NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

आजका ‘गुड न्युज’ : मंगलबाट सवारी लाइसेन्सको फारम खुल्ने

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संप्रसित भए । त्यसमा नकारात्मक भाव बोकेका खबरहरूको बर्चस्व थियो । विकृत राजनीतिका खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान ओगटे । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ, ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । नौ महिनापछि सवारी लाइसेन्सको फारम मंगलबारबाट खुल्दै कोरोना महामारीका कारण झन्डै नौ महिनादेखि बन्द सवारी चालक अनुमति पत्र(लाइसन्स)को अनलाइन फाराम मंगलबारबाट खुल्ने भएको छ ।गत चैत ११ बाट देशव्यापी रुपमा लकडाउन भएपछि अत्यावश्यक सेवा वाहेक अनुमतिपत्रको फारमसहित अन्य सेवा पनि बन्द गरिएको थियो । स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालना गर्दै आगामी मंगलबारबाट सवारी लाइसेन्सको अनलाइन फारम खुलाउने यातायात विभागले जनाएको हो । आइतबारदेखि लागू हुनेगरी घट्यो ब्रोकर कमिसन नेपाल धितोपत्र बोर्डले आइतबारदेखि लागू हुने गरी ब्रोकर कमिसन घटाएको छ । शुक्रबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले ब्रोकर कमिसन घटाउने निर्णय गरेको धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताए । नयाँ कमिसन दर अनुसार संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजार भन्दा माथि ५ लाख सम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख भन्दा माथि २० लाख रुपैयाँ सम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.७ प्रतिशत कमिसन लाग्ने बोर्डले जानकारी गराएको छ । त्यसैगरी, सरकारी तथा संस्थागत ऋणपत्र, सामुहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको खरिद तथा बिक्री कारोबारमा लिँदै आएको शुल्क ५० प्रतिशतले घटेको छ । ग्रामीण पर्यटन प्रवर्दन गर्न होमस्टेलाई एक करोड अनुदान गण्डकी प्रदेश सरकारले बागलुङ जिल्लाका १० सामुदायिक घरबास (होमस्टे)लाई एक करोड रुपैयाँको अनुदान उपलब्ध गराउन थालेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागलुङमा रहेको २८ वटा सामुदायिक होमस्टेमध्ये १० वटा छनोट गरेर पूर्वाधारका लागि अनुदान दिन थालिएको हो । ग्रामीण पर्यटन प्रवर्दनमा होमस्टेलाई व्यवस्थित गराउनका लागि आर्थिक वर्ष ०७७ र ०७८ मा जिल्लाका ती होमस्टेले एक करोड रुपैयाँ अनुदान पाएका हुन् । कोरियाले आगामी वर्ष ५२ हजार कामदार लैजाने दक्षिण कोरियाले आउँदो वर्ष सन् २०२१ को लागि नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लैजाने भएको छ । दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले आगामी वर्षका लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको हो । यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि तोकिएको छ । नक्साल तरकारी बजारमा क्यूआर कोडमार्फत् भुक्तानी सेवा सुरु राजधानीको नक्सालस्थित नक्साल तरकारी बजारमा किनमेलका लागि पुग्नेहरूले अब पैसा नगद बोक्नैपर्ने झन्झट हटेको छ । अब मोबाइल छ, बैंक खाता लिंक गरिएको छ भने डिजिटल भुक्तानी गर्न सकिन्छ । तरकारी बजारमा पसलैपिच्छै क्यूआर कोड छन्। उक्त कोड स्क्यान गरेर भुक्तानी गर्न सकिन्छ। नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा सञ्चालनमा ल्याइएको सेवाको शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुभारम्भ गरे ।

ताजा अपडेट

नेपालवाच विशेष