कांग्रेस महाधिवेशन २०७८ भदौमा !

काठमाडौं । आगामी फागुन (७ देखि १०)को महाधिवेशन सार्ने चर्चा चलिंरहँदा कांग्रेसमा २०७८ साल भदौमा १४ औं महाधिवेशन गर्ने विषय उठेको छ । नेता रामचन्द्र पौडेल पक्षले पार्टीको विवाद मिलाएर निर्धारित फागुन ७ देखि १० सम्म नभए थप एक दुई महिना लिएर महाधिवेशन गर्नुपर्ने विषय उठाउँदै आएकाे छ । तर, संस्थापन पक्षका नेताहरुले फागुनबाट थप ६ महिना समय लिनुपर्ने बताएका हुन् । जुन समय नियमित चार वर्षपछि थप गरिएको एक वर्षमा पनि नहुँदा संविधानले दिएको अन्तिम ६ महिनाको समय हो । चार वर्षमा नभएर थप एक वर्षको म्याद पनि आगामी फागुन १९ बाट सकिंदैछ । सभापति शेरबहादुर देउवाले पौडेल पक्षको १६ बुँदे मागका विषयमा छलफल गर्न आफ्नै निवासमा बोलाएको पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यको बैठकमा संस्थापन पक्षकै नेता ज्ञानेन्द्रबहादुर कार्कीले २०७८ भदौंमा महाधिवेशन गर्ने विषय उठाएका हुन् । ‘अहिलेको परिस्थिति हेर्दा फागुनमा महाधिवेशन हुँदैन भनेर हामी सबै जानकार छौं । असारसम्म सबै काम सकाएर २०७८ भदौंमा १४ औं महाधिवेशन गर्नु उत्तम हुन्छ’ बैठकमा राखेकाे आफ्नो भनाईबारे जानकारी दिंदै कार्कीले नेपालवाचसँग भने, ‘अहिलेसम्म कुनै पनि जिल्लाले क्रियाशील सदस्यताको फर्म केन्द्रमा पठाएका छैनन् । हामीले फागुनमा महाधिवेशन गर्न सकेनौं । अब जेठमा गर्ने भनेर तोक्दा फेरि पनि नहुँदा राम्रो सन्देश जाँदैन । त्यसैले सहमतिका आधारमा समय लिएर भए पनि भदौंमा महाधिवेशन गर्नुपर्छ ।’ एकले अर्कोलाई आरोपित गर्नेभन्दा कांग्रेसलाई बलियो पार्टी बनाउने दिशामा अघि बढ्नुपर्ने मत उनको थियो । ‘यतिखेर सरकारप्रति जनताको भरोसा टुटेको छ । यस्तोमा हामी प्रतिपक्षी कांग्रेस आपसमैं भिड्यौं भने जनतामा झन् नराम्रो सन्देश जान्छ । मुलुकको पद्धतिप्रति नै नागरिकले प्रश्न उठाउन थालेका छन्’ कार्कीले भने, ‘सत्तारुढ र प्रतिपक्षप्रति अविश्वास बढ्दै जाँदा देशमा बरु नागरिकहरुले जंगबहादुरको खोजी गर्न थालेका छन् । हामी आपसमैं भिडेर र कमजोर भएर यस्तो अप्रिय अवस्था आउन नदिउँ । मिलेर सहमतिमा अघि बढौं ।’ संस्थापन पक्षकै अर्का नेता रमेश लेखकले भने जेठसम्म १४ औं महाधिवेशन गर्नुपर्ने विषय उठाएका थिए । पौडेल पक्ष भन्छ : पार्टीको वैधतामा प्रश्न उठ्छ संस्थापनपक्षीय नेताबाट महाधिवेशन भदौसम्म सार्ने विषय उठे पनि देउवा निवासमा पौडेल पक्षले तत्कालै प्रतिवाद नगरेको जानकारी बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले दिए । संस्थापनका केही नेताले भदौसम्म महाधिवेशन गर्नुपर्ने विषय उठाउनुभयो’ केसीले भने, ‘तर, हाम्रो अहिलेको माग महाधिवेशनको मितिभन्दा अरु नै भएकोले तत्काल प्रतिक्रिया आएको छैन ।’ यद्यपी तोकिएको समयमा महाधिवेशन हुनुपर्ने भन्दै थोरै थपघट भए सहमतिमा गर्न सकिने उनको भनाई छ । ‘हाम्रो पहिलो माग १६ बुँदे मागमा संस्थापनको धारणा पहिले प्रष्ट आउनुपर्छ भन्ने हो । तोकिएको समयमा महाधिवेशन गर्नुपर्ने भन्नेमा हामी छौं । तर, गर्दागर्दै हुन सकेन भने थपघट गर्दा सहमतिमा गर्नुपर्छ’ केसीले भने, ‘भदौ संवैधानिक रुपले पनि अन्तिम मिति हो । विभिन्न कारणले हुन सकेन भने पार्टीको वैधतामाथि प्रश्न उठ्छ ।’ विशेष अवस्था नभए पनि चार वर्षमा होइन पाँच वर्षमा पनि नभएकोमा केसीले आपत्ति जनाए । अब झन् पर सार्दै लाने लाँदा कांग्रेसमाथि नै गम्भीर प्रश्न उठ्ने केसीको भनाई छ । महाधिवेशनको तयारी पूर्व गर्नुपर्ने आन्तरिक समायोजनका काम अझै सकिएको छैन । सबैभन्दा जटिल हुने र महाधिवेशनमा जितहारमा भूमिका खेल्ने सदस्यताको विषय पनि कांग्रेसमा टुंगिसकेको छैन । सदस्यताकाे विषय सधैं पेचिलाे र विवादित बन्ने गरेकाे छ । बरु महाधिवेशन नजिक हुँदा समायोजन, सदस्यता, विभाग, भ्रातृ संस्थाको विवाद बल्झेर गएको छ । याे पनि पढनुस् कांग्रेस बैठक : संस्थापनको अडान, पौडेल पक्षको ढिपी विवाद नमिलेपछि तेस्रोपटक पनि सर्यो कांग्रेस बैठक
प्रतिक्रिया