NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते
परदेश

भारतीय कंग्रेस अध्यक्ष खड्गे : पीडादायी जीवनबीच फक्रिएका फूल

उग्रवादीले जलाइदिएका थिए ५ वर्षको छँदा आँखैअगाडि आमा

काठमाडौं । भारतीय कंग्रेसको नेतृत्व मल्लिकार्जुन खड्गेको काँधमा आइपुगेको छ । मंगलबार सम्पन्न निर्वाचनमा प्रतिद्वन्द्वी शशि थरुरलाई परास्त गर्दै मल्लिकार्जुन १३७ वर्ष लामो इतिहास भएको दलको अध्यक्ष बनेका हुन् ।

भारत स्वतन्त्र भएयताका ७५ वर्षमा ४२ वर्ष पार्टीको नेतृत्व गान्धी परिवारले गरेको छ । ३३ वर्षचाहिँ यसभन्दा बाहिरकाले कंग्रेस हाँके ।

पछिल्लो २४ वर्षदेखि भारतीय कंग्रेसको नेतृत्व नेहरू–गान्धी परिवारको वरिपरि रहँदै आएको थियो । खड्गे अध्यक्षमा निर्वाचित भएसँगै यो श्रृंखला टुटेको छ ।

मल्लिकार्जुन दलित समुदायका हुन् । तर उनी दलित समुदायबाट कंग्रेस अध्यक्ष हुने पहिलो व्यक्ति भने होइनन् । यसअघि नै जगजीवन राम दलित समुदायबाट कंग्रेसको अध्यक्ष बनिसकेका छन् ।

मल्लिकार्जुनको जन्म सन् १९४२ को जुलाइ २१ मा भएको थियो । उनी राजनीतिका लामो रेसका घोडा हुन् भन्दा फरक पर्दैन । ९ पटक विधायक र दुई पटक सांसद बनेका खड्गेको काँधमा पार्टीकै नेतृत्व आइपुगेको छ । सन् २०१९ को लोकसभा निर्वाचन उनी उम्मेदवार बनेका थिए । तर जनताले त्यसपटक उनीमाथि भरोसा गरेनन् ।

खड्गे कर्नाटकको वरबाटी गाउँका हुन् । उनको जीवन निकै संघर्षमय छ, उत्तिकै पीडादायक पनि ।

उनी पाँच वर्षको छँदा पाकिस्तान विभाजित भएको थियो । जसको मूल्य उनको परिवारका लागि निकै महँगो पर्न गयो ।

पाकिस्तान विभाजनपछि दुई देशबीच तनाव बढ्यो, देश अशान्त रह्यो । हिन्दू–मुस्लिम दंगा फैलिए । उनकै गाउँमा पनि यस्तो दंगा फैलियो । त्यसले एकाएक हिंसाका आकार लियो । यसको निशानामा उनकी आमा परिन् । आमालाई जिउँदै जलाउन लागिएपछि पाँच वर्षका उनले अनुनय विनय गरे । तर उग्रवादीहरूको मन पग्लिएन । उनकै आँखाअगाडि आमालाई जिउँदै जलाएर मारिदिए ।

त्यतिबेला यी पाँच वर्षीय बालकको मनोदशा कस्तो रह्यो होला ? कल्पना गर्दा पनि आङ सिरिंग हुन्छ ।

सानैमा आमाको मृत्यु भएकाले उनको जीवन निकै पीडादायक अवस्थाबाट गुज्रियो । जीवन निकै संघर्षपूर्ण र टीठलाग्दो बन्यो । आमामाथि भएको ज्यादतिले उनलाई अहिले पनि चिमोटिरहन्छ ।

दलित परिवारप्रति भारतीय समाजको दृष्टिकोण अझै मानवतावादी हुन सकेको छैन । खड्गेको समयमा त्यो थिचोमिचो र ज्यादति अझै बढी थियो । तर खड्गे निरन्तर अध्ययन र करिअर निर्माण लागिरहे । सट्टामा उनको भागमा सफलता पर्यो । यस हिसाबले खड्गे हिलोमा फक्रिएका कमलका फूल हुनभन्दा फरक पर्दैन ।

अध्ययन सकाएपछि खड्गे सुरुमा वकालत पेसा प्रवेश गरे, त्यसपछि राजनीति । राजनीति उनलाई यति फाप्यो कि कर्नाटकका मन्त्री, सांसद र केन्द्रीय सरकारका मन्त्रीसमेत बन्ने अवसर पाए ।

सन् २०१४ को चुनावमा कंग्रेसले नराम्रो पराजय भोग्यो । लोकसभामा कंग्रेस ४४ सिटमा खुम्चियो । लोकसभामा कंग्रेस रक्षात्मक बनेका बेला संसदीय दलको नेता बनेर भूमिका खेल्ने अवसर खड्गेले पाएका थिए । राष्ट्रिय राजनीतिमा अघि बढ्नका लागि यो जिम्मेवारी उनका लागि टर्निङ प्वाइन्ट नै बनिदियो ।

खड्गेलाई गान्धी परिवारको विश्वास पात्रका रूपमा लिइन्छ । गान्धी परिवारसँगको यही सम्बन्धका कारण कतिपयले कंग्रेस नेतृत्वमा गान्धी परिवार हाबी हुने आकलन गरेका छन् । तर कंग्रेस नेता राहुल गान्धीले यसको खण्डन गरेका छन् । उनले सिंगो कंग्रेस अध्यक्षले लिने निर्णयबाट निर्देशित हुने बताए ।

भारतमा कंग्रेसको शक्ति निकै क्षय भएको छ भने भारतीय जनता पार्टी बलियो बन्दै गएको छ । शक्ति क्षयीकरण झेलेको कंग्रेसको शक्ति फर्काउनु उनको सबैभन्दा ठूलो चुनौती हुनेछ । गान्धी र नेहरू परिवारको छायामा रहेको पार्टीलाई त्यहाँबाट बाहिर निकालेर खड्गेले पार्टीलाई प्रजातान्त्रिक पद्धतिबाट कसरी अघि बढाउलान् भन्ने आम चासो पनि छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष