मैले केपी खेमा छोडेँ, तर संसद विघटन हुने संविधानमा व्यवस्था छ, विरोध मात्र गर्नु हुन्न – शेरबहादुर तामाङ

नेकपाको विवाद बढ्दै जाँदा प्रतिनिधिसभा विघटनदेखि नयाँ निर्वाचनको घोषणासम्म मुलुक प्रवेश गरेको छ । तर, प्रतिनिधिसभा विघटन विवादित बन्न पुगेको छ । संविधानको व्याख्या विपरीत विघटन भएको भन्दै यो विषय सर्वोच्च अदालतमा पुगेको छ । तर, यो विवादले सत्तारुढ दल नेकपा विभाजनतिर पुगेको छ । पार्टी विभाजन भएपछि नेताहरु पनि आ–आफ्नो कित्तातिर लागेका छन् । दुवै समूहले आफ्नोतिर भन्दै दाबी गरिरहे पनि गुट परिवर्तन गर्नेको लहर पनि सँगै देखिन थालेको छ ।पछिल्लो समय प्रधानमन्त्री एवं नेकपाका एक अध्यक्ष केपी ओली समूहमा रहेका शेरबहादुर तामाङले बिहीबारबाट सो समूह छोडेको घोषणा गरेका छन् । माधव नेपाल, ओली समूह हुँदै फेरि प्रचण्ड–नेपाल समूहमा प्रवेश गरेका पूर्व मन्त्रीसमेत रहेका शेरबहादुर तामाङसँग नेपालवाचले गरेको कुराकानी : तपाईंलाई पहिला माधव नेपाल निकट भनेर चिनिन्थ्यो फेरि ओली पक्षमा कहिले जानुभएको थियो ? मेरो पार्टीभित्र जुन खालको विग्रह देखा पर्यो, यो विग्रहलाई अन्त्य गरौं भनेर नेताहरु बीचको समझदारी नेकपाको पार्टी एकताबद्ध बनाउने अभियानमा म लागे । अन्त्यमा नेता नेतृत्वको कारणले सफल नहुने दिशातर्फ तीव्र गतिले लाग्यो । यो हुनु हुदैन भन्ने मलाई लाग्यो । कमसेकम नेतृत्वलाई बचाएर जाँदा नै आन्दोलन जोगिन्छ । त्यसैले सरकारप्रति असमझदारी, सरकारलाई गाली गरेर फेरि मत प्राप्त गरिन्छ भन्ने मलाई विश्वास छैन । सरकारको समर्थनमा रहनुपर्छ भन्ने मेरो मान्यता हो । त्यो मान्यतामा आफ्ना दृष्टिकोणहरु राखिरहेको छु । यसै क्रममा केपी ओलीसँग भेटघाट पनि भयो । उनी आफ्नै पार्टीको अध्यक्ष र प्रधानमन्त्री हुन् । तर त्यो बीचमा राजनीतिक घटनाले यति तीव्र रुप लियो कि विघटन हुँदै पार्टी अलग हुने अवस्थामा पुग्यो । यी परिघटनाको बीचमा केपी ओलीसँगको सामिप्यता भेटघाट इ सबै हिसाबले त्यता उभिएको जस्तो देखियो । तर अहिले पनि पार्टी एकताको पक्षमा छु । अहिले नेताहरुले जे गरिरहनुभएको छ । त्यो गल्ती भइरहेको छ । काम गर्ने सम्बन्धमा माधव नेपालसँग पनि मैले त्यत्तिकै काम गरेको हो । साथीभाई सर्कल त्यही रहेको हुनाले मैले त्यो सर्कललाई नछोड्ने नै निष्कर्षमा पुगें । तपाई फेरि केपी ओली किन छोड्न पुग्नुभयो त ? केपी ओली, माधव नेपाल, प्रचण्ड अथवा अरु झलनाथ लगातका सबै हाम्रा आदरणीय नेताहरु हुन् । यी सबै नेताहरु एक ठाउँमा बस्नु जरुरी छ । यी नेताहरु अलग भएर मुलु्कको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने कुरामा लाग्नु हुँदैन । जो जहाँ रहे पनि एकले अर्कालाई समाप्त गर्ने हैन । नेपालको कम्युनिष्ट आन्दोलनलाई बचाउने काममा लाग्नुपर्ने हुन्छ । तपाई प्रचण्डको समूहमा आउनुमा ‘सर्कल’को कारण मात्र छ की राजनीतिक कारण पनि छ ? सैद्धान्तिक दृष्टिकोणको हिसावले धेरै व्याख्या विश्लेषणहरु आउलान् । तर अहिलेसम्म नेपाल कम्युनिष्ट पार्टी नै हो । अहिले दुवै पार्टी विभाजनको दिशातर्फ उन्मुख भएपनि औपचारिक रुपमा विभाजन भैसकेको छैन । नेपाल कम्युनिष्ट पार्टीकै हैसियतमा रहेर यी नेताहरु अन्त्यमा यही ठाउँमा उभिनुपर्छ भन्ने मेरो दृष्टिकोण हो । प्रतिनिधिसभा विघटनपछि दुर्घटनामा एक पक्षमात्रै जिम्मेवार देखिंदैन । तपाईंचाँहि कसलाई बढी जिम्मेवार ठान्नुहुन्छ ? एक पक्षलाई मात्र जिम्मेवार ठान्दिन । मुख्य मान्छे नै मुख्य जिम्मेवार हुन्छ । यसमा कुनै दुईमत छैन । तर अरु सहायक जिम्मेवारहरु पनि कम्ताका छैनन् । मुख्य जिम्मेवारले ‘एक्सन’ लिएपछि त्यसको परिघटना आइहाल्छ । ‘एक्सन’हरु कहाँबाट भयो त्यसको ‘रियाक्सन’ के भयो भन्ने कुराको सही विश्लेषण गर्न सक्नुपर्छ । वास्तवमा एजेण्डाभन्दा पनि ओली, प्रचण्ड र नेपालको स्वार्थका कारणले यो दुर्घटना भएको हो । तर युवा नेताहरुले तिमीहरुको यो स्वार्थमा हामी पार्टी फुटाउन सक्दैनौं, हामी सती जान सक्दैनौ भनेर उभिन किन नसकेका होलान् ? राजनीतिमा यस्तो नहुँदोरहेछ । मैले यो मिलाउने क्रममा एक महिना जति मेहनत गरे । यसमा ठूलै समूह थियो । पार्टी नेताहरुको पछि लाग्ने, विभिन्न मनोविज्ञानले सँगै हिँडेका तलका कार्यकर्ताहरु थिए । हामीले त्यो पनि सोच्यौ । हामी अलग भएर कतै नलाग्नेगरी उभियौ न त भनेर छलफल पनि गर्यौ । तर त्यो कस्तो हुँदो रहेछ भनेर आज देखिराख्नुभएको छ तपाईंले । कुनै एक टिममा उभिनैपर्ने बाध्यकारी स्थिति देखापर्ने रहेछ । तपाईंले भनेको जस्तो उभिन तयार भएनन् । त्यो स्थिति नै नबन्ने रहेछ । अब नेताहरु फाल्छौं हामी आउँछौ भन्ने जस्ता कुरा कहिलेकाँही हुन्छन् । यी भनाईहरु मात्र हुन् । नेतृत्व निर्माण प्रकृयाले निश्चित कोर्ष निर्माण गर्छ । एकाएक कुनै नेतालाई घोेक्रेठ्याक लगाएर अर्काे नेता आउँछ भन्ने नहुने कुरा रहेछ । त्यस्तो गर्नको लागि हामीले विशुद्ध लोकतान्त्रिक निर्वाचन पद्धतिमा पार्टीलाई ढाल्नुपर्छ । महाधिवेशन, अधिवेशन निर्वाचनबाट फाल्ने विधि हुन्छ । अर्काे स्वभाविक हस्तान्तरण प्रकृया हुन्छ । यी दुईवटा विधिबाट आउँछ नेतृत्व हस्तान्तरण हुने हो । अहिले नेकपाभित्र लोकतान्त्रिक निवार्चन विधि स्थापित छ । केपी ओलीले नेतृत्व गरेको विधि होस् अथवा प्रचण्ड, माधवले नेतृत्व गरेकोले नै किन नहोस् त्यो विधि पछ्याएनन् भने फेरि पनि पार्टीभित्र थप विग्रहहरु आउँछन् । तपाईंले कानुनी मामिलाबारे जानकार हुनुहनछ । कानुन मन्त्रालय चलाएको पनि अनुभव छ । अदालतसम्म पुगेको प्रतिनिधिसभा विघटनको विषय अब पुनस्थापना हुने सम्भावना कति देख्नुहुन्छ ? यो अदालतको क्षेत्राधिकारको विषय हो । सामान्यत: संविधानका धाराहरु हेर्दा संसद विघटन हुन सक्ने अवस्थाको व्याख्या छ । त्यसैले विघटन हुनै हुँदैन भनेर उभिन सकिँदैन । अब चुनावमा जाँदा ओली र प्रचण्ड–नेपालको मूल एजेण्डा के होलान् ? अस्तिको प्रतिवेदनको सार हेर्दा एउटाले हाम्रो सरकारले केही गरेन त्यसैले हामीलाई भोट देउ भन्नु पर्ने होला । अर्काेले हाम्रो पार्टीले सरकारलाई कुनै सहयोग गरेर फेरि भोट देउ भन्नुपर्ने होला ।मूलतः राष्ट्र समृद्धिको र राष्ट्र निर्माणको एजेण्डा निर्माण गरेर माधव, प्रचण्ड भएपनि केपी भएपनि जनतालाई निराशा होइन आशा बाँडेर जानुपर्ने देखिन्छ । अहिले बनिबनाउ एजेण्डा खासै केही छैन ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया