सुरू भयो माओवादीको केन्द्रीय समितिको पहिलो बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक पेरिसडाँडामा सुरु भएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँत्याइदिएपछि पहिलोपटक माओवादीको केन्द्रीय समितिको बैठक सुरु भएको हो । बैठकको सुरुवातमै अध्यक्ष प्रचण्डले अदालतको फैसला माओवादीको अनुकूल नभए पनि आफूहरु झन् बलियो हुने दिशमा अघि बढ्ने बताएका छन् । प्रचण्डले एमालेमा केपी ओलीले किनारामा पार्दै लगेका माधव नेपाल समूहसँग मिलेरै जाने वातावरण बन्ने भन्दै उनीहरुका विषयमा नराम्रो टिप्पणी नगर्न केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका छन् । बैठकले विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्ने बताइएको छ । माओवादीले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउँदै स्पष्टीकरण सोधिसकेको छ । आजको बैठकले उनीहरुका विषयमा कारवाही गर्ने विषयमा समेत थप निर्णय गर्न सक्ने पनि बुझिएको छ । माओवादीबाट रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, दावा लामा र गौरीशंकर चौधरी मन्त्री छन्। तत्कालीन नेकपा विभाजन हुँदा यी नेताहरु ओली समूहमा लागेका थिए। हाल एमाले, माओवादी केन्द्र ब्यूँतिदा उनीहरु एमालेमा लागेका हुन्। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले थापासहित २३ नेतालाई पार्टीमा मनोनित गरेका थिए। तीमध्ये, बादलले बागमती र भट्टले सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी पाएका थिए।
प्रतिक्रिया