NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

स्थायी समितिका ५ भाइले छाडे प्रचण्डको साथ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक विभाजनको मुखमा पुग्दा पूर्व माओवादीका ५ स्थायी समिति सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका छन् । उनीहरूले आइतबार प्रचण्डले बोलाएको स्थायी समितिको बैठकमा समेत नगएर केपी ओलीलाई साथ दिएको स्पष्ट संकेत दिएका हुन् । प्रचण्डको साथ छाड्ने पूर्व माओवादीतर्फका स्थायी समिति सदस्यहरूमा रामबहादुर थापा, मणि थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझि र हरिबोल गजुरेल छन् । स्थायी समिति सदस्य मणि थापाले अहिलेको स्थितीमा प्रचण्डले लिएको राजनीतिक लाइनमा सहमत हुन नसकिने बताए । ‘हामी यो सरकार ५ वर्ष रहन दिनुपर्छ भन्ने पक्षमा बहस गर्दै आएका थियौँ, तर त्यो हुन सकेन,’ थापाले भने, ‘अबको बाटो निर्वाचनमा गएर नयाँ जनमत सहित राजनीतिक स्थितरता स्थापित गर्ने हो, त्यसको पक्षमा उभिनु आवश्यक छ ।’ प्रचण्डको साथ छोड्ने पाँचै जना स्थायी समिति सदस्यहरू कुनै समय प्रचण्डका विश्वास पात्र हुन् । बाबुराम भट्टराईको विश्वास पात्रका रुपमा चिनिएका टोपबहादुर रायमाझि उनको साथ छाडेर पछिल्लो समय प्रचण्ड निकट भएर सक्रिय रहँदै आएका थिए । तर नेकपाभित्रको अन्तरसंघर्षमा मध्यमार्गी भूमिकामा देखिएका उनीहरू पार्टी विभाजन औपचारिक घोषणा हुन लाग्दा प्रधानमन्त्री केपी शर्मा ओली निकट देखिएका हुन् । नेता थापाले प्रचण्ड समूहले हिजो बोलाएको स्थायी समिति भनिएको बैठक गुटको भएकाले नगएको बताए । उनले अघि भने, ‘हामी सल्लाह गर्दैछौँ, अब निर्वाचनमा जानुपर्छ भन्ने कुरामा कुनै असहमति छैन ।’

ताजा अपडेट

नेपालवाच विशेष