ओलीलाई प्रचण्ड समूहले भोली विहान ९ बजे सामूहिक भेट्ने

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सचिवालय बैठकले अध्यक्ष केपी ओलीलाई सामूहिक भेट्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यको बैठकले ओलीलाई सामूहिक भेट्ने निर्णय गरेको हो । तर किन सामूहिक भेट्ने भन्ने खुलाएको छैन । सचिवालयको औपचारिक बैठकका लागि प्रधानमन्त्री ओलीलाई सामूहिक रुपमा गएर भन्ने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पछिल्लो केही दिनयता ओली र प्रचण्ड पक्षबीच दुरी बढेको छ । ओलीसँग सम्बन्ध चिसिन थालेपछि प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल र पार्टी प्रवक्ता श्रेष्ठमात्रै उपस्थित भएर बैठक गरेका हुन् । ओलीले बैठक पनि नडाक्ने र आफू बैठकमा पनि सहभागी नहुने अडान लिन थालेपछि नेकपामा संकट गहिरिएर गएको छ । ओलीपक्ष सहभागी भएन यस्तै प्रधानमन्त्री ओलीसहित उनीपक्षीय अन्य तीन नेताहरु महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल बैठकमा अनुपस्थित भएका हुन् । नेकपाको सचिवालयमा ९ जना नेता रहेका छन् । विवादको श्रृखला पछिल्लो समयमा दुई अध्यक्षबीच दुरी बढेको छ । खासगरी मन्त्री हेरफेर, कर्णालीका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव र रअका प्रमुखको नेपाल भ्रमणपछि नेकपामा विवादले चरम रुप लिएको छ । प्रधानमन्त्री ओलीबाटै नेकपा फुटाउने प्रस्ताव आएपछि प्रचण्डले पनि पटकपटक आफू निकट नेताहरुसँग छलफल गर्दै आएका छन् । असमझदारी बढिरहँदा दुई अध्यक्षबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको थियो । तर, सो बैठकमा पनि दुवै एक अर्कोविरुद आरोपमा उत्रिएका थिए । बिहीबार नै प्रचण्ड र माधव नेपालले वकिलहरुसँग परामर्श गरेका थिए । ओलीले पनि प्रदेश १ मा आफू निकट नेताहरुको भेला गरेपछि दुई पक्षीबीच झन् तिक्तता बढ्दो छ ।
प्रतिक्रिया