततर्फ निर्यात भएको छ । नेपाली उत्पादन भारतमा जाँदा भारतीय उद्योग प्रभावित हुन थालेपछि भारत सरकारले यस्तो कदम चालेको उद्योगी बताउँछन् ।
ताजा अपडेट
-
फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण
-
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको भेट
-
वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड
-
प्रतिनिधिसभा बैठक : तिलगाउँका बासिन्दाको उद्धार गर्न माग
-
अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क
प्रतिक्रिया