नेकपाका दुई पाइलटको बहुचर्चित पत्राचारपछि ओली र प्रचण्ड पक्षका नेता भिडन्तमा !

काठमाडौं । पछिल्लो केही दिनयता नेकपाको राजनीतिक विवाद उत्कर्षमा पुगेको छ । विवाद बढ्दै जाँदा अध्यक्ष केपी ओली र प्रचण्डले एक अर्कालाई दर्जनौं आरोप लगाउँदै पठाएको पत्रले राजनीतिक वृत्त तातेको छ ।मुख्य गरी मन्त्री हेरफेर, कर्णालीका मुख्यमन्त्रीविरुद्ध महाअभियोगमा आफूखुशी निर्णय लिएको र रअका प्रमुखलाई बढी नै महत्व दिएर भेटेको भन्दै ओली इतरका पक्ष असन्तुष्ट रहँदै आएका छन् । असन्तुष्टिपछि प्रचण्डले पूर्व एमालेका प्रभावशाली नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमसहित नारायणकाजी श्रेष्ठलाई समेत पक्षमा लिएर कैयौंपटक सचिवालयको अनौपचारिक बैठक नै आह्वान गरे । अध्यक्षले मनोमानी गरेको पार्टीको निर्णय नमानेको र सचिवालय बैठक नडाकेको भन्दै उनीहरुले औपचारिक बैठकको लागि ओलीलाई निरन्तर माग गर्दै आएका थिए । तर उनले गुटकाे भेला गरेकाे भन्दै केही दिन बैठक टारे । दबाब बढेपछि ओलीले बाध्य भएर शुक्रबार बैठक त डाके तर बैठकले कुनै निष्कर्ष निकालेन ।बरु बैठक अगावै दुवै अध्यक्षले एक अर्कोलाई पठाएको पत्रले नेकपाको रानजीतिक माहोल गर्माएको छ । अध्यक्षद्वयको विवादको बाछिटा उनीहरुको गुटका नेतामा प्रष्टै देखिएको छ । शीर्षस्थ तहमा विवाद देखिएपछि नेताहरु सामाजिक संजालमा एक अर्कोलाई खुलाइने गरी भिडन्तमा उत्रिएका छन् । यस्ताे भिडन्तमा ओली पक्षधर प्रचण्डविरुद्द खनिएका छन् । ओली पक्षबाट शंकर पोखरेल, गोकुल बास्कोटा, सूर्य थापासहितका नेता उनको बचाउमा लागेका छन् । पोखरेलले पार्टी एकताको मर्म विपरीत प्रथम अध्यक्षविरुद्ध प्रचण्डले संगीन आरोप लगाउने प्रस्ताव ल्याएको भन्दै आपत्ति जनाएका छन् । एकल प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको चेतावनी उनले दिएका छन् । ओली पक्षका नेता बास्कोटाले अविश्वास प्रस्ताव पेश गर्दा प्रतिपक्षले लगाउने जस्तो आरोप प्रचण्डले लगाएको भन्दै आपत्ति प्रकट गरेका छन् । प्रचण्डले यस्तो अप्रमाणित पुलिन्दा फिर्ता नलिए गम्भीर तनावको यात्रा रोज्नुपर्ने चेतावनी उनले दिएका छन् । ओलीकै प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्डको प्रस्तावलाई अराजनीतिक भन्दै प्रस्तावमाथि पार्टी कमिटीमा छलफल नै नहुने बताएका छन् । प्रचण्ड पक्षबाट धेरै नेता खुलिसकेका छैनन् । तर, वर्षमान पुनले प्रचण्डको बचाउमा सामाजिक संजालमा लेखेका छन् । पुनले पार्टीमा विधि, पद्धति र संस्कारको विकास गर्नुपर्ने भन्दै लिखित प्रस्तावले नयाँ बहसको आरम्भ भएको उल्लेख गरेका छन् । अर्का युवा नेता दिपशिखाले पनि प्रचण्डको बचाउमा सामाजिक संजालमा लेख्दै फुटको धम्की नदिन चेतावनी दिएका छन् । यस अघि प्रचण्डकाे प्रेस सल्लाहकार भएर काम गरेका मनहरि तिमल्सिनाले थापाप्रति कटाक्ष गर्दै लेखेका छन् : सूर्य थापाजी,अरु कुराकाे चिन्ता नलिनुस्। प्रधानमन्त्रीकाे पाेर्टलमा पाेर्न भिडियाे अपलाेड हुन नदिनुस्, प्रधानमन्त्रीकाे ट्वीटर ह्याण्डिल ह्याक हुन नदिनुस्, प्रधानमन्त्रीकाे ट्वीटर आफै ह्याक गरेर तथानाम पाेष्ट नगर्नुस्। यत्ति भए पुग्छ, त्यसभन्दा बाहिरकाे कुरा तपाईंको सामर्थ्यले भ्याउँदैन, प्रचण्डकाे प्रतिवेदनमाथि तपाईंको टिप्पणी त झन् हुटिट्याउँले आकाश थाम्न खाेजेजस्ताे हुन्छ, त्यता दुख नगर्नुस्।
प्रतिक्रिया