NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

मेरो ‘पहिलो पिर्के सलामी’मा सचिवालयले गल्ती गर्‍याे

नेपालवाच । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल केही दिनयता पिर्के सलामीको कारण विवादमा आएकी छिन् । मेयरमा निर्वाचित हुँदा निक्कै चर्चा बटुलेकी दाहाल पहिलोपटक पिर्के सलामीको कारण पनि चर्चामा आएकी छिन् । प्रहरी दिवसका अवसरका चितवन प्रहरीले गरेको कार्यक्रममा दाहालले लिएको सलामीले चर्चा पाएको हो । देशमा स्थानीय तहको सरकार बनेपछि मेयर, उपमेयर, प्रमुख उप–प्रमुख मात्रै होइन वडा अध्यक्षहरुमासमेत पिर्के सलामी लिने क्रम बढ्दो छ । यस्ता अभ्यासको सन्दर्भ सामाजिक संजालमा भाइरल हुँदा समर्थन भन्दा विरोधको स्वर ज्यादा सुनिन्छ । अझ सामन्ती राज्यव्यवस्थाविरुद्ध लडेर समानताको कुरा गर्नेहरुलाई त यो शैली झन् सुहाउँदैन । रेणु भरतपुरकी मेयर मात्र होइनन् । सामन्ती राज्यव्यवस्थाविरुद्ध १० वर्षे जनयुद्ध चलाएका प्रचण्डकी पुत्रीसमेत हुन् । बाबुसँगै रेणु पनि जनयुद्धमा होमिएकी नेतृ हुन् । सामाजिक कुरीति, अन्याय र विभेद विरुद्ध भन्दै देशमा युद्धको उद्घोष गर्दै नेतृत्व गरेकाहरुलाई नै झन् यस्ता अभ्यास झन् सुहाउँदैन । हिजोको राज्यका व्यवस्था सामन्ती भए, नागरिकमाथि अन्याय, विभेद र अत्याचार भए भन्नेहरुबाट यस्ता सामन्ती अभ्यास हुनु शोभनीय हुँदै होइन । आफूलाई प्रगतिशील मान्ने नेकपाका धेरै नेताहरुको यस्ता सामन्ती सोच र संस्कार बेलाबेलामा प्रकट हुने गर्छ । जुन उनीहरुको आदर्शभन्दा बेग्लै देखिन्छ । उनीहरु न गलाले थेग्नै नसक्ने माला र भद्दा देखिने पिर्के सलामीको अभ्यासबाट पछाडि हटेका छन्, न आफूले नेतृत्व गरेको संस्थालाई परिवर्तनप्रति जागरुक बनाउन सकेका छन् । यस्तो सोच सामन्ती हो भन्ने बुझाई उनीहरुको नभएको होइन । तर, आफूले हाँकेका संस्थाको काम गराईलाई अलि प्रगतिशील बनाउने दायित्वबाट उनीहरु चुकेका छन् । नेताले नै यस्तो गरेपछि उनीहरुलाई पछ्याउने नेता कार्यकर्ताले कस्तो सोच्लान् ? मेयर रेणुले सचिवालयको कमजोरी र एसपीको ढिपीको कारण पहिलोपटक पिर्के सलामी लिंदा विवादमा परेकी बताइन् । सचिवालय र एसपीका कारण विवादमा परें : दाहाल म भरतपुरमा निर्वाचित भएदेखि प्रहरी दिवसका दिनमा गरिने कार्यक्रममा प्रमुख अतिथि भएर जाने गरेको थिएँ । यो वर्ष पनि कार्यक्रम सुरु भएपछि माल्यार्पणको लागि प्रमुख अतिथिका रुपमा मलाई बोलाए । अघिल्ला वर्षमा सलामीका कार्यक्रम थिएनन् । यो पटक पनि कार्यक्रम के कस्तो छ भन्दा एसपी नान्तिराज गुरुङबाट लामो छैन छोटो भन्ने जानकारी पाएँ । दिवगंत प्रहरीलाई माल्यार्पण गर्ने कार्यक्रम अघिल्ला वर्ष हुन्थ्यो । योपटक पनि माल्यार्पणपछि सिडिओ र मैंले बोल्नेमात्र कार्यक्रम भएको जानकारी मौखिक रुपमा पाएको थिएँ । तर, माल्यार्पण गर्न जाँदा बीचमैं सलामीको लागि पिर्का राखिएको रहेछ । पिर्का देख्नेवित्तिकै मैंले आश्चर्य व्यक्त गरें । एसपीलाई सर यो नगरौं भनें । यो राम्रो होइन, राम्रो सन्देश जाँदैन, मलाई मन पनि पर्दैन भनेर नगरौं भन्दै ‘इग्नोर’ गरें । मैंले ‘इग्नोर’ गर्दा पनि एसपीले मानेनन् । मेरो आग्रह कार्यक्रममा उपस्थितहरुले पनि सुन्नुभएको छ । तर, एसपीले हाम्रो प्रोटोकल हो, नियम हो म्याम केही फरक पर्दैन अप्ठ्यारो मान्न पर्दैन भन्नुभयो । अघिल्ला वर्षहरुमा पनि गरिएको थिएन । सलामीको अत्तोपत्तो थिएन । तर, सोच्दै नसोचेको सलामी लिनुपर्यो । मेरो राजनीतिक जीवनमा सलामी भनेर पिर्कामा चढेको यो नै पहिलोचोटी हो । कुरिती, कुसंस्कार र सामन्तीप्रथाविरुद्ध लड्दै आएको मलाई ढोगीं मान, सम्मान, सलामीमा कहिल्यै र रुची र चासो छैन । तर, त्यो दिन आकष्मिक रुपमा भयो । मलाई वरपर सहयोग गर्ने कोही भएनन् । मेरो सचिवालयका कोही थिएनन् । यस्तो खालको घटना नघटेकोले सायद सचिवालयलाई पनि चेत नआएको होला । यस्तो हुनुमा पहिलो कमजोरी सचिवालयको हो । सचिवालयमा गोपाल न्यौपाने, प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारी हुनुहुन्छ । कस्तो कार्यक्रम हो भनेर सचिवालयका साथीहरुले पहिल्यै जानकारी लिनुपथ्र्यो । तर, उहाँहरुले ‘सेड्युल’को जानकारी पहिल्यै नलिंदा समस्या भयो । कार्यक्रम गर्नेहरुले पनि कार्यक्रमको पूरै जानकारी लिखित रुपमा नगराई मौखिक रुपमा मात्र गराउँदा समस्या आएको हो । एकातिर मेरो आग्रहमा अब यस्तो नगरौं न त भन्ने मान्छे पनि कोही भएनन् । अर्कोतिर सलामीको लागि प्रहरीको टोली तयार भएर बसेकोले तत्काल इन्कार गर्न सकिनँ । एसपीले पनि बढी कर गरेपछि सलामी लिन बाध्य भएँ । जिन्दगीमैं पहिलोपटक भएको त्यो कुरा मलाई अहिले पनि नराम्रो लागिरहेको छ । मैंले सलामी ‘इग्नोर’ नै गर्नुपथ्र्यो । तर, म परिवन्धमा परें । यो राम्रो होइन राम्रो सन्देश जाँदैन भन्ने मलाई लागिसकेको थियो । सलामीको टोली तयार भए पनि पिर्कामा नचढी भुईमैं गरेको भए सायद यत्ति विवाद आउने थिएन । तर, आकष्मिक भएकोले त्यस्तो समझ तत्काल आएन । मर्यादाको हिसाबले एसपीलाई राम्रै गरें भन्ने लाग्यो होला । तर, परिणाम यस्तो आउला भन्ने उहाँले पनि सोच्नुभएको थिएन । पछि मेयरसाव यस्तो हुन्छ भनेर मैंले सोचेको थिइनँ हाम्रो प्रोटोकलभित्रको सामान्य कुरा हो । हल्ला गरे भनेर अप्ठ्यारो नमान्दिनुहोला भनेर ‘रिक्वेस्ट’ गर्नुभयो ।

ताजा अपडेट

नेपालवाच विशेष