NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

जाडाे याममा काेराेनाबाट चार लाख संक्रमित हुने भन्दै स्वास्थ्य मन्त्रालयकाे गम्भीर चेतावनी

काठमाडाैं । सर्वसाधारणले अब पनि आफ्नो व्यवहरामा परिवर्तन नगरे कोरोना भाइरसका कारण देशले ठूलो क्षति बेहोर्नु पर्ने चिकित्सकले बताएका छन् । नेपालमा कोरोना भाइरसका कारण संक्रमितको संख्या बढिरहेको बेला जाडोयाममा अन्य भाइरस पनि सक्रिय रहने बताउँदै चिकित्सकहरुले यस्तो विषम परिस्थितमा पनि मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरे सर्वसाधारणले त्यसको ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् । चिकित्सकका अनुसार जाडो मौसममा विभिन्न रोगको संक्रमण गराउने भाइरस सक्रिय अवस्थामा हावामा तैरिएर बसेका हुन्छन् । यस्ता भाइरसले विभिन्न किसिमको भाइरल इन्फेक्सन गराउनुका साथै रुघाखोकी, दम, लगायतका स्वासप्रस्वास सम्बन्धि विभिन्न समस्या निम्त्याउँछ । ‘विगतका वर्षहरुमा पनि भाइरस इन्फेक्सनकै विरामीले अस्पताल भरिन्थे । यस वर्ष त कोभिड–१९को संक्रमणको जोखिम यथावत् नै छ’, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्टेन्ट चिकित्सक डा. अनुप बास्तोलाले भने ,‘ मानिसहरुको व्यवहारमा कुनै परिवर्तन छैन’ । नेपालमा कोभिड–१९बाट संक्रमित हुनेको संख्यामा कमी नआएको अवस्थामा अन्य रोगले पनि संक्रमण गर्दा अवस्था थप बिग्रन सक्ने उनले बताए । भने,‘ कोभिडका विरामीले पहिले नै अस्पतालहरु भरिएका थिए । अब त चिसोका विरामीहरु पनि आउँदैछन् । यही अवस्था रहिरहने हो भने यो वर्षको जाडो घनावस्ती भएका ठाउँमा बसोवास गर्ने मानिसहरुका लागि निकै चुनौतीपूर्ण छ’ । जाडो मौसममा कोभिडसँगै अन्य रोगको पनि संक्रमण फैलिन सम्भावना समेत उच्च हुन्छ । परिणामस्वरुप, दोश्रो लहरको संक्रमण फैलिएर मानिसको मृत्युदर बढ्न सक्छ । ‘विदेशकै ट्रेण्ड हेर्ने हो भने पनि धेरै देशहरुमा जाडो लागेपछि दोश्रो लहरको संक्रमण सुरु भएको देखिन्छ । यसले विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई असर गरिरहेको पाइन्छ’, त्रि. वि शिक्षण अस्पताल, महाराजगञ्जका छाती रोग विशेषज्ञ प्रा. डा. निरज बम भन्छन्, ‘नेपालमा पनि यही ट्रेण्ड आउन सक्ने भएकोले मानिसहरु बेलामै सजक र सर्तक हुन जरुरी छ’ । केरोनाको भ्याक्सिन नआइसकेको र औषधीले राम्ररी काम नगरेको अवस्थामा कोभिड–१९को संक्रमणबाट बच्न नेपाल सरकारले सार्वजनिक सुचना जारी गरी धेरै भीडभाड भएको क्षेत्रमा नजान, जानै परे दुई मिटरको सामाजिक दुरी कायम गर्र्न, मास्कको प्रयोग गर्न , बेला–बेलामा साबुन पानीले हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न तथा यथास्थानमै रहेर दशैं मनाउन निर्देशन दिँदै आएको छ । ‘हामी नेपाली अटेरी छौ । हामीमा मापदण्ड पालना नगर्ने चलन छ । यही चलनले गर्दा अबको समयमा अवस्था गम्भीर हुने मात्र हैन, दोश्रो लहरको संक्रमण नै आउने देखिन्छ ’, डा. बमले भने । कोरोना तथा संक्रामक रोगका कारण निम्तिन सक्ने जोखिमलाई कम गर्न सामाजिक स्तरबाटै अनुशासनको पालना हुनु जरुरी छ । साथै, सरकारले पनि आफ्नो क्षेत्रबाट आवश्यक तयारी गर्नु जरुरी छ । चैत्रयता नेपालमा कोरोना रोगको संक्रमणका कारण सात सय ६५ जनाले ज्यान गुमाईसकेका छन् भने एक लाख ३९ हजार एक सय २९ जना कोरोना संक्रमित भएका छन् । यही अवस्था रहिरहे जाडो मौसममा यो संख्याले भयावह रुप लिन सक्नेमा चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् । ‘दशै, तिहार र छठको अवसरमा मानिसहरु गाउँ गाउँ जाने भएकाले अबका दिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि बढ्छ । धेरैको मृत्यु पनि हुन्छ’, कोरोना संक्रमणमा फ्रन्टलाइनर भएर काम गरिरहेका एक चिकित्सकले नेपालवाचसित भने । मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरेसम्म राज्यले चाहेरमात्र कोरोना रोगको जोखिम कम नसकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ‘कोरोनाको जोखिम कम गर्न सधैभरी लकडाउन गर्ने कुरा आउँदैन । यसलाई रोक्ने उपाय एउटै मात्र उपाय भनेको भ्याक्सिन र मापदण्डको पालना नै हो । भ्याक्सिन नेपालमा आएको छैन । मापदण्ड सरकारले मात्र पालना गरेर भएन’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नेपालवाचसित भने । कोरोना रोगको जोखिम न्युनीकरण गर्न तथा संक्रामक रोगका कारण बढ्ने सक्ने विरामीको चापलाई व्यवस्थापन गर्न सरकारले देशभरका अस्पतालहरुमा आईसीयु, भेन्टिलेटर लगायतका उपकरणको व्यवस्था गर्नुका साथै आठ हजार बेड थप्ने तयारी गरेको उनले बताए । ‘यस वर्षको जाडो हामी सबैका निम्ति चुनौतीपूर्ण छ । जाडोमा कोरोना संक्रमण फैलिएर करिब छ लाख जनसंख्या (दुई प्रतिशत) प्रत्यक्ष रुपमा प्रभावित हुने तथा चार लाख मानिस संक्रमित हुने अनुमान गरेका छौं , प्रा. डा जागेश्वर गौतमले नेपालवाचसित भने । कोभिड बिरामीको व्यवस्थापनमा आइपर्ने चुनौतीलाई ध्यानमा राखेर कोभिड बिरामीको व्यवस्थापनका लागि आगामी दिनहरुमा के के गर्न सकिन्छ योजनासहित आवश्यक बजेट विनियोजनका लागि मन्त्रालयले र्‌यापिड एक्सन प्लान अर्थ मन्त्रालयले तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।