NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

प्याक्टको अनियमिततामा अख्तियारको छानविन

व्यवसायीक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा अनियमितता भएको उजुरीमा अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले छानविन थालेको छ । प्याक्टद्धारा वितरित अनुदानमा अनियमितता भएको आरोपका सम्बन्धमा अख्तियारले छानविन गरिरहेको छ । विस्तृत अनुसन्धानमै लगेर अनियमितताका सम्बन्धमा छानविन भइरहेको अख्तियार स्रोतको दावी छ । विश्व बैंकको अनुदान सहायतामा सञ्चालित प्याक्ट २१ अगस्ट २००९ देखि सुरु भएर दुई वर्षाअििघ ३० जुन २०१८ मा सम्पन्न भइसकेको छ । आयोजनाले देशभरिका एक हजार दुई सय १८ समूह, सहकारी, व्यक्तिगत फर्मलगायतका अनुदानग्राही छनोट गरी दुई अर्ब ५७ करोड बाँडेको थियो । राजनीतिक प्रभाव र पहुँचका आधारमा लाभग्राही कायम गरी ठूलो रकम वितरण गरिएको भन्दै कार्यक्रम आलोचित बन्दै आएको थियो । प्याक्टमार्फत् वितरण गरिएको ठूलो परिमाणको अनुदान रकमको अपेक्षित परिणाम देखिएको छैन । फर्म खोलेर अनुदान लाने तर यसरी अनुदान लगेपछि कामै नगरी वेपत्ता हुने प्रवृत्ति देखिएको थियो । कृषि अनुदानको प्रभावकारिता सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समिति नै गठन गरेर अध्ययन गरेको थियो । जसमा प्याक्टको प्रभावकारिता अत्यन्त कमजोर देखिएको प्रतिवेदनमा उल्लेख थियो । ‘अनुदानको ठूलो रकम पहुँचवाला व्यापारी, राजनीतिक कार्यकर्ताले लगेका छन्,’ अध्ययन प्रतिवेदनमा भनिएको थियो, ‘आयोजनाबाट अनुदान प्रक्रिया जटिल बनाई असली किसानभन्दा केन्द्रको वरिपरि हिँड्ने र कागजी आयोजना तयार गर्ने समूह लाभान्वित भएका छन् ।’ महालेखापरीक्षक कार्यालयले पनि प्याक्टको अनुदान रकम दुरुपयोग भएको विगतका विभिन्न प्रतिवेदनहरूमाा औंल्याएको थियो । प्याक्टबाट वितरित अनुदानका सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रले पनि छानविन गरेको थियो । अनुदान वितरणमा अनियमितता भएको र कार्यक्रमको परिणाम नदेखिएको उल्लेख गर्दैै केन्द्रले थप छानविन गरी दोषीउपर कारवाहीका लागि फाइल अख्तियारलाई पठाएको थियो । प्याक्टको अनियमितताका सम्बन्धमा अख्तियारमा पटक – पटक उजुरी परेपनि छानविन गरी उजुरी किनारा लगाउन सकेको छैन । अख्तियार स्रोतका अनुसार प्याक्टको अनुदान वितरणसँग सम्बन्धित अधिकांश कागजात नै भेटिंदैनन् । कागजात नै नष्ट गरिएका कारण प्रमाण जुटाउनै समस्या रहेको अख्तियार स्रोत बताउँछ ।