विघटनविरुद्ध आन्दोलनमा जान पार्टीमा अलमल छैन : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले संसद विघटनका विरुद्ध आन्दोलनमा जाने कुरामा कांग्रेसभित्र कुनै पनि अलमल नभएको प्रष्ट्याएका छन् । संसद विघटनविरुद्ध कांग्रेसका विभिन्न भातृ संगठनले गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्न मोरङ पुगेका नेता पौडेलले त्यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेको भोलिपल्टै कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाई आन्दोलनमा जाने निर्णय गरेको बताए । केही व्यक्तिहरुले कांग्रेसभित्र आन्दोलनमा जाने कुरामा अलमल रहेको बताए पनि त्यस्तो नभएको उनको भनाई छ । कांग्रेसले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेर कांग्रेस आन्दोलनको लागि मैदानमा आइसकेको पौडेलको भनाई छ । त्यस्तै संसद विघटनले नेपाली राजनीतिमा गम्भीर मोड आएको बताउँदै लोकतन्त्र र संविधान समेत रहने कि नरहने भन्ने कुरामा आशंका रहेको बताए । ‘नेपालको राजनीति एउटा गम्भीर मोडमा पुगेको छ । लोकतन्त्र रहन्छ की रहँदैन । यो संविधान रहन्छकी रहँदैन भन्नेसम्मको अवस्था आएको छ’ उनले भने, ‘बर्माको जस्तै फेरि अर्को घटना हुन्छकी । विभिन्न तानाबानाहरु बुनिन्छकी भनेर मान्छेहरुले अनुमान गरिरहेको स्थिती छ ।’ त्यस्तै संसद विघटन विरुद्ध कांग्रेसले आन्दोलनलाई निरन्तरता दिनेमा ढुक्क बन्न समेत उनले आग्रह गरेका छन् ।
प्रतिक्रिया