अध्यादेश तत्काल फिर्ता लिएर संसद बैठक बोलाउन कांग्रेसको माग

काठमाडौं । कांग्रेस संसदीय दल कार्यसमितिले संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा जारी गरिएको अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ । संसद बैठक बसेर धेरै मुद्दा किनारा लगाउनुपर्ने बेलामा असंवैधानिक र अलोकतान्त्रिक हिसाबले ल्याइएको अध्यादेश फिर्ता लिन दलको कार्यसमितिकाे बैठकले माग गरेको हो । ‘संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा जारी अध्यादेश असंवैधानिक र अलोकतान्त्रिक छ यसलाई तुरुन्तै फिर्ता लिनुपर्ने निर्णय बैठकले गरेको छ’ सांसद डा. डिला संग्रौलाले नेपालवाचसँग भनिन्, ‘समसामयिक धेरै विषयमा छलफल गर्नुपर्ने भएकोले संसदको बैठक तत्काल बोलाउन पनि माग गरिएको छ ।’ भ्रष्टाचार बढेको, सरकारले कोरनो महामारी नियन्त्रणको लागि प्रभावकारी काम गर्न नसकेको आरोप पनि कार्यसमिति बैठकले लगाएको छ । बैठकले पैसा नपाएर राजधानीसम्म आन्दोलन गर्न आएका उखु किसानको सबै रकम तत्काल दिलाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । हिउँदे बाली लगाउने बेला हुँदासम्म रासायनिक मलको व्यस्था सरकारले गर्न नसकेको भन्दै कांग्रेस बैठकले आपत्ति जनाएकाे छ ।
प्रतिक्रिया