पदयात्रीको रोजाइमा पर्दै नवलपुरकै अग्लो ‘देवचुली डाँडा’

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर जिल्लाकै सबैभन्दा अग्लो देवचुली डाँडा पदयात्रीको रोजाइमा पर्न थालेको छ । समुद्र सतहबाट एक हजार ९ सय ३४ मिटर उचाइमा रहेको देवचुली डाँडामा उल्लेख्य रुपमा पैदलयात्री पुग्न थालेका छन् । पदैलयात्राका क्रममा देखिने मनोरम प्राकृतिक देश्यका कारण त्यहाँ पुग्न पदयात्री लोभिन थालेका हुन् हरियो वनले ढाकेका पाखा, दक्षिण क्षेत्रमा नवलपुरको राजमार्ग, वरपरका बस्ती र अविरल बगिरहेको नारायणी नदीको दृश्यले पदयात्राका क्रममा हुने थकाइलाई बिर्साइदिन्छ । उत्तरतर्फ देखिने हिमशृङ्खला सुन्दरता झनै मनमोहक हुने गर्दछ । पहाडको टुप्पोमा पुग्दा माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरिलगायतका हिमशृङ्खला समीपमा देखिन्छन् । जसले त्यहाँ पुग्ने सबैलाई आकर्षित बनाउँछ । पदयात्राका लागि अहिले जिल्लाका आन्तरिक पर्यटकसहित चितवन, नवलपरासी पश्चिम, रुपन्देहीलगायत आसपासका ठाउँबाट त्यहाँ पर्यटक पुग्ने गरेका छन् । देवचुली डाँडा पुग्दा निकै रमाइलो अनुभूति भएको मध्यविन्दुका सुवास खत्रीले सुनाए । “चढ्दा केही अप्ठ्यारो त हुन्छ नि, तर जब डाँडाको टुप्पोमा पुगिन्छ, त्यहाँबाट देखिने हिमशृङ्खला, पहाडका टाकुराले मनै आनन्दित बनाउँछ”, खत्रीले भने । यति लामो पदयात्रा पहिलोपटक गरेको बताउने उनले फेरि फेरि पनि आफू आउन लालयित भएको बताए । पूर्वपश्चिम राजमार्गको दलदलेबाट मुण्डे–पोखरी हुँदै जाँदा करिब २५ किलोमिटरको यात्रा गर्नुपर्ने हुन्छ । बोझापोखरीसम्म २० किलोमिटरमा यातायातको सुविधा छ । त्यसपछि भने पैदलयात्रा गर्नुपर्ने हुन्छ । बोझापोखरीबाट करिब तीन घण्टाको पैदलयात्रापछि देवचुलीको टुप्पोमा पुगिन्छ । देवचुली टुप्पोबाट तनहुँ, पाल्पा, कास्कीलगायतका जिल्लाका भूभागसमेत अवलोकन गर्न सकिन्छ । दलदले मुण्डे–कीर्तिपुर हुँदै समेत देवचुली डाँडा पुग्न सकिन्छ । यो मार्ग भएर जाँदा करिब १६ किलोमिटर पर्छ । कीर्तिपुरसम्म सवारी जान्छ, त्यसपछि पैदलयात्रा शुरु हुन्छ । कीर्तिपुर हुँदै जाँदा करिब तीन घण्टाको पैदलयात्रा गरेपछि टुप्पोमा पुग्न सकिन्छ । बोझापोखरीमा आवासका लागि पर्याप्त होटल छन् । चुलीबोझामा मगर समुदायले सञ्चालन गरेको घरवाससमेत छ । देवचुलीको टुप्पोबाट सूर्योदयको दृश्य हेर्न जानेहरु अघिल्लो साँझ नै बोझापोखरीमा गएर बस्ने गर्दछन् । साँझ बस्नेहरु बिहानै पैदलयात्रामा निस्किन्छन् । सूर्योदयको दृश्य हेर्न आउनेहरु अघिल्लो साँझ नै बोझामा बास बस्ने गरेको स्थानीय भविलाल गाहामगरले बताए । अहिलेको समयमा दैनिकजसो ९/१० समूह साँझ नै बोझा आउने गरेको उनले बताए । यसले यस क्षेत्रको व्यापार–व्यवसायसमेत बढाएको गाहामगरले बताए । देवचुली डाँडाको पदैलमार्गमा समेत केही साना होटल रहेका छन् । सामान्य खाना र आवासको सुविधा छ । कोही राति यिनै साना होटलमा पुग्ने गर्छन् । यसले बिहान थोरै हिँडेर पनि टुप्पोसम्म पुग्न सकिन्छ । देवचुली डाँडाको टुप्पो पुग्नुअघि तीनकन्या माईको मन्दिरसमेत रहेको छ । गुफाभित्र अवस्थित यस मन्दिरमा थारू समुदायले प्रत्येक वर्ष चैत पूर्णिमा दिन विशेष पूजा गर्ने गर्छन् । यसै स्थानमा पाँच वर्षमा एकपटक कन्तरी माईको पूजा गर्ने चलनसमेत छ । तीनकन्या माईको मन्दिर रहेको गुफामा परापूर्वकालमा पाँच पाण्डव गुप्सवास बसेको समेत किंवदन्ती छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा रहेको देवचुली डाँडामा आवश्यक पूर्वाधार नहुँदा भने त्यहाँ पुग्ने पर्यटकले असहज महसुस गर्ने गरेका छन् । खानेपानीको समस्या, पर्याप्त विश्रामस्थल नहुँदा यात्रा केही असहज हुने गरेको त्यहाँ पुग्ने पर्यटकले गुनासो गर्ने गरेका छन् । पदमार्ग निर्माण गरी यसलाई व्यस्थित बनाउन सके त्यहाँ उल्लेख्यरूपमा पर्यटक आउने देवचुलीका स्थानीयवासी युवा राजु चापागाईँले बताए । देवचुली डाँडा जिल्लाकै उत्कृष्ट पर्यटकीय क्षेत्र भएकाले यसको व्यवस्थापनमा काम थालिएको देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारीले बताइन्। लिफ्टमार्फत खानेपानी व्यवस्थापन गर्ने, पदमार्गको निर्माणलगायत योजना रहेको उनले बताइन् । पदमार्ग निर्माणका लागि गण्डकी प्रदेश र संघीय सरकारले यस वर्ष रु १० लाखका दरले बजेट विनियोजन गरेको उपप्रमुख तिवारीले बताइन् । गत वर्ष पनि प्रदेश सरकारले पदमार्ग निर्माणका लागि रु १० लाख विनियोजन गरेको थियो । सो बजेटबाट केही अप्ठ्यारो स्थानमा पदमार्ग र बाटो निर्माणको काम भएको उनले बताइन् । पर्यटनको प्रचुर सम्भावना रहेको देवचुली डाँडा गण्डकी प्रदेशभित्रका ११० पर्यटकीय गन्तव्यभित्र पर्दछ । प्रदेश सरकारले सार्वजनिक गरेको पर्यटकीय गन्तव्यमा नवलपुरका १० गन्तव्यभित्र देवचुली डाँडा पर्छ । रासस
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया