पन्ध्र वर्षपछि जब बाबुलाल आफ्नो घर पुगे..

बंगलादेश । बंगलादेशको ढाकाबाट झण्डै २०० किलोमिटर पुर्व–दक्षिणतर्फ पर्ने मोमेनसिङ जिल्ला चारहस्दिया ग्राम । घर अगाडि पानी जम्ने भएकाले बोरामा माटो भरेर बनाइएको फड्के । कुनामा एउटा सानो झुपडी, जस्ताको छानो र बाँसले बारेको । भित्तामा पत्रिकाले टाँसेर प्वाल टाल्ने प्रयास । शुक्रबार बिहान दुई बजे मोहम्मद बाबुल हुसेन (बाबुलाल)को यो घर पुग्दा उनका ८० वर्षीय बुबा मोहम्मद झुनावली खाटमा झुल टाँगेर सुतिरहेका थिए । छोरा आएपछि उनले उठेर झुलभित्रैबाट स्पर्श गरे । उहाँका आँखाले राम्ररी ठम्याउन सकिरहेको थिएन । सुमसुम्याउँदै आफ्नै भाषामा बोले, ‘बाबु यतिका वर्ष कहाँ हराएको ।’ बाबुसँग १५ वर्षपछि बाबुलाल भेट उनले बोलेको शब्द फरक थियो, तर भाव यस्तै । एकै छिनमा वृद्ध आँखामा आँशु टिलपिलायो । भावुक देखिएका बाबुलालको मुखबाट बोली फुटेन । परिवारबीच केही बेर मौनताकै बीच संवाद भयो । आमा मुसामद महिमा खातुनको अवस्था बाबुलालका बुबा र परिवारका अरु सदस्यको भन्दा फरक थिएन् । छोरालाई लिन अगाडिको सडकसम्मै आएकी थिइन् खातुन् । पन्ध्र वर्षपछि छोरा भेट्दा उनका हातले छोराको अनुहार सुम्सुम्याइरहेका थिए । परिवारले मृत्यु भयो भनेर आश मारिसकेका बाबुलाल १५ वर्षपछि घर फर्किएका थिए । श्रीमती अनुवार वेगमलाई भने श्रिमान फर्किएर आउँछन् भन्ने झिनो आशा थियो । परिवारका बाँकी सदस्यले भने उनी फर्किएने आशा नदेख्दा वर्षौ अघि देखि उनको खोजखबर गर्न छाडिसकेका थिए । तर, त्यस रात परिवारले नसोचेको घटना भयो । बाबुलाल घर फर्किए । बाबुलाल घर फर्किएपछि परिवारले विगत सम्झिन थाल्यो । बाबुलालकी आमा महिना खातुनले भनिन्, ‘माता समस्या लगेइ (मानसिक रोग लागेको छ) ।’ बाबुलालका बुबाआमाको उमेर पाको भइसक्यो, काम गर्न सक्दैनन् । घरपरिवार उनका भाइ मोहम्मद साइदल इस्लामको सहारामा छन् । भाइले चटपटे व्यापारबाट कमाएको कमाइले घरपरिवार धानिन्छ । चार सन्तानमध्ये परिवारका माइला छोरा हुन बाबुलाल । आमासँग बाबुलालको भेट उनकै पनि दुई सन्तान छन्, एक छोरा र एक छोरी । उनी हराउँदा छोरा काखमा थियो । पत्रवर्षअघि विसं २०६२/६३ ताका बाबुलाल माछा मार्ने र बेच्ने काम गर्थे । तर, अचानक उनमा मानसिक समस्या देखियो । पारिवारमा आर्थिक समस्या भएका कारण राम्रो उपचार गर्न सक्ने अवस्था थिएन् । रोग झन् झन् बल्झिँदै गएपछि उनी परिवारबाट बिछडिएका थिए । माछा मार्न गएका बाबुलाल घर फर्किएनन् । परिवारले केही समयसम्म उनको निरन्तर खोजि गर्यो । तर, उनीसँग सम्पर्क हुन सकेन् । माछा मार्न गएका पुनः घर पुग्दा उनको परिवारले विश्वस गरिरहेको थिएन् १५ वर्षअघि हराएर आफूले मृत सम्झिएको मान्छे फर्किएर आएको दृश्य । बाबुलाल आफ्नो घर पुग्नु अघिल्लो दिन बिहीबार उनलाई बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले राजदूतावासमा आएका उनको परिवारलाई जिम्मा लगाएका थिए । बाबुलालाई विसं २०७२ मा लमजुङको सडकपेटीबाट फेला पारिउको थियो । शरिरमा चोटपटक लागेको बेला भेटिएका बाबुलालाई अभिभावक किसान संगीत नेपालीसहित मानव सेवा आश्रमका स्वयंसेवकले उनको उद्धार गरे । डेढ वर्ष चितवनमा उपचार गरेपछि उनलाई हेटौंडा लगियो । त्यहाँ उनको अवस्था थप सुधार भएपछि उनको बारेमा जानकारी लिइयो । वास्तविक नाम मोहम्मद बाबुल हुसेनबाट उनलाई आश्रममा बाबुलाल भनेर बोलाउन थालियो । केही समयपछि परिवारको जानकारी उपलब्ध हुँदा उनलाई बंगलादेश उनको परिवारसँग पुर्नमिलन गराइएको हो । रासस
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया