काठमाडौं महानगरका मेयर शाक्य नै अन्यायमा : कोरोना बीमाको रकम दुई महिनादेखि पाएनन् !

काठमाडाैं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित एक सयजना जनप्रतिनिधि र कर्मचारीले कोरोना बीमाको रकम पाएनन् । उनीहरुले बीमा दाबी गरेको दुई महिना पुग्दा समेत भुक्तानी पाउन नसकेका हुन् । मेयर शाक्यसहित सयजनाले दुई महिनाअघि नै रकम भुक्तानीका लागि कागजातसहित बीमा संस्थानमा आवेदन दिएको भए पनि अझै भुक्तानी पाउन नसकेका हुन् । महानगरपालिकाले आफ्ना जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालक गरी एक हजार ९८२ को गत जेठ तेस्रो साता बीमा गराएको थियो । जसमा जनप्रतिनिधि र सबै कर्मचारीको (स्थायी, अस्थायी, करार र सामाजिक परिचालक, पत्रकार÷सञ्चारकर्मी, स्वास्थ्यकर्मी, नगर प्रहरी) बीमा गराएको हो । महामारी नियन्त्रणमा काम गर्दा आइपर्ने जोखिमलाई ख्याल गरि महानगरले सामूहकरूपमा बीमा गरिदिएको प्रवक्त ईश्वरमान डंगोलले बताए । बीमा भएको समयमा गरिएको सम्झौताअनुसार आगामी वर्ष ०७८ जेठ २२ गतेभित्र बीमित व्यक्तिमा पिसिआर रिपोर्टमा पहिलोपटक पोजेटिभ देखिए महानगरको सिफारिसमा एक लाख रुपैयाँ पाउनेछन् । समयमा महानगरले प्रतिव्यक्ति ६ सय शुल्क तिरेर एक वर्षका लागि बीमा गराएको थियो। कोरोना परीक्षणमा पोजेटिभ देखिएकामध्ये अहिलेसम्म ४० जनाले मात्रै बीमा दाबी भुक्तानी पाएका छन् । अन्य ६० जनाको कागजात मिलाउने प्रक्रियामा रहेको डंगोलले बताए ।
प्रतिक्रिया