झोलुंगे पुलको नामकरण गर्नेलाई २५ हजार रुपैयाँ पुरस्कार

बागलुङ नगरपालिका–१ बांगेचाैर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने देशकै लामो ५ सय ६७ मिटर झोलुंगे पुलको नामकरणका लागि सम्भाव्य नाम पठाउन सार्वजनिक आह्वान गरिएको छ । कालिगण्डकी नदीमाथि बनेको उक्त झोलुङ्गे पुलको शनिबार उद्घाटनका क्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उत्कृष्ट नाम दिने सर्जक/व्यक्तिलाई पुरस्कारस्वरुप २५ हजार रुपैयाँ प्रदान गरिने घोषणा गरे । ‘प्रक्रिया शुरु भइसक्यो, नाम आह्वानसहितको सार्वजनिक सूचना नगरपालिकाको वेभसाइटमा पनि रहन्छ, प्राप्त नाममध्येबाट छनोट समितिले उत्कृष्ट ठहरिएकालाई पुरस्कृत गर्छौं,’ उनले भने । विश्वभर रहेका नेपालीले इमेललगायतका माध्यमबाट नाम पठाउन सकिने नगरपालिकाले जनाएको छ । विश्वकै लामो भनेर दाबी गरिएको उक्त झोलुंगे पुललाई राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउने गरी नामकरण गर्न लागिएको हो । ‘संस्कृति, इतिहास, कालिगण्डकी नदीको सभ्यता नाममा झल्कोस्, जनबोलीमा पनि सजिलै स्थापित हुने खालको होस् भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने । नामकरण गर्दा त्यसको भाव र सौन्दर्य पक्षलाई पनि मूल्यांकन मापन गरिने नगरपालिकाले जनाएको छ । ५६७ मिटर लामो र १३८ मिटर अग्लो उक्त झोलुंगे पुलको विसं २०७५ चैत ९ गते शिलान्यास गरी निर्माण थालिएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभाग, सस्पेन्सन ब्रिज डिभिजन कार्यालयमार्फत १२ करोड २२ लाखको लागतमा पुल निर्माण गरिएको हो । निर्माण कम्पनीले सम्झौता अवधिभन्दा तीन महिनाअगावै पुल सम्पन्न गरेको भए पनि कोभिड–१९ का कारण उद्घाटन पछाडि धकेलिएको थियो । सर्वसाधारणको आवतजावतका लागि भने गत साउनदेखि नै पुल खुला गरिएको थियो । उद्घाटन समारोहमै मन्त्रालयका सचिव एकनारायण अर्यालले नगरप्रमुख पौडेललाई पुल हस्तान्तरणको प्रमाणपत्र प्रदान गरेका थिए । पुललाई विश्वकै लामो झोलुंगे पुलका रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा दर्ता गर्न नगरपालिकाले प्रक्रिया अघि बढाएको जनाइएको छ । ‘झोलुंगे पुलको जिल्ला’ भनेर चिनिने बागलुङमा लामो पुलले अर्को चिनारी थपेको छ । देशकै लामो पुल तर्न र अवलोकनका लागि जिल्ला भित्रने आन्तरिक पर्यटकको संख्या बढ्दो छ । पुलको आसपासमा सौन्दर्यीकरणको योजना अघि बढाइने नगरपालिकाले जनाएको छ । पुलको शनिबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेका थिए ।
ताजा अपडेट
-
फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण
-
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको भेट
-
वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड
-
प्रतिनिधिसभा बैठक : तिलगाउँका बासिन्दाको उद्धार गर्न माग
-
अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क
प्रतिक्रिया