NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

स्वास्थ्य क्षेत्रमा क्रान्ति हुँदै आज सातै प्रदेशमा एकैपटक ३९६ आधारभूत अस्पताल शिलान्यास गरिँदै

ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्दै छ । जहाँ ५, १० र १५ शय्याका अस्पताल निर्माण गरिनेछन् । सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ‘ठूलो क्रान्ति’ भनेको छ । स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक एवं आधारभूत अस्पताल शिलान्यास समन्वय समितिका संयोजक माधव लम्सालले स्वास्थ्य सेवामा अहिलेसम्मकै ठूलो काम हुन गइरहेको बताए । ‘यसलाई स्वास्थ्य क्षेत्रमा क्रान्ति नै भन्दा हुन्छ । उपचारात्मक सेवामा यति ठूलो काम अहिलेसम्म भएको छैन,’ उनले भने । सबै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न आधारभूत अस्पताल निर्माण गरिन लागेको उनले बताए । अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसअन्तर्गत पाँच शय्याका ५२, १० शय्याका एक सय नौ र १५ शय्याका ३५ अस्पताल बनाइनेछन् । दुई वर्षभित्र सबै अस्पताल निर्माण गरेर सञ्चालन गरिसक्ने सरकारको योजना छ । संघीय मामिला मन्त्रालयका प्रवक्ता सहसचिव वसन्त अधिकारीका अनुसार तीन सय ९६ स्थानीय तहमा भवन निर्माणका लागि यो बर्ष ६ अर्ब १२ करोड २६ लाख निकासा गरिएको छ । अस्पताल निर्माण र उपकरण जडान गर्न करिब ५८ अर्ब खर्च हुने अनुमान छ । अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरिसकेको छ । सबैभन्दा धेरै प्रदेश १ मा ८६ आधारभूत अस्पताल निर्माण गरिनेछन् । त्यस्तै, लुम्बिनीमा ५७, सुदूरपश्चिममा ५४, प्रदेश २ र गण्डकीमा ५३–५३, बागमतीमा ५१ र कर्णालीमा ४२ स्थानीय तहमा अस्पताल बनाइनेछन् । सबै स्थानीय तहलाई सोमबार नै भवनको शिलान्यास गर्न ताकेता गरिएको प्रवक्ता अधिकारीले बताए । अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल तथा सम्बन्धित क्षेत्रका सांसद र स्थानीय तहका प्रमुखले अस्पतालको शिलान्यास गर्ने कार्यक्रम छ । सोमबार नै सातवटै प्रदेशमा एक–एक सरुवारोग अस्पतालको पनि शिलान्यास गर्ने सरकारको तयारी छ । संयोजक लम्सालका अनुसार संघीय सरकारको सहयोगमा स्थानीय तहले नै अस्पताल निर्माण तथा सञ्चालन गर्नेछन् । आवश्यक जनशक्तिको मापदण्ड पनि तयार भइसकेको छ । ‘पाँच शय्याको अस्पतालमा एकजना मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शय्याको अस्पतालमा दुईजना मेडिकल अफिसरसहित १७ जना र १५ शय्याको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी खटिनेछन्,’ उनले भने । सबै अस्पतालबाट गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने संयोजक लम्सालले बताए । आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा ती अस्पतालले दिनेछन् । संघीय सरकारको बजेट र डिजाइनमा स्थानीय सरकारले काम गरिरहेकाले यो संघीयता कार्यान्वयनको सफल उदाहरण पनि भएको लम्सालको भनाइ छ । अस्पताल स्थापनाका लागि स्थानीय तह छनोटमा विभेद गरिएको भन्दै कतिपय स्थानीय तहले असन्तुष्टि व्यक्त गरेका छन् । गत २८ कात्तिकमा नै जग्गा प्राप्तिको काम गर्न मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको थियो । तर, कतिपय स्थानीय तहले अझै जग्गा प्राप्ति गर्न सकेका छैनन् । नयाँ पत्रिकामा खबर छ ।