५० हजार बढी नेपालीलाई कोरोनाको खोप निःशुल्क

सउल । कोभिड–१९ रोकथामका लागि ५० हजार भन्दा बढी नेपाली नागरिकले निशुल्क खोप प्राप्त गर्ने भएका छन् । दक्षिण कोरियाली सरकारले आगामी महिनादेखि सञ्चालन गर्ने कोभिड-१९ विरुद्धको खोप अभियानमा नेपालीहरुलाई पनि समावेश गरेको हो । दक्षिण कोरियामा बसेर काम गरिरहेका नेपालीहरुले यो सुविधा प्राप्त गर्नेछन् । दक्षिण कोरियाली सरकारले खोपको पहिलो प्राथमिकतामा फ्रन्ट लाइनमा काम गर्ने चिकित्सक, सुरक्षा निकाय, सरकारी कर्मचारी, स्वयम्सेवकलाई राखेको छ । त्यस्तै जेष्ठ नागरिक, बालबालिका, अशक्त, अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेको छ । तर कोरियामा अवैधानिक रुपमा बस्ने तथा स्वास्थ बीमा नभएका विदेशी नागरिकलाई भने उक्त खोप निःशुल्क दिने वा नदिने भन्नेबारेमा भने कोरिया सरकार मौन छ । कोरियामा अवैधानिक तवरले बस्नेहरूको सङख्या पनि ठूलै हुनसक्ने अनुमान छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार कोभिड–१९ विरुद्धको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने घोषणा गरेका हुन् । यसअघि कोरियाले आफ्ना नागरिकलाई मात्र निःशुल्क खोप उपलब्ध गराउने निर्णय गरेको थियो । नयाँ निर्णय गर्दै विदेशीलाई पनि उक्त खोप निःशुल्क दिने भएको हो । यससँगै त्यहाँ रहेका ५० हजारभन्दा बढी नेपालीले पनि उक्त खोप निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया