नयाँ कोरोना भाइरस देखिएपछि बेलायतले बढायो प्रतिबन्ध

काठमाडौं । गएको हप्ता बेलायतको पूर्वी तथा दक्षिणी भेगमा नयाँ कोरोना भाइरस देखिएपछि बुधबारबाट प्रतिबन्ध बढेको छ । बुधबार नयाँ प्रतिबन्ध लगाइएका स्थानहरुमा पूर्वी बेलायतका विभिन्न सात स्थानहरु रहेका छन् । गत १९ डिसेम्बरदेखि बेलायतको दक्षिणी भेग र लन्डनमा पनि लकडाउन गरिएको थियो । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले क्रिसमसमा थप जोखिम हुनसक्ने भन्दै प्रतिबन्ध थप कडा बनाउन निर्देशन दिएका छन् । बेलायतमा क्रिसमसमा र नयाँ वर्षमा दिइएको विदाका समयमा नागरिकहरुले विदा मनाउन ठूलो संख्यामा जम्मा हुनसक्ने भएकोले यसमाथि प्रतिबन्ध लगाइएको विभिन्न संञ्चारमाध्यममा उल्लेख गरिएको छ । बेलायतबाट आउनेलाई रोक यतिबेला ५० भन्दा बढी देशले बेलायत तथा फ्रान्सबाट यात्रु ओसारपसारमा रोक लगाएका छन् । बुधबारमात्र बेलायतमा ४० हजार नयाँ संक्रमित थपिएका थिए । बुधबार मात्रै मृत्यु हुनेको संख्या ७ सय ४४ रहेको छ, जुन संख्या गत अप्रिल यताकै ठूलो संख्या हो । नयाँ कोरोना भाइरसको संक्रमण रोक्नका लागि छिमेकी फ्रान्सले नाकाबन्धी लगाउँदा बुधबार सिमानाकामा झन्डै तीन हजार ट्रक अवरुद्ध भएका थिए । सीमानाकामा समस्या भएपछि ७२ घन्टाभित्रमा गरिएको कोरोना परिक्षणको रिपोर्टका आधारमा फ्रान्सले नाका खोल्न सहमती जनाएको छ । बेलायतको स्वास्थ्य मन्त्रीले भने, ‘हाम्रो विश्वस्तरीय जीनोमिक क्षमताको कारण पछिल्ला केही दिनहरुमा हामीले कोरोनाभाइरसको नयाँ संस्करण फेला पारेका छौं, जुन इंल्यान्डको दक्षिणी भेगमा द्रुत गतिमा फैलिरहेको छ ।’ बेलायतमा गत डिसेम्बर १३ मा पहिलोपटक ११ सय भन्दा धेरैमा नयाँ कोरोना भाइरसकोे संक्रमण देखिएको थियो । कोरोना भाइरसको यो नयाँ संक्रमण द्रूत गतिमा सर्न सक्ने भएपनि यसबाट स्वास्थ्यमा गम्भीर असर पर्ने वा मृत्यु हुने सम्भावना नभएको बताइएको छ । यसको संक्रमणबाट हजार जना संक्रमितमा चारजनाको मृत्यु हुन सक्ने विज्ञले बताएका छन् । बेलायतमा यतिबेला नयाँ कोरोना भाइरसको कन्ट्राक्ट ट्रेसिङमा पर्नेलाई क्वारेन्टिनमा राखिएको छ । पछिल्लो पटक देखिएको यो कोरोना भाइरस दक्षिण अफ्रिकाबाट सुरु भएको थियो । दक्षिण अफ्रिकाले भाइरसबारे बेलायतलाई अघिल्लो हप्ता नै सचेत गराइएको थियो । हालको नोवल कोरोना भाइरस भन्दा यो छिटो सर्ने हुँदा दोस्रो लहरको लागि यो प्रवृत्तिको भाइरस बढी जिम्मेवार हुन सक्ने आँकलन विज्ञले गरेको छन् । दक्षिण अफ्रिका यतिबेला यही नयाँ भाइरसको उत्पतीका कारण दोस्रो लहरबाट गुज्रिरहेको छ । यतिबेला बेलायतमा दक्षिण अफ्रिकाबाट १५ दिनयता फर्किएकालाई तत्काल क्वारेन्टिनमा बस्न भनिएको छ । के भन्छन् वैज्ञानिक ? वैज्ञानिकहरुले भने यो हालको कोरोना भाइरसमा अघिल्लो भन्दा अर्को किसिमको भिन्नता भएको बताउँछन् । भाइरसले आफ्नो गुणमा परिवर्तन गर्ने ‘म्युटेसन’को क्रममा यो नयाँ स्वरुप देखा परेको हो । नयाँ प्रकृतीको भाइरस डिसेम्बरबाट अन्वेषकहरुको ध्यानमा आएपनि यो गत सेप्टेम्बरबाट नै बिरामीको नमुना संकलनका क्रममा देखा पर्र्न थालिसकेको थियो । छिटो सर्न सक्ने सम्भावना हाल देखा परेको भाइरस अन्य भाइरस भन्दा छिटो सर्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । बेलायतको दक्षिणी भेगमा तिव्र रुपमा फैलिएको यो भाइरसमा अन्य विविधता पनि देखिएको छ जुन महिनौंदेखि अन्त पनि फैलिएको हुन सक्ने अनुमान लगाइएको छ । बेलायतका एपिडेमियोलोजिस्ट निल फर्गुसनका अनुसार यो प्रवृतिको भाइरस अन्य भाइरस भन्दा ५० देखि ७० प्रतिशतले चाँडै सर्न सक्छ । बालबालिकालाई पनि प्रभाव पार्न सक्ने केही वैज्ञानिकहरूले यो भाइरसको संक्रमणको सम्भावना बालबालिकामा पनि वयश्कको तुलनामा हुने तर्क गरेका छन् । ‘सामान्यता बालबालिकामा भाइरसको संक्रमणको जोखिम वयश्कको तुलनामा कम हुन्छ । तर अहिलको नयाँ भाइरसले बालबालिकालाई पनि वयश्ककै तुलनामा संक्रमण गराउने जोखिम छ,’ इम्पेरियल कलेज लन्डनका भाइरोलोजिस्ट विन्डी बारक्लेले बताए । नयाँ प्रवृतिको यो भाइरसबाट जोगिनका लागि हामीले हाल पालना गर्दै आएका नियमलाई ख्याल गरे पुग्छ । भौतिक दूरी कायम गर्न, फेस मास्क, वेलावेलामा साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्नु नै भाइरसबाट बच्ने विधि भएको विज्ञले बताएका छन् ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया