NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

कोभिड कहरः हवाई यात्रु घटे

काठमाडौं । कोभिड–१९ महामारीका कारण यस वर्ष अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका यात्रु सङ्ख्या घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गएको नौ महिनाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने यात्रुको सङ्ख्या घटेको जनाएको हाे । प्राधिकारणको तथ्यांकअनुसार सेप्टेम्बरसम्म यात्रु सङ्ख्या नौ लाख २७ हजार दुई सय आठ रहेको छ । सन् २०१९ मा ४१ लाख ३८ हजार ४ सय ८२ रहेको छ जुन अघिल्लो वर्षको तुलनामा ४.६ प्रतिशत बढि थियो । सन् २०१८ मा अघिल्लो वर्षको तुलनामा ११.६९ प्रतिशतले वृद्धि भई कूल ४३ लाख ४२ हजार ४८६ यात्रु आवागमन भएको थियो । सन् २०१७ मा अन्तर्राष्ट्रिय उडानतर्फ कूल ३८ लाख ८७ हजार ८४५ यात्रु आवागमन भएको प्राधिकरणले जनाएको छ । आन्तरिकतर्फ यस वर्षको सेप्टेम्बरसम्म यात्रु सङ्ख्या सात लाख ८७ हजार ४० रहेको छ । सन् २०१९ मा यात्रु आवागमन सङ्ख्या ३१ लाख ८८ हजार ४८७ रहेको छ जुन अघिल्लो वर्षको तुलनामा ११.९६ प्रतिशत हो । त्यस्तैगरि सन् २०१८ मा १.१६ प्रतिशतले वृद्धि भई २८ लाख ४७ हजार ७५२ यात्रुको आवागमन भएको थियो । सन् २०१७ मा २४ लाख ५१ हजार ३९० यात्रु आवागमन भएको थियो । महामारीका कारण अर्थतन्त्रका अन्य क्षेत्रमध्ये पर्यटन क्षेत्र सबैभन्दा धेरै प्रभावित बन्यो । त्यसमा पनि हवाई क्षेत्रले नराम्ररी आर्थिक क्षति बेहेर्नुपरेको छ । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि अघिल्लो वर्ष चैत ११ देखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण लामो समय अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध भयो । विश्वव्यापी महामारीको रुपमा फैलिएको सङ्क्रमण जोखिमका कारण विदेशी नेपाल आउने वातावरण भएन । अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक उडान पनि स्थगन भयो । भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान र असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको गरेसँगै यस वर्ष उल्लेखनीय सङ्ख्यामा विदेशी पर्यटक आगमनमा वृद्धि हुने अपेक्षा गरिएको थियाे । तर कोभिडको महामारीका कारण हवाई तथा पर्यटन क्षेत्रमा उल्लेख्य असर परेको प्राधिकरणले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय उडानतर्फ तीन नेपाली र २७ विदेशी वायुसेवा गरी ३० वटा वायुसेवाले १५ मुलुकका ३२ गन्तब्यमा उडान सञ्चालन गरिरहेका छन् भने आन्तरिक उडानमा नौ फिक्सड विङ वायुसेवा र १० हेलिकप्टर कम्पनी सञ्चालनमा छन् ।

ताजा अपडेट

नेपालवाच विशेष