NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग खन्न थालियो, २०२३ मा सम्पन्न हुने(भिडियाे रिपाेर्ट)

https://www.youtube.com/watch?v=_gmvLnREddg&t=4s काठमाडौँ – काठमाडौंको नागढुंगादेखि धादिङकाे सिस्नेखोला जोड्ने सुरुङमार्गकाे निर्माण कार्य सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्याश गरेको १४ महिनापछि सुरुङमार्ग खन्ने कार्य मंगलबार देखि शुरु भएको हो । २ दशमलव ६८ किलोमिटर लम्बाई रहेको यो सुरुङमार्ग सन २०२२ को अन्त्य सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । गत वर्षको कात्तिक ४ गते प्रधानमन्त्री ओलीले शिलान्यास गरेपनि मुआब्जा विवाद, विष्फोटक पदार्थको आयातमा भएको ढिलाई र कोभिडका कारण निर्माण उपकरण आयातमा भएको ढिलाईका कारण १४ महिना ढिलो गरी निर्माण कार्य शुरु भएको सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए । यो आयोजना जापान सरकारको १६ अर्ब ऋण सहयोग र नेपाल सरकारको करिब ६ अर्ब लगानी गरी झण्डै २२ अर्ब लगानीमा निर्माण सम्पन्न हुनेछ । सुरुङ खन्नका लागि निर्माणस्थलसम्म पहुँचमार्ग, खोलामा कल्भर्ट बनाउने कार्य पुरा भइसकेको छ । तोकिएको समयभन्दा केही ढिलो गरी काम शुरु भएपनि समयमै निर्माण कार्य सम्पन्न हुने विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख थापा बताउँछन् । जापानको हाज्मा एन्दो कर्पोरेसनले निर्माण कार्यको जिम्मा लिएको छ । ड्रिलिङ एन्ड ब्लास्टिङ प्रविधिबाट सुरुङ खन्ने काम हुनेछ। आयोजनाका अनुसार सुरुङ मार्गको कुल लम्बाई २ दशमलव ६८ किलोमिटर छ भने ३ दशमलव ५ मिटर चौडाई रहेका दुई लेन हुनेछन् । यस्तै अत्यावश्यक रेस्क्युका लागि समेत छुट्टै एक्सिस रोड पनि निर्माण हुनेछ । सडक विभागले सुरुङमार्ग निर्माण गर्न २०६९ माघ देखि २०७२ सालसम्ममा विभिन्न चरणको सर्वेक्षण गरेको थियो । सोही सर्वेक्षणको आधारमा सुरुङ मार्ग निर्माण कार्य शुरु भएको हो । सन् २०२२ को अन्त्यसम्म निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य भएपनि कोभिडका कारण सुरुङ खन्ने कार्य नै ढिलाई भएपछि सन् २०२३ को मध्य सम्ममा निर्माण सम्पन्न हुने सम्भावना रहेको आयोजनाले बताएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष