NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

अख्तियारमा मिश्रको वयान – बाँस्कोटा जस्तो भ्रष्टलाई जनताले चिनुन् भनेर अडियो सार्वजनिक गरें

यसभित्र –‘७० करोड’ घुस बार्गेनिङ अडियो झुक्किएर रेकर्ड भयाे ।– फोन चलाउँदा रेकर्ड भएछ, पछिमात्र देखेँ ।–‘मलाई व्यापारको चिन्ता होइन, बाँस्कोटा जस्तो भ्रष्ट मान्छेबारे जनताले थाहा पाउनु पर्छ भनेर सार्वजनिक गरेको हुँ ।’–अडियो संवाद घुस प्रयोजनकै लागि भएको दावी ।– बास्कोटाले घुस रकमको अंक बढाउन थालेपछि आफू अप्ठ्यारोमा परेको मिश्रको दावी । काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ‘७० करोड रुपैयाँ’ घुस बार्गेनिङ अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रले घुस प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा वयान दिएका छन् । उक्त प्रकरणमा घुस भ्रष्टाचार भएको आरोपमा अख्तियारले छानविन र अनुसन्धान गरिरहेको छ ।मिश्र उक्त घुस प्रकरणका प्रमुख पात्र हुन् । मंसिर पहिलो साता अख्तियारमा हाजिर भएका मिश्रले बयानमा गोकुल बाँस्कोटा भ्रष्ट भएको आरोप लगाएका छन् । बाँस्कोटाले ७० करोड रुपैयाँ घुस माग गरेको कुरा सत्य भएको पनि उनले दोहोर्याएका छन् । विचौलिया छवीका मिश्र सेक्युरिटी प्रेस खरिदका लागि स्वीस कम्पनीको एजेन्ट हुन् । आफू एजेन्ट भएको स्वीस कम्पनीबाट सेक्युरिटी प्रेस खरिद गरेमा बाँस्कोटालाई ७० करोड रुपैयाँ कमिसन दिन पनि मिश्र सहमत भएका थिए । मेसिन खरिदको लागत मूल्य बढाएर भएपनि कमिसन बढाउन उनी तयार भएका थिए । ‘घुस बार्गेनिङ’ गरेको अडियो मिश्रले मोबाइलमा रेकर्ड गराएका थिए । मिश्रबाट भन्दा आकर्षक कमिसनको आश्वासनमा तत्कालीन मन्त्री बाँस्कोटाले जर्मनीको कम्पनीबाट प्रेस खरिद गर्नेगरी प्रकृया अघि बढाउँदै थिए । त्यही क्रममा मिश्रले बाँस्कोटासँग भएको घुस लेनदेन सम्वन्धीको अडियो सार्वजनिक गरेका थिए । अडियो सार्वजनिक गरेर उनी जापान गएका थिए । घुस प्रकरणको अडियो सार्वजनिक भएसँगै बाँस्कोटाले मन्त्रीबाट राजीनामा दिनुपरेको थियो । यो विषय अझै पनि अख्तियारको छानविनमा छ । अडियो झुक्किएर रेकर्ड भयो मिश्रले अख्तियारलाई बयान दिँदै ‘७० करोड’ घुस बार्गेनिङ अडियो झुक्किएर रेकर्ड भएको बताएका छन् । ‘मेरो मोबाइल हातमा लिइराख्ने बानी छ, फोन चलाउँदा रेकर्ड भएछ, पछिमात्र देखेँ ।’ उनले अख्तियारलाई दिएको वयानमा उल्लेख छ । आफ्नो हातबाट ‘विजनेस’ उम्किन लागेकै कारण त्यो अडियो सार्वजनिक गरेको कुरा मिश्रले अस्वीकार गरेका छन् । ‘मलाई व्यापारको चिन्ता होइन, बाँस्कोटा जस्तो भ्रष्ट मान्छेबारे जनताले थाहा पाउनु पर्छ भनेर सार्वजनिक गरेको हुँ ।’ मिश्रले सार्वजनिक भएको अडियो संवाद घुस प्रयोजनकै लागि भएको दावी गरेका छन् । मिश्रको बचाउ – अप्ठ्यारोमा परेँ मिश्रले गोकुल बास्कोटासँग त्यसअघि पनि बारम्बार भेटघाट भएको र सेक्युरिटी खरिदका सन्दर्भमा छलफल भएको बताएका छन् । तर, बास्कोटाले घुस रकमको अंक बढाउन थालेपछि आफू अप्ठ्यारोमा परेको मिश्रको दावी छ । व्यापार आफ्नो हातबाट बाहिर नजाओस् भनेर ७० करोड रुपैयाँ दिन तयार भएको वयान उनले अख्तियारमा दिएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष