ओलीको कदमपछि कांग्रेसमा ‘आन्दोलन’ कि ‘निर्वाचन’ भन्नेमा लडाईं

काठमाडौं । ओलीको कदमलाई लिएर कांग्रेसमा दुई धार देखिएको छ । सभापति शेरबहादुर देउवा पक्षधर अदालतको पनि निर्णय हेरेर अलि ढिलो गरी पार्टी धारणा ल्याउनुपर्ने पक्षमा छन् । तर, पौडेल र सिटौला पक्षले तत्काल विरोध र प्रदर्शनका कार्यक्रम ल्याउनुपर्ने दबाब दिइरहेको छ ।तर, देउवाले ढिलो गरी केन्द्रीय समितिको बैठक चलाइरहेका छन् । मंगलबार चार जनालाई मात्रै बोल्न दिएर बैठक सकिएको थियो । बुधबार पनि चार जनाले मात्रै बोले । आफ्नो पक्षका धेरै नेता ओलीविरुद्ध आन्दोलनभन्दा निर्वाचनकै पक्षमा देखिएपछि देउवाले केही दिन अदालतको आदेश कुर्नका लागि पनि बैठकलाई लम्बाउन खोजेका छन् । तत्काल आन्दोलन घोषणा गर्ने र पछि अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गर्दा अप्ठ्यारो हुने बुझाई उनको रहेको देखिन्छ । ढिलो गरी बैठक चलाएको र निर्णय गर्न अलमलिएपछि नेता रामचन्द्र पौडेलले दुवैदिन बैठकमा आक्रोस पोखेका छन् । देउवाको अलमलले गर्दा ओलीसँग उनको केही साँठगाँठ रहेको थियो भन्ने आशंकलाई पनि बल पुग्ने गरेको कांग्रेस स्रोत बताउँछ । ‘सभापति बैठक लम्बाउने पक्षमा देखिनुभएको छ । दिनको चार जनाको दरले मात्रै बोल्न दिइरहनुभएको छ’ बैठकमा सहभागी एक नेताले भने, ‘तर, ढिलो गरेपछि रामचन्द्र पौडेल र अरु पक्ष आक्रोशित देखिन थालेका छन् ।’ पौडेलले छिटो विरोध र प्रदर्शन गर्दा गाउँगाउँमा नेकपा विरोधी माहोल बनाउन सकिने भन्दै देउवामाथि छिटो कार्यक्रम घोषणाको लागि दबाब बढाएका छन् । ‘जोसँग शक्ति उसैले देखाउने हो । गाउँगाउँमा अरु पक्ष बलियो भएर विरोध र प्रदर्शनमा उत्रिनु अघि हामी जानुपर्छ’ पौडेलले भनेका छन्, ‘छिटो आन्दोलन घोषणा गरिहालौं अरुले सडक कब्जा गरिसकेपछि हामी जाने कुरा उपयुक्त हुँदैन ।’ तर, देउवा अदालतको पनि प्रक्रिया कुर्नुपर्ने पक्षमा छन् । पौडेलले बारम्बार आग्रह गरेपछि देउवाले १६ पुसमा विरोध कार्यक्रम गर्ने बताएका थिए । तर, मेलमिलाप दिवसको दिन विरोधको कार्यक्रम सान्दर्भिक नहुने भन्दै पौडेलले आक्रोस पोखे । त्यसपछि १६ पुस अगाडि नै १६५ वटै प्रतिनिधिसभाका निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा भंगविरुद्ध विरोध र प्रदर्शन गर्ने सहमति बनेको थियो । सह–महामन्त्री डा. प्रकाशशरण महतले १६ पुस अघि नै १६५ वटै निर्वाचन क्षेत्रमा विरोध र प्रर्दशनको कार्यक्रम हुने जानकारी दिए । मंगलबार देउवा निकटका नेता एनपी साउदले निर्वाचन अवसर भएको भन्दै पार्टी निर्वाचनकैं पक्षमा अघि बढ्नुपर्ने बताएका थिए ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया