पौडेल पक्षका २७ केन्द्रीय सदस्यको हस्ताक्षर र विरोधपछि कांग्रेस बैठक बस्दै

काठमाडौं । १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज कांग्रेस पदाधिकारी पूर्व पदाधिकारीकाे बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा १४ औं महाधिवेशनको निष्पक्षताका लागि नेता रामचन्द्र पौडेल पक्षले पार्टीमा बुझाएको २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहितको १६ बुँदे मागका विषयमा पनि छलफल हुने जानकारी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले दिए । गत असोज १२ मा पौडेल समूहले ‘पार्टी विधानसम्मत सञ्चालन गरी चौधौँ महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस्’ भनी सभापति देउवालाई सो पत्र बुझाएका थिए । पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २१ गते बोलाएको छ । कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरेर सोहीअनुसार महाधिवेशनन तालिका सार्वजनिक गरे पनि कोरोना भाइरस सङ्क्रमणका कारण महाधिवेशन तालिका प्रभावित भइसकेको छ । आन्तरिक समायोजन, क्रियाशील सदस्यता नवीकरण र वितरण जस्ता महत्वपूर्ण विषय समयमा नटुगिंदा कांग्रेसमा दुईपटकसम्म महाधिवेशनको कार्यतालिका हेरफेर भइसकेको छ । यस अघि गत असोज १९ र २५ मा केन्द्रीय समितिको बैठक बस्ने भनिए पनि केन्द्रीय सदस्यहरुलाई कोरोना देखिएकोले स्थगित भएको थियो ।
प्रतिक्रिया