महामारीमा वैदेशिक रोजगारीको लर्को, पाँच महिनामा ३१ हजारले लिए श्रम स्वीकृति (भिडियो रिपाेर्ट)

https://www.youtube.com/watch?v=ckivAIdbDVk काठमाडौं । कोरोना महामारीकाबीच पनि वैदेशिक रोजगारीमा जानेको लर्को रोकिएको छैन । वैदेशिक रोजगारीका चक्करमा जान खोज्नेको भिड राहदानी विभाग, मेनपावर, श्रम कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिन थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीको पर्वाह नगरी विदेश जान खोज्नेको संख्या भने उल्लेख्य छ । विभागका सूचना अधिकारी टिकामणि नेउपानेका अनुसार विगत पाँच महिनामा ३१ हजार चार सय १० जनाले विदेशमा काम गर्ने श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार गत साउनदेखि मंसिरसम्मको अवधिमा नयाँ श्रम स्वीकृति लिएर मेनपावरमार्फत् पाँच हजार नौ सय तीन जना विदेश गएका छन् । त्यस्तै, विदेशबाट फर्किएका २४ हजार सात सय जना पुनः विदेश गएका छन् । विद्यार्थी तथा भिजिट भिसामा गएका करिब एक हजार पाँच सयले श्रम स्वीकृति लिएका छन् ।अहिले तहाचलस्थित विभागको श्रम कार्यालयमा श्रम स्वीकृति लिन जानेको भिड देखिन्छ । यता राहदानी विभागका अनुसार अहिले दैनिक एक हजार ६ सयदेखि दुई हजारको संख्यामा राहदानी जारी भइरहेको छ । विभागका प्रवक्ता राजेन्द्र पाण्डेका अनुसार विभागले जारी गरेको राहदानीमा ८० प्रतिशत हिस्सा वैदेशिक रोजगारीमा जानेकै हुन्छ । कोरोना महामारी सुरु हुनुअघि दैनिक एक हजार पाँच सयदेखि दुई हजार मानिसहरू वैदेशिक रोजगारीमा उड्थे । बीचमा लकडाउन र गन्तव्य मुलुकले नै कडाइ गरेपछि रोकिएको वैदेशिक रोजगारीको लहर पछिल्लो समय साविकझैं हुन थालेको छ । कोरोना महामारीले स्वदेशमा रोजगारी गुमेपछि र आम्दानीको स्रोत सुक्न थालेपछि मानिसहरू पुनः वैदेशिक रोजगारीतर्फ आकर्षित हुन थालेका छन् ।
प्रतिक्रिया