आजका ‘गुड न्यूज’ : विश्वकै दोस्रो अग्लो शिखर केटुमा नेपाली टोलीको कीर्तिमानी आरोहण

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संम्प्रेषित भए । त्यसमा नकारात्मक भाव बोकेका खबरहरूको वर्चस्व थियो । विकृत राजनीतिका खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान ओगटे । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ, ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । विश्वकै दोसो अग्लो शिखर केटुमा नेपाली टोलीको कीर्तिमानी आरोहण नेपाली आरोहण टोलीले हिउँदमा पाकिस्तानस्थित विश्वकै दोस्रो सर्वोच्च शिखर माउन्ट केटुको आरोहण गरेका छन् । हिमाल आरोही निर्मल पुर्जासहितको १० नेपाली पर्वतारोहीले उक्त हिमाल आरोहण गरेका हुन् । यसअघि ८ हजार ६ सय ११ मिटर अग्लो माउन्ट केटुमा हिउँदमा कसैले पनि आरोहण गरेका थिएनन् । सात महिनामै आठ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गरेका निर्मल पुर्जा (निम्सदाइ), दावा छिरिङ शेर्पा, दावा तेम्बा शेर्पा, पेम छिरि शेर्पा, मिंग्मा डेभिड शेर्पा, मिंग्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पाले शनिबार साँझ ५ बजे (स्थानीय समय) एकसाथ हिमाल आरोहण गरेका हुन् । स्याउका बिरुवा निर्यात गर्दै जुम्लाका किसान जुम्लाका किसान स्याउका बिरुवा जिल्ला बाहिर निर्यात गर्न लागिपरेका छन् । बाहिर जिल्लाका किसान बिरुवा लिन नर्सरीमै पुग्ने गरेको स्याउ किसान गोपाल रोकायाले जानकारी दिए । यस वर्षमा पहिलो पटक दाङ जिल्लामा स्याउ बिरुवा निर्यात गरेसँगै बाहिरी जिल्लाबाट स्याउका बिरुवा खरिद गर्न नर्सरीमै स्याउ लगाउने किसानको भीड हुने गरेको तिला गाउँपालिका– १ का वरिष्ठ स्याउ किसान महेन्द्र बुढाले बताए । यस याममा मात्र करिब ६ हजार स्याउका बिरुवा बेचेको सिञ्जा गाउँपालिका स्याउ किसान हंश कठायतले जानकारी दिए । जिल्ला बाहिरबाट आएको मागअनुसार सबै किसानले सल्लाह गरेर एकैपटक निर्यात गर्ने वातावरणका लागि पहल भइरहेको छ । अघि बढ्यो कोटेश्वर–जडीबुटी सडक निर्माण काठमाडौँ उपत्यकामा सवारीसाधनको चाप बढी हुने सडकमा पर्ने कोटेश्वर–जडीबुटी सडक विस्तार अघि बढेको छ । डिभिजन सडक कार्यालय काठमाडौँले आगामी असारसम्ममा सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको जनाएको छ । सो सडकमा निर्माणस्थल खाली भएसँगै निर्माण अघि बढाउन लागिएको हो । हालसम्म सो सडकको निर्माणको काम सात प्रतिशत सकिएको डिभिजन प्रमुख कुबेर नेपालीले बताए । टुन्डी सुसन जेभिसँग सो सडकको निर्माण ६ महिनामा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । डिभिजनले गत भदौदेखि सडकका दुवैतर्फको निर्माणस्थल खाली गरिरहेको जनाएको छ । देशभरका अधिकांश सडक निर्माणमा त्यहाँ रहेका पूर्वाधार हटाउँदै काम अघि बढाइएको प्रमुख नेपालीले बताए । नेप्से सूचकले दैनिक नयाँ रेकर्ड बनाउँदै पछिल्लो समय सेयर बजारले हरेक दिन नयाँ रेकर्ड बनाएको छ । हप्ताको पहिलो दिन नेप्से परिसूचक २८.४६ अंकले बढेर २३१५ विन्दुमा आइपुगेको छ । आज कारोबारमा आएका २०८ कम्पनीको ६ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज १ करोड ५० लाख ३५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबारमा आएका १२ समूहमा हाइड्रोपावरबाहेक बाँकी सबै समूहको सूचक उकालो लागेको नेपाल स्टक एस्कचेन्ज लिमिटेडले जानकारी दिएको छ । आज कारोबारमा आएको व्यापारिक समूह सबैभन्दा धेरै वृद्धि भएको छ ।
ताजा अपडेट
-
बेपत्ता आयोगले तीन वर्षमा पायो पदाधिकारी
-
प्रतिनिधिसभाबाट ‘जलस्रोत विधेयक २०८१’ पारित
-
कालीगण्डकीमा बेपत्ता किशोरको शव भेटियो
-
सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिनुपर्छ : मुख्य सचेतक बर्तौला
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रतिक्रिया