NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

पर्यटन मन्त्रालयमा योगेश भट्टराईको १७ महिना : राम्रा काम र विवाद

काठमाडौं । गत आइतबार प्रतिनिधि सभा विघटन भएसँगै राजीनामा दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई सोमबार औपचारिक रुपमा मन्त्रालयबाट बाहिरिए । मन्त्रालयबाट बाहिरिँदै गर्दा आफ्नो कार्यअवधिभर उड्डयन र पर्यटन क्षेत्रमा उल्लेख्य काम गरेको जिकिर उनले गरे । कहिले निर्धारित समयभन्दा ढिला विमानस्थल पुगी उडान प्रभावित बनाएर त कहिले पशुपतीमा आरतीअघि राष्ट्रिय गान बजाउनुपर्ने निर्देशन दिएर भट्टराई विवादमा परे । डढेलोले पिरोलेको अष्ट्रेलियामा पुगेर त्यहाँका नागरिकलाई नेपाल घुम्न प्रोत्साहन गर्दा पनि उनले आलोचना खेप्नुपर्‍यो । उनकै कार्यकालमा भ्रमण वर्ष, २०२० को उद्घाटन भयो । तर, कोरोना महामारीका कारण भ्रमण वर्ष नै विघटन गर्नुपर्नेसम्मको बाध्यतामा उनी पुगे । यद्यपि, आफ्नो १७ महिने कार्यकालमा उनले केही सकारात्मक काम पनि गरे । नियामक र सेवा प्रदायक छुट्याउने प्रयासदेखि विमानस्थलको स्थलगत भ्रमणसम्म नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल मन्त्री भट्टराईले छोटो अवधिमा उल्लेख्य काम गरेको बताउँछन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणदेखि युरोपियन युनियनले नेपालको हवाई क्षेत्रको नियामक निकाय र सेवा प्रदायक छुट्टिनुपर्ने माग राख्दै आएका थिए । विगत ६ वर्षदेखि ओझेलमा परेको यो विषयलाई मन्त्रीपरिषद्बाट अनुमोदन गराएर संसद्मा पेश गर्न भट्टराईले खेलेको भूमिकालाई पोखरेल प्रशंसा गर्छन् । ‘यो पुनरावेदन यतिबेला राष्ट्रिय सभामा विचाराधीन छ । त्यहाँबाट पारित भएपछि युरोपियन युनियनको कालो सूचीबाट हट्न केही सहज हुन्छ,’ उनले भने । यो बीचमा विमानस्थल निर्माणका काममा पनि मन्त्री हुँदा भट्टराईले तदारुकदा देखाएको पोखरेल बताउँछन् । ‘गौतम बुद्ध विमानस्थल लामो समयदेखि अन्योलमा थियो, उहाँ आएपछि यसले गति लियो,’ पोखरेल भन्छन्, ‘निजगढ विमानस्थल निर्माणका लागि पनि आफ्नो तर्फबाट धेरै प्रयास गर्नुभएको हो । तर, वातावरण तथा वन मन्त्रालय, नेपाल लगानी बोर्ड, कानुनी बाधालगायतका विवादले काम हुन सकेन ।’ रुख कटानी र विमानस्थलसम्बन्धी वातावरणीय प्रभावबारे वन तथा वातावरण मन्त्रालय र पर्यटन मन्त्रालयको विवादमा फसेको विमानस्थल निर्माण झण्डै २५ वर्षदेखि अन्योलमा थियो । विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण तथा मुआब्जा वितरणको काम अघि बढेको छ । सुदूरपश्चिमका कतिपय विमानस्थलमा उडान बन्द थियो । ‘ती विमानस्थलमा उडान सुचारु गर्ने, धावनमार्ग कालोपत्र गर्ने, गुरुयोजना बनाएर काम अघि बढाउने लगायतमा उहाँ जुट्नुभयो,’ पोखरेलले भने । ७० वर्ष कटेकालाई हवाई भाडा छुटदेखि हप्ताको दुई दिन बिदासम्म गत भदौ ९ मा आफ्नो एक वर्षे कार्ययोजना बताउँदै मन्त्री भट्टराईले ७० वर्ष नाघेका वृद्धवृद्धालाई हवाई भाडामा ५० प्रतिशत छुट दिने नीति ल्याए । हाल आन्तरिक उडानमा ७० वर्ष कटेका वृद्धवृद्धाले यो सुविधा लिइरहेका छन् । कोरोना महामारीका कारण धरासायी हुँदै गएको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यकले भनेपनि चलायमान बनाउनुपर्ने निश्कर्ष निकाल्दै उनले कर्मचारीहरुलाई साताको दुई दिन सार्वजनिक विदा दिने प्रस्ताव गरे । महामारीको असरका कारण तत्काल बाह्य पर्यटक आउने सम्भावना कम भएकाले सातामा दुई दिन बिदा दिँदा आन्तरिक पर्यटकको बाँध फुट्ने उनले बताएका थिए । मन्त्रालयको अगुवाइमा गठन भएको विज्ञ टोलीले तयार पारेको यो प्रतिवेदन अहिले मन्त्रिपरिषद्मा छ ।

ताजा अपडेट

नेपालवाच विशेष