४२ मेगावाटको मिस्ट्रीखोलाको उत्पादन यसै सातादेखि

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण गरिएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले यसै सातादेखि विद्युत् उत्पादन सुरु गर्ने भएको छ। माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवर्द्धक रहेको मिस्ट्रीखोलाले निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण सकेर उत्पादनको तयारी गरेको हो। आयोजनाका परामर्शदाता इञ्जिनियर दिवाकर खड्काले सुरुङ, पेनस्टक पाइपलाइन र विद्युत्गृहको परीक्षण सकेर विद्युत् उत्पादनको तयारी गरेको जानकारी दिए। ‘दाना सबस्टेसनबाट स्विचार्डसम्म ब्याकलोडमा प्रसारण लाइनको परीक्षण भइरहेको छ,’ उनले भने, ‘ड्याममा पानी थुनेर सुरुङमा पानी हाल्ने र टर्बाइन घुमाउने तयारीमा छौँ ।’ विद्युतगृहमा जडान भएको जेनेरेटर, टर्बाइन र ट्रान्सफर्मरको पनि परीक्षण सकिएको छ। सन् २०१६ को जुन १३ मा सुरु भएको आयोजनाले निलगिरि र घलेम्दीखोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ । २.२७ किमि लामो सुरुङबाट ल्याएको पानी २५० मिटर उचाइबाट खसालेर विद्युत् उत्पादन गर्न १.५ किमि पेनस्टक पाइप जडान गरिएको छ। बेँसीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाइएको विद्युत्गृह नजिकै स्विचार्ड निर्माण गरिएको छ । बाँध क्षेत्रमा ११५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएका दुईवटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाइएको छ। बेँसीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सबस्टेसनसम्म १३२ केभी क्षमताको चार किमि प्रसारण लाइन निर्माण गरिएको छ । एघारमध्ये गत बर्खामा आएको बाढीले एउटा टावर ढलाएको र अर्को कटानको जोखिममा परेको थियो । जोखिममा परेको टावर स्थानान्तरण र ढलेको पुनर्निर्माण गरिएको हो । ५ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा प्रवर्द्धकबाहेक नेपाल इन्भेष्टमेन्ट बैंकले ७० करोड, जलविद्युत् विकास कम्पनीले एक अर्ब र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन्। यसैगरी, नबिल बैंकको एक अर्ब, लक्ष्मी बैंकको ४० करोड, सिद्धार्थ बैंकको ३० करोड र एस डेभलभमेन्ट बैंकको ३० करोड रुपैयाँ ऋण लगानी रहेको छ। आयोजना निर्माणस्थल नारच्याङका बासिन्दालाई सात लाख तीन हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य सातवटा वडाका बासिन्दालाई १० लाख कित्ता शेयर बाँडफाँट गरिएको छ। साधारण शेयर पनि बाँडफाँट भइसकेको छ। विद्युत् विकास विभागले २०६४ मा आयोजना निर्माणको अनुमति दिएको थियो। नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन र दाना सबस्टेसन बनाउन ढिलाइ गर्दा आयोजना नौ वर्षपछि मात्रै निर्माण सुरु भएको थियो। मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण गरिएका र निर्माणाधीन अवस्थामा रहेकामध्ये सबैभन्दा ठूलो आयोजना हो। नारच्याङमा दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छ। पाँच मेगावाटको घलेम्दीखोलाले २०७६ माघदेखि उत्पादन सुरु गरेको छ। (रासस)
प्रतिक्रिया