पार्टी फुटको साक्षी बस्न कतै जान्नः वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौमतले आफू पार्टी फुटको साक्षी बस्न कतै नजाने बताएका छन् । गौतमले एक विज्ञप्ती जारी गर्दै आफू एकताकै पक्षमा र संसद भंगको विरोधमा भएको बताएका छन् । ‘म अझै एकताको पक्षमा छु, संसद भंगको विरुद्धमा छु । तर पार्टी फुटको साक्षी बस्न कतै जान्न,’ उनले भनेका छन् । मन्त्रीपरिषद्ले संसद विघटन र निर्वाचनको सिफारिस गरेपछि आफूले राष्ट्रपतिलाई सम्पर्क गरेर स्वीकृत नगर्नुस् भन्ने चाहेको पनि विज्ञप्तीमा खुलाएका छन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीमार्फत आफूले राष्ट्रपतिलाई मन्त्रीपरिषद्को सिफारिस बमोजिमको विषयलाई जारी गरेमा दुभाग्यपूर्ण हुने कुरा बताएको विज्ञप्तीमा खुलाएका छन् । ‘तर, राष्ट्रपतिले विज्ञप्तीमार्फत मन्त्रीपरिषद्को सिफारिसलाई स्वीकृत गर्नुभएको समाचारमा सुने,’ उनले बताएका छन् । पार्टी फुटको घोषणा गर्नमात्रै बाँकी रहेको बैठक र भेलामा आफू भाग नलिने उनले विज्ञप्तीमा बताएका छन् । उनले भनेका छन्, ‘म फुटको साक्षी बस्न सक्दिनँ । म यो पार्टी एकीकरण गराउनेमध्येको नेता हुँ । त्यसैले अहिले पनि एकताको पक्षमा छु ।’
प्रतिक्रिया