NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

बन्द भयो पाँचतारे होटल अन्नपूर्ण, व्यवसायी भन्छन् – यो सुरुवात हो

काठमाडौं । कोरोना महामारीका कारण खर्च धान्न नसक्ने भन्दै काठमाडौंको दरबारमार्गस्थित पाँचतारे होटल डेल अन्नपूर्ण बन्द हुने भएको छ । होटलले बन्दको घोषणा गरिसकेको छ । करिब ५५ वर्ष पुरानो इतिहास बोकेको अन्नपूर्णले कर्मचारीलाई बिदाइ गर्न थालिसकेको छ । हालसम्मको तलब, सञ्चय कोषलगायत कर्मचारीको दायित्व भुक्तानी दिँदै राजीनामा दिन आग्रह गरिएको छ । अब कर्मचारीलाई न्यूनतम तलब पनि दिन नसक्नेगरी राजीनामा दिन आग्रह गर्दै होटल बन्द गर्ने घोषणा गरेको हो । होटल एसोसिएसन नेपाल (हान) की अध्यक्षसमेत रहेकी श्रीजना राणा सञ्चालक रहेको होटलमा नेपाल सरकार अन्तर्गतको नेपाल ट्रष्टको पनि पाँच प्रतिशत लगानी छ । करिब ४३.८६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त होटलमा ३ सय ६० कर्मचारी कार्यरत छन् ।होटल लकडाउन भएदेखि नै बन्द थियो । लकडाउन खुलेसँगै आंशिक रुपमा केही तारे होटलहरू सञ्चालनमा आएपनि अन्नपूर्ण र हायात भने पूर्ण रुपमा बन्द नै छन् । अन्नपूर्ण होटलले बन्द गर्ने घोषणा गर्नु सुरुवातमात्र भएको बताउँछन्, हानका उपाध्यक्ष विनायक शाह । ‘हानकै अध्यक्षद्वारा सञ्चालित होटल त आज यो अवस्थामा पुग्यो भने अन्यको हालत के होला ?’ शाहले भने । यही अवस्थामा क्रमिक रुपमा सबै स्टार होटल बन्द हुँदै जाने अवस्था आउने दिन धेरै टाढा नभएको उनले बताए । सरकारले राहत प्याकेज तुरुन्तै कार्यन्वयनमा ल्याए पनि टिक्ने अवस्था हुने शाहले बताए । आफैंले सञ्चालन गरेको एयरपोर्ट होटलको अवस्था पनि दयनीय भएको शाहले बताए । आम्दानीको बाटो नहुँदा खर्च शून्यजस्तै भएको उनी बताउँछन् । अर्बौं कर तिरे पनि विपद्मा सरकारबाट सामान्य टेकोसमेत नपाएको उनी बताउँछन् । ‘पाँच प्रतिशत ब्याजमा सहुलियत दिने भनेर घोषणामात्रै भयो, त्यो खै कार्यन्वयन भएको ?’ उनले भने, ‘आजसम्म त थेगेका छौं, अब के हुन्छ भन्ने थाहा छैन ।’

ताजा अपडेट

नेपालवाच विशेष