कांग्रेस बैठकमा देउवामाथि गगन थापाको अनेक संशय

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गराएको विषयलाई सशक्त प्रतिवाद गर्न नखोजेको भन्दै कांग्रेस युवा नेता गगन थापाले आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीको कदमपछि छलफल गर्न बसेको केन्द्रीय समितिको बैठकमा नेता थापाले संविधान र लोकतन्त्रविरोधी काम हुँदा कांग्रेसले सशक्त प्रतिवाद गर्नुपर्ने बताएका हुन् । ‘चुनाव हुँदा चुनावमा जाने भन्ने बेग्लै कुरा हो । तर, त्यो भन्दा केपी ओलीले संविधानलाई मिचेको अवस्थामा चुनावमा मात्रै जाने रटानले कसरी हुन्छ ?’ थापाले भने, ‘ओलीको कदम गलत छ भनेर सडकमा विरोध र प्रदर्शन गर्न ढिलाई गर्नु हुन्न ।’ ओलीले असंवैधानिक कदम चाल्दा गलतलाई गलत नभन्दा कांग्रेस कसरी माथि आउँछ भन्दै थापाले पार्टी नेतृत्वमाथि दबाब बढाएका छन् । संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलका रुपमा हाम्रो सभापति पनि हुनुहुन्छ तर, हामीले नाम नै दिएको छैन भने संवैधानिक आयोगहरुमा कसरी नियुक्ति गर्न सकिन्छ ?’ थापाले भने, ‘संवैधानिक परिषद्को निर्णय गलत छ र नियुक्ति गलत छन् भनेर बैठकले पास गर्नुपर्छ । नियुक्ति गरिएकालाई राजीनामा दिन भन्नुपर्छ ।’ कांग्रेस जस्तो लोकतन्त्रवादी र संविधानवाद मान्ने पार्टीले गलतलाई गलत नभन्दा चुनावबाट पनि माथि आउन नसक्ने थापाको भनाई थियो । ओलीले गलत कदम चाल्दा विरोध र प्रदर्शनका कार्यक्रम गर्न ढिलाई हुँदा कांग्रेससामू अनेक आशंका बढेको अर्का एक नेता बताउँछन् । ‘कांग्रेसले ओलीको कदम संविधानको विपक्षमा छ, संविधानमाथि प्रहार गर्यो । अवसर दिंदा पनि नेकपाले सकेन । यस्तो बेला नेकपाले सकेन भनेर जनताबीच जाने अवसर हामीलाई हो’ ती नेताले भने, ‘संवैधानिक परिषद्का बैठकमा सभापति नभएको कारणले उहाँले नियुक्तिमा सहमति दिनुभयो भन्ने लाग्दैन । तर, ओलीको कदमपछि पदाधिकारीले छिटो निर्णय नगरी विरोध र प्रदर्शनको कार्यक्रम नगर्दा सभापतिमाथि आशंका बढेको हो ।’ संवैधानिक नियुक्तिकाबारे विरोध गरेर प्रष्ट निर्णय गर्दा कांग्रेसमाथिको आशंका हट्ने उनी बताउँछन् । केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य डा.रामशरण महतले प्रधानमन्त्रीको कदम गलत भए पनि कांग्रेसले आफ्नै बलबुतमा विरोध र प्रदर्शन गरेर जानुपर्ने बताए । अरुसँग मिलेर भन्दा आफैं अग्रसर भएर जाँदा निर्वाचनसम्म पुग्दा पनि पार्टीलाई फाइदा हुने उनको भनाई थियो । बलबहादुर केसीले संसद पुनस्थाना भएन भने निर्वाचन छँदैछ भन्दै अहिले प्रधानमन्त्रीको कदम गलत छ भनेर जानुपर्ने बताए । आनन्द ढुंगानाले पनि कांग्रेसले आफ्नै बलबुतामा आन्दोलन गर्नुपर्ने बताएका थिए ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया