पौडेललाई मुक्का हानेको होइन यस्तो भएको हो : भण्डारी

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले केन्द्रीय समितिको बैठकमा सामान्य सवालजवाफ भए पनि कुनै नेतामाथि मुक्का हान्ने काम नभएको बताएका छन् । बुधबारको केन्द्रीय समितिको बैठकमा प्रतिनिधिसभा विघटनपछि तत्काल आन्दोलन गर्ने की अदालतको निर्णय कुरेर निर्वाचनमा जाने भन्ने विवाद बढ्दै जाँदा दोस्रो र तेस्रो तहका नेताहरुबीच पनि विवाद भएको थियो । तर, बैठक सकिइसकेपछि सामान्य जवालजवाफ भए पनि कुनै नेतामाथि आक्रमण नभएको भण्डारीले बताए । ‘केपी ओलीको कदमपछि तत्काल आन्दोलन घोषणा गर्ने की अदालतको आदेश कुर्ने भन्ने भइरहेको थियो । यस्तोमा मैंले पनि सबैको विचार आएपछि पार्टी निर्णयमा पुग्ने हो अहिले नै आन्दोलन घोषणा गर्ने होइन भनेको हुँ’ भण्डारीले नेपालवाचसँग भने, ‘तर, सबैको विचार हुन्छ विचार सुनिसकेपछि निर्णयमा पुग्दा उचित हुन्छ भनेको विषयलाई नेता रामचन्द्र पौडेलमाथि मुक्का हाने भनेरसम्म प्रचार गरिएछ । यस्तो भएको होइन । जिवन्त पार्टीमा जवालजवाफ हुनु सामान्य हो ।’ पार्टीमा सबैले बोल्न पाउने भन्दै विचारहरु आइसकेपछि पार्टी निष्कर्षमा पुग्नु उचित हुने आफूले बताएको भण्डारी बताउँछन् । के भएको थियो बैठकमा ? प्रधानमन्त्री केपी ओलीले अकस्मात प्रतिनिधिसभा विघटन गरेपछि कसरी जाने भन्नेमा कांग्रेस अलमलमा परेको छ । ओलीको कदमलगत्तै पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले ओलीको कदम असंवैधानिक रहेको निष्कर्ष निकाल्यो । सर्वदलीय बैठकसमेत आयोजना गरेर कांग्रेसले सामूहिक रुपमा प्रतिवाद गर्ने निर्णय गर्यो । तर, विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेन ।लोकतन्त्र र संविधानलाई धरापमा पार्नेगरी ओली उत्रिएपछि तत्काल सडक आन्दोलन गर्नुपर्ने अर्कोथरीको राय पार्टीमा थियो । खासगरी रामचन्द्र पौडेल पक्ष र सिटौला पक्षका नेताहरु पछि निर्वाचनमा जाने नै भए पनि तत्काल ओलीको कदमको खुलेर विरोध गर्न सडकमा निस्कनुपर्ने पक्षमा छन् । उनीहरुले छिटोभन्दा छिटो विरोध र प्रदर्शनको कार्यक्रम घोषणा गर्न पार्टीमाथि दबाब बढाउँदै आएका छन् । तर, केन्द्रीय समितिको बैठकमा एनपी साउदसहितका केही नेताले आन्दोलन होइन निर्वाचनमैं जानुपर्ने विषयमा जोड दिएपछि कांग्रेसमा झन् विवाद हुन पुग्यो । साथै, सभापतिले दुई दिनसम्म बोलाएको केन्द्रीय समितिको बैठक निक्कै ढिलो गरी राखे । बैठक लम्ब्याउने हिसाबले दुई दिन नै जम्मा चार जनालाई मात्रै बोल्न दिए । देउवाले प्रतिनिनिधिसभा विघटनको मुद्दा अदालतसम्म पुगेपछि उसको निर्णय कुर्न बैठकलाई ढिलाई गरिदिएका थिए । तर, अरु पक्ष पार्टीको अलमलप्रति आक्रोशित हुँदै तत्काल विरोध र प्रदर्शन घोषणा गर्नुपर्ने मतमा रहँदै आएका थिए । गगन थापाले त ओलीको कदम असंवैधानिक रहेको भन्दै सडक आन्दोलन घोषणामात्रै गरेर नपुग्ने बताए । कांग्रेसको सहमतिविना संवैधानिक अंगमा पदाधिकारी नियुक्ति भएको विषयलाई पार्टीले कडा प्रतिवाद गरेर नमान्ने निर्णय गर्नुपर्ने बताए । कांग्रेसमा सभापति शेरबहादुर देउवाले भागबण्डामा ओलीसँग विभिन्न पदमा बार्गेनिङ गरेको आरोपकाबीच थापाले सभापतिको प्रश्न उठाएका हुन् । दबाब धेरै नै बढेपछि बुधबारको बैठकको अन्तिमतिर सभापति देउवाले १६ पुसमा विरोध र प्रदर्शनको कार्यक्रम राखौं भनेपछि समापन तनावपूर्ण बन्न पुग्यो । ‘सभापतिले पुस १६ मा विरोध कार्यक्रम गरौं न भन्नुभयो तर, तर रामचन्द्र पौडेल दाइले १६ पुस कांग्रेसको फरक सन्दर्भ हो । मेलमिलाप दिवसमा ओलीविरुद्ध आन्दोलन गर्ने विषय उचित होइन आजै घोषणा गरेर भोलि वा पर्सी नै आन्दोलन गरौं भननुभएपछि बैठकको माहोल बिग्रियो ।’ बैठकमा सहभागी नेता गुरु घिमिरेले भने । लगत्तै सह–महामन्त्री डा.प्रकाशशरण महत र शंकर भण्डारी बोलिरहेकै ठाउँमा आएर–‘सभापति बोलेपछि सकियो । तपाईं (पौडेल)ले बोलेको मान्नुपर्छ भन्ने के छ ? भन्दै कड्किए ।’ नेता पौडेलमाथि पोडियममैं पुगेर जाइलागेपछि युवा नेता गुरु घिमिरले पनि सहन सकेनन् । उनी पनि अगाडि पुगेर आक्रोसित भए । ‘बरिष्ठ नेता बोलेपछि तपाईंहरुले किन बोल्नुपर्यो ? रामचन्द्र दाइले भनेको ठीक छ । मेलमिलाप दिवस हाम्रो भावना जोडिएको दिवस हो । मर्म र भावना नै फरक भएकोले मेलमिलापको दिवसको दिन बिपीको योगदानको चर्चा गर्ने हो’ गुरुले आक्रोसित हुँदै भने, ‘त्यही दिन विरोध र प्रदर्शन राख्दा बिपीको चर्चा गर्ने की ओलीको असंवैधानिक कदमको विरोध गर्ने ?यस्तो नमिल्दो कुरा गरेर नेताको मानमर्दन गर्न पाइन्छ ?’ पौडेललाई दुई नेताले हकारेको चित्त नबुझेपछि घिमिरले यत्ति भन्दानभन्दै के भन्न भन्न खोजेको भन्दै अर्कोतर्फबाट भण्डारी फेरि जाइलागे । तर, घिमिरे पनि रोकिएनन् भने, ‘चुप लाग्ने म होइन तपाईंहरु हो । वरिष्ठ नेताले बोल्दा बोल्न हुँदैन भन्दै औंला ठड्याउने ? हेप्ने ? यस्तो पनि हुन्छ पार्टीमा ? सिनियर नेतालाई मनलाग्दी बोल्ने जे पनि गर्ने पनि हुन्छ ?’ दुई पक्ष यसरी सभापति निकट नै पुगेरै विवादमा मुछिएपछि गुरुलाई साथ दिन डा. शेखर कोइराला, गगन थापा, प्रदीप पौडेल, सरिता प्रसाईं, जीवन परिवार, बद्रि पाण्डेसहितका नेता अगाडि पुगेका थिए । आफ्नै छेउ आएर दुई पक्ष आक्रोशित हुन थालेपछि देउवाले दुवैपक्षलाई ठाडो शैलीमा चुप लाग्नुस् भन्दै आ–आफ्नो ठाउँमा जान सुझाए । बैठकको अन्त्यतिर यस्तो हुँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले भने केन्द्रीय कार्यालय सानेपाबाट बाहिर गएर पत्रकारहरुलाई १६ पुसको मेलमिलापको दिवसको दिन देशैभर विरोध र प्रदर्शन कार्यक्रम गर्ने बताइसकेका थिए । शर्माले यो सूचना बाहिर पुर्याएपछि बैठकको माहोल झन् बिग्रिएको थियो । विरोध र प्रदर्शनका विषयमा जवालजवाफ हुँदा गुरु र विश्वप्रकाशको पनि केहीबेर भनाभन भएको थियो । तर, विवाद बढेपछि पार्टीले निर्णयमा पुनर्विचार गर्दै १६ पुसको मेलमिलाप दिवसको दुई तीन दिन अगाडि नै ओलीको कदमविरुद्ध १६५ वटै निर्वाचन क्षेत्रमा विरोध र प्रदर्शन गर्ने समझदारी गर्यो । तर, घोषणा बिहीबारको बैठकपछि गर्ने समझदारी जुटको छ । शर्माले पहिले नै विरोध कार्यक्रम घोषणा गरिसकेपछि संवाददाताहरुले आ–आफ्ना मिडियाबाट कांग्रेसले १६ पुसमा विरोध र प्रदर्शन गर्ने समाचार प्रसारण, प्रकाशन गराइसकेका थिए । तर, केही बेरमै पार्टीको फरक धारणा आयो ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया