जंगबहादुर बन्न सजिलो छैन

काठमाडौं । अचेल कतिपय मानिसहरू भन्ने गर्दछन्–यो देशमा फेरि एउटा जंगबहादुर चाहिएको छ । आजको जमानामा जंगबहादुर चाहिन्छ भन्न सहज छ , तर पाउन र बन्न कठिन । जंगबहादुर बन्न हदैसम्मको चलाख र धूर्त हुनु आवश्यक छ । जंगबहादुर बन्न आफ्नो चित्त नबुझ्दा क्रोधित हुँदै कास्कीका राजाको सेवा छाडेर गोरखाका राजाको सेवामा जान किञ्चित नमान्ने अहिराम कुँवरको सन्तान हुनुपर्छ । जङ्ग बहादुर बन्न स्वामी राजा मार्ने राजकुमार शेरबहादुर शाहीलाई ठाउँका ठाउँ चटक्क गिड्ने हिम्मत राख्ने ‘बाले’को छोरो ‘वीरे’ भएर जन्म लिनुपर्छ । जंगबहादुर बन्न जुवा खेलेर सर्वस्व गुमाउन धक नमान्ने नवयुवक हुनुपर्छ । जंगबहादुर बन्न बहुला हात्ती नियन्त्रण गर्न, जिउँदो बाघ समात्न र हाडखोरले भरिएको इनारमा हाम फाल्ने जोस चाहिन्छ । आफ्नो स्वार्थ पूरा हुने ठहरे राजाले दिएको तुलसीपत्र आकारको ‘तेरो हत्या कहिल्यै गरिने छैन’ भनिएको अभयपत्रको जन्तर भिरेर शानसँग हिड्ने बहादुरीका प्रतीक आफ्नो साख्खै मामा प्रधानमन्त्री माथवरसिंह थापालाई तिनै राजाको सामुन्ने गोली हानेर ढाल्ने भान्जो भएर जन्मनु पर्दछ । जंगबहादुर बन्न राजालाई आजीवन थुनेर राख्ने हिम्मत चाहिन्छ । लखनौको विद्रोह दमन गर्न खटाइएका फौजमा जान इन्कार गर्ने सिपाही चन्द्रवीर कुँवर ( दशनामी सम्प्रदाय ) लाई काट्न लगाई टाउको टुंडिखेलको रुखमा झुन्ड्याएर ‘हुकुम तामेली नगर्नेको यस्तै गति हुन्छ’ भनी देखाउन सक्ने हृयहीनता चाहिन्छ । दरबारिया गुरु विजयराजले ‘भण्डारखालमा तिम्रो हत्या गर्ने प्रपन्च भएको छ’ भनेर पोल खोल्दा ‘यो कुरा ठीक ठहरे सन्तान दरसन्तान राजगुरु हुनेछौ’ भनी धाप मारे । भन्डारखाल षडयन्त्रमा संलग्न वीरध्वज बस्नेत र बापवैरी साध्न उद्यत् गगनसिंहका छोरा बजीरसिंहलाई सोत्तर पारे । राजाको पोल खोल्ने गुरु विजयराज पाण्डेलाई उल्टै सन्तान दरसन्तान उनै राजाको गुरु बनाइदिए । दरबारमा काम गर्ने पुतली नानीलाई प्रेमिका बनाई दरबारकै जासुस बनाए । पछि पुतलीलाई विवाह गरी महारानी तुल्याए । भण्डारखाल पर्वमा जिल्लिएकी रानी लक्ष्मी देवीलाई पक्राउ गरी गहनागुरिया र केही रकम लिएर काशी जाने आदेश दिए । भयभीत रानी छोराहरू समेत लिएर जान तयार भइन् । स्त्रीमोहले ग्रसित राजा राजेन्द्र जंगबहादुरसँग डराएर ‘म पनि काशी जान्छु’ भनी कान्छी रानीको सकल परिवार साथमा लिएर काशीतर्फ लागे । जंगबहादुरको दुर्दिनको बखतमा जेठी पत्नी प्रसादलक्ष्मी उपचारको अभावमा एक महिने शिशु भीमजङ्गलाई टुहुरो बनाई परलोक भइन् । तिनै ज्येष्ठ पुत्र भीमजङ्गले आफ्ना बाबुको सुदिनको समयमा आफूलाई जगतजङ्ग, जीतजङ्ग आदि भाइहरुलाई भन्दा सानो दर्जा दिएको भनी सिकायत गर्दा बाबुछोराबीच भनाभन भयो । रिसाहा जंगबहादुरले मुख खेलाएको आरोप लगाउँदै निर्घात कुटपिट गर्दाछोरा मरे । पत्नी परलोक भई बिधुर हुन पुगेका नवयुवक जंगबहादुर साली माग्न जाँदा ससुरा प्रसादसिंह बस्नेतले ‘तिमी कङ्गालले मेरी छोरी पाल्न सक्दैनौ’ भनी अपमान गरे । अपमानको ज्वालामा जलेका जंगबहादुरले आफ्नो चकचकीको समयमा ती सालीलाई थुतेर ल्याइ पत्नी बनाए । सालीको पूर्वपतिलाई जारी तिरेर जंगबहादुर शक्तिमा आएपछि उनमा आफूलाई राजखान्दानको सन्तान रहेको देखाउने सनक चल्यो । उनले आफू महाराणा प्रतापको खलकको राजपुत भएको भनी प्रमाण समेत बनाए । राजाबाट ‘तँ र तेरा दाजुभाइहरुलाई राणाजीको जात दिन्छु । अब उप्रान्त राणाजी भयौ ।’ भनेर लेखाएर लिए । एक समय आफै नेपालको राजा हुन तम्सिएका जंगबहादुरले त्यो हिम्मत जुटाउन नसके तापनि आफ्ना सन्तानलाई नेपालको राजा तुल्याउन सफलता प्राप्त गरे । उनले आफ्नी छोरीको विवाह युवराज त्रैलोक्य विक्रम शाहसँग गरिदिए । युवराज अवस्थामै दिवङ्गत भएका त्रैलोक्यका छोरा राजा पृथ्वी वीर विक्रम शाह जंगबहादुरका नाति, त्रिभुवन पनाति र महेन्द्र खनाति हुन् । उनले आफ्ना छोराहरु जगतजङ्ग र जितजङ्गको विवाह राजा सुरेन्द्रकी छोरीहरुसँग गरिदिए । राजाबाट सन्तान दरसन्तान कास्की र लमजुङको राजा हुन पाउने लालमोहर लिएर श्री ३ महाराजको पदवी लिए । जंगबहादुरले आफैले कोतमा हत्या गराएका तत्कालीन प्रधानमन्त्री फत्तेजङ्गशाहकी बहिनी विवाह गरे । जङ्गका दर्जनौं रानी र भित्रेनी थिए । उनी नेपालका सुदूर गाउँसम्म सुन्दरी खोज्न भनी कर्मचारीहरुलाई आदेश दिन्थे । आफ्ना भाइ छोरालाई ठाउँठाउँका राजपरिवारका सुन्दरी कन्याहरु खोजीखोजी विवाह गर्न प्रोत्साहित गर्दथे । लफङ्गो र अभर खालको जुवाडे जंगबहादुर कसरी नेपालको राजनीतिक इतिहासको चम्किलो तारा बनेर उदाउन सफल भए ? आश्चर्यलाग्दो कुरा हो । पृष्ठभूमिमा अनेकौं कारण भए तापनि उनको अभ्युदय हुनुको तत्कालीन कारण अस्थिर, कमजोर, निर्दयी र कायर राजा राजेन्द्र नै हुन् । भक्त र आज्ञापालक भाइहरु, उच्च मनोबल, जोखिम मोल्ने भयानक हिम्मत, सुदृढ अठोट, अदम्य महत्वाकांक्षा र दुर्दमनीय आँट उनलाई सफल बनाउने कारकतत्व हुन् । भीमसेन थापाले दुई वर्षका दूधे बालक मारेर पनि शत्रुको जरो नाश गर्न सकेनन् । किन्तु जङ्ग बहादुरले सम्भावित सारा शत्रुहरुलाई उठ्नै नसक्नेगरी निर्मम दमन गरे । पजनीको बेला पारेर शङ्कास्पद सारा कर्मचारीलाई झार उखेलेर फाले झैँ मिल्क्याए । तर विडम्बना ! उनका भतिजाहरुले उनकै सन्तानलाई कहिल्यै सत्ता र शक्तिको नजिक जान नसक्नेगरी स्वाहा पारिदिए । राजनीति शत्रुविहीन हुनै सक्तैन । टाढाकोले नसके घरमै शत्रु पैदा हुन्छ भन्ने कुरा सत्य ठहरियो । सुगौली सन्धिपछिको परिस्थितिमा दक्षिण एसियामा अंग्रेजको जगजगी कायम हुँदै गयो । उत्तरी छिमेकी कमजोर हुँदै गएको हुँदा क्षेत्रीय शक्तिसन्तुलन समेत खलबलिन पुग्यो । वृहत् भारतभूमिमा बलियो खुट्टा टेकेर ठिङ्ग उभिएको अंग्रेजी शक्तिको सामुन्नेमा सार्वभौमसत्तासम्पन्न नेपाललाई जोगिन कठिन हुँदै थियो । जंगबहादुरले यो वास्तविकतालाई स्वीकार गर्दै नेपालको पुरानो सैनिक छविलाई तिलान्जली दिएर कूटनीतिक छवि कायम गर्ने नीति लिए । लडेर होइन फकाएर, थकाएर, स्तुति गरेर र उस्तै परे हैरान खेलाएर अंग्रेजी शक्तिलाई ठिक्क दूरीमा राखे । कोतमा सारा भारदार सखाप पारेर , भण्डारखालमा बचेखुचेका वैरी र रानी राज्यलक्ष्मीलाई ठेगान लाएर र अलौमा राजा राजेन्द्रलाई पक्राउ गरेर ‘शाही कैदी’ तुल्याई आफ्नो ‘पोजिसन’ बलियो बनाएका थिए उनले । राजालाई गद्दीच्युत गरी युवराज सुरेन्द्रलाई गद्दी चढाएर कठपुतली बनाएपछि जङ्ग बहादुरको आन्तरिक राजनीति पूर्णतः अकण्टक भयो । फिरङ्गीलाई लडेर जित्न असम्भव छ भन्ने थाहा थियो । तथापि तर्साउने तरिका भने जान्दथे जङ्ग बहादुर । सन १८४८ मा अंग्रेजÞहरु शिख युद्धमा ‘इन्गेज’ भएको मौका छोपी सिकार खेल्ने निहुले हजारौं सैनिक लिएर तराई सीमातिर मोर्चा कस्न पुगेका थिए उनी । जंगबहादुरको इरादा झस्काउने मात्र थियो । उनको त्यो गतिविधि देखेर अंग्रेजÞहरुका कान ठाडा भएका थिए । जंगबहादुरलाई सुगौली सन्धिअघि युद्धको समयमै जनरल अक्टरलोनीले गोर्खा रेजिमेमेन्ट गठन गरेको घटना थाहा थियो । जनरल अमरसिंह थापा काली तरेर वारी फर्केपछि पश्चिमी मोर्चामा खटिएका सैनिकहरु अङ्ग्रेजी फौजमा भर्ना हुन गएको कुरा थाहा थियो । उनलाई आफ्ना नजिकका स्ववंशी भलभद्र कुँवर नालापानीको किल्लाबाट निस्केर शिख सेनामा पुगेको कुरा थाहा थियो । अंग्रेज र शिखबीचको अन्तिम युद्धमा अंग्रेजÞ र शिख दुबैतर्फबाट लड्ने पनि गोर्खाली नै थिए भन्ने थाहा थियो । जंगबहादुर बडो जिज्ञासु व्यक्ति थिए । एउटा व्यापारिक कम्पनीले भारतका सयौं स्वतन्त्र राज्यहरूलाई निल्न सक्नेको देश झन कस्तो होला ? बेलायती समाज, संस्कृति, धर्म, धन, खेती, सडक, सञ्चार आदि कस्तो होला ? विश्वका धेरै देशकी ‘मालिक्नी’ महारानी भिक्टोरिया कस्ती होलिन् ? शासन व्यवस्था कस्तो होला ? ठूलो कौतुहल थियो उनमा । अन्ततः जंगबहादुर आफू शक्तिमा आएको चार वर्षपछि १२ जना उच्चपदस्थ अधिकारी र २६ जना सहयोगी लिएर बेलायततर्फ प्रस्थान गरे । मणि माणिक्यले झकिझकाऊ भएर बेलायत पुगेका उनको इरादा आर्थिक सहायता र सहानुभूति लिनु थिएन । उनले त्यहाँ रानी, कर्मचारी र वेश्यालाई समेत मूल्यवान उपहार, गरगहना र लाखौं नगद बाँडे । उनको भित्री मकसद फिरङ्गीको शक्ति बुझ्ने थियो । उनीहरूको अगाडि नेपाली शान देखाउने थियो । प्रभाव पारेर नेपाल हाम्रो सच्चा मित्र हो र नेपाल सर्वभौम रहनुपर्छ भन्ने महसुस गराउने थियो । सुगौलीमा कलकत्ताले दिएको घाउमा लण्डनको मलम लगाउने आशा थियो । जंगबहादुरले लण्डनको सत्तासँग इस्ट इन्डिया कम्पनीले नेपाल राज्यलाई साह्रै दपेटेको गुनासो गरेका थिए । उनले सन्धिमा गुमेको भूमि फिर्ता गरेर सच्चा मित्रताको परिचय दिन अनुरोध गरे । तर सुनुवाइ भएन । यति हुँदा पनि जङ्ग बहादुर माया मारेर बस्न तयार भएनन् । असम्भव भनेर दुत्कारमय उत्तर पाउँदा पनि अनवरत प्रयत्न गरिरहनु सानो कुरा थिएन । अब सकिएन भनेर नीच मारेर बसेको भए पश्चिम तराई कसरी फिर्ता हुँदो हो ? कूटनीतिमा सम्भव चिज गुम्न सक्छन र असम्भव कुरा प्राप्त हुन सक्छन् भन्ने ज्ञान अपठित र मूर्ख मानिएका जंगबहादुरलाई कसरी भयो ? आश्चर्य लाग्छ । बेलायत भ्रमणकै समयमा फ्रान्स पुगेका जंगबहादुरले एक लाख सेनाको परेड हेर्ने माग गरे । त्यो मार्चपास हेर्ने रहर र लहड मात्र थिएन । त्यो थियो अंग्रेजÞको चिर दुश्मन फ्रान्समा गएर अंग्रेजलाई सचेत गराउने भिन्न प्रकारको कूटनीति । युरोपमा नेपालको प्रधानमन्त्रीको मनसुवा देखाउने र नेपाल चिनाउने तरिका थियो त्यो । युरोप भ्रमणबाट जंगबहादुर बहुतै प्रभावित भए । तर उनलाई थाहा थियो , नेपालमा युरोपेली चलन कायम गर्न खोजियो भने टिकिखान पाइने छैन । बेलायती शक्तिलाई नजिकैबाट नियालेका उनले निहु खोज्नेभन्दा सकेसम्म फाइदा लिने नीति अख्तियार गरेका थिए । महारानी एलिजावेथसँग हात मिलाएर ‘हिज एक्सिलेन्सी’ को सम्बोधन प्राप्त गरेका उनलाई बेलायतबाट फर्केर आएपछि आफ्नै भाइहरुले फसादमा पारे । बेलायत पुगेर जात फालेको , गोरी गणिकाहरुसँग रमाइलो गरेको र धेरै रकम उडाएको आरोप आइलाग्यो । भाइ बद्रीनरसिंह र बम बहादुर समेतको संलग्नतामा जंगबहादुरलाई मारी सुरेन्द्रलाई गद्दीच्युत गरेर उपेन्द्रलाई राजा बनाउन , बमबहादुर श्री ३ हुने र बद्री कमान्डर इन चिफ हुने योजना रहेछ । तर त्यो गुप्त योजनाको रहस्योद्घाटन बमबहादुरबाटै हुन गयो । जङ्गले राजकुमार उपेन्द्र, भाइ बद्री र करवीर खत्रीलाई भारतको इलाहावादमा थुन्न पठाए । आफ्नो फाइदाका लागि आफ्नो देशका अभियुक्तलाई विदेशको जेलमा थुन्न पठाउने जङ्ग बहादुर र मानव अधिकारको दुहाई दिने अंग्रेजले अर्कै देशको भूमिमा सोही देशको कानून उल्लङ्घन गर्ने व्यक्तिलाई आफ्नो देशमा थुन्न राजी हुने साँठगाँठ आश्चर्य लाग्दो घटना हो । केही समय उता थुनिएर फर्केका राजकुमार उपेन्द्र साह्रै निराश भए । प्रतिकार गर्ने केही उपाय थिएन । उनी जोगी भए ।उनी यहाँ बसेर अपमान सहनुभन्दा काशी जानू ठीक भन्दै काशीवास गर्न गए । साह्रै ठेलाइमा परेर दिक्क भएका राजा सुरेन्द्रले पनि एक समयमा गद्दी त्यागेर काशी जाने विचार गरेका थिए । युद्ध बिर्सेर बसेको नेपालले जंगबहादुरको समयमा तिब्बतसँग सानो लडाइँ गरेको थियो । सुरुमा राम्रै सफलता हासिल गरी कुती–केरुङ कब्जा गरे पनि पछि तिब्बतीहरुलाई फिर्ता गरे । त्यो युद्धको समाप्ति थापाथलीको सन्धिमार्फत भएको थियो । सन्धिमा तिब्बतले नेपाललाई वार्षिक दश हजार दिने कबुल भए तापनि एक किस्ताभन्दा बढी तिरेन । त्यो युद्ध लोकप्रिय भएन । सिपाहीहरुले सवाइ बनाएर गाउन थाले । जंगबहादुर अनेक नाटक गर्न पनि सिपालु थिए । सन १८५६ को जुलाइमा उनले अकस्मात आफ्नो पदबाट राजीनामा दिए । राजासमेत अचम्म परेको त्यस घटनाको भित्री इरादा त झन ठूलो पदवी पाउने पो रहेछ । ६ अगस्टका दिन राजाले कास्की र लमजुङको राजा र महाराजको पदवीले विभूषित गरेपछि मात्र जङ्गको चित्त बुझ्यो । शक्तिको पदमा रहेका जंगबहादुर राजीनामा दिएकोमा नराम्रोसँग पछुताए । २५ मे १८५७ मा बमबहादुरको निधन भएको हुँदा उनी पुनः प्रधानमन्त्री बने । जंगबहादुर शक्तिको हिसाबले राज्यका सम्प्रभु थिए । तर उनमा पदकै सम्प्रभु अर्थात देशको राजा बन्ने इच्छा थियो । इस्ट इन्डिया कम्पनीका तत्कालीन गभर्नर जनरल लर्ड डलहौजीले भनेका थिए, ‘जंगबहादुरले कुनै न कुनै दिन नेपालको राजा हुने प्रयत्न गर्नेछन् । उनी या त राजा बन्नेछन् या आफै काटिने छन् ।’ जङ्गकै छोरा पद्मजङ्गले भनेका थिए, ‘राजगुरु विजयराज पाण्डे एक प्रतिनिधिमण्डल लिएर जंगबहादुरलाई गद्दी स्वीकार गर्न अनुरोध गर्न पुगेका थिए ।’ सन १८५७ मा भारतमा इस्ट इन्डिया कम्पनी विरुद्ध विस्फोट भएको विद्रोहले विकराल रुप धारण गर्यो । चार दशकअघि भीमसेन थापाले एकताको आह्वान गर्दा नसुन्ने केही भारतीय रजौटाहरु सिङ फुक्लेर शक्ति क्षीण भएपछि होसमा आएका थिए । विद्रोहीहरुले प्रशस्त रकम दिने मात्र नभई लखनौको राजा बनाउने लोभ देखाउँदै जङ्ग बहादुरसँग सैनिक सहयोगका लागि अनुरोध गरे । दरबारमा बैठक बस्यो । चालीस वर्षअघि भावुक राष्ट्रवाद प्रेरित बैठकमा पाका सेनापति र भारदारहरु युद्ध टार्ने पक्षमा बोल्दा प्रधानमन्त्री भीमसेन थापा तत्काल युद्धको पक्षमा थिए । यसपालीको बैठकमा भावुक राष्ट्रवाद विद्रोहीको पक्षमा सैनिक सहयोग गरी अंग्रेजÞ लखेटेर दक्षिण एसियाको ठूलो शक्ति बन्ने सपनामा रम्यो । प्रधानमन्त्री जंगबहादुर एक्लो परे । अंग्रेजÞको शक्तिलाई नजिकबाट बुझेका उनले भनेका थिए, ‘हामीले सहयोग गर्यौं भने केही समयका लागि विद्रोही सफल हुनेछन् । तर छ महिनापछि बेलायतबाट वृहत् सैनिक शक्ति आएर निर्मम दमन गरी फेरिकब्जा गर्नेछ । यस्तो अवस्थामा हामी बढीमा दुई या तीन वर्ष टिक्न सफल होउँला, किन्तु अन्ततोगत्वा अंग्रेजले हाम्रो मुलुक खाइछाड्नेछ ।’ त्यो परिस्थितिमा भीमसेन थापा भए के गर्दा हुन् ? पाण्डेहरु भए के गर्दा हुन् ? नेपाल देशको अस्तित्व आजको परिदृश्यमा कुन नक्सामा अङ्कित हुँदो हो ? जति विरोध गरे तापनि जंगबहादुरको तर्कको अगाडि कोही टिक्न सकेन । १८५७ को जुलाईमा नेपाली सेना कम्पनी सरकारको सहयोगार्थ सुगौलीको बाटो हुँदै प्रवेश गर्यो । जंगबहादुर १० डिसेम्बर १८५७ का दिन ९ हजार सैनिक साथमा लिएरकाठमाडौंबाट प्रस्थान गरे । प्रस्थान गर्नुअघि उनले अंग्रेजÞको पक्षमा लाग्नुपर्दाको कारणबारे भावुक र तर्कपूर्ण बिदाइभाषण गरेका थिए । नेपाली सेना गोरखपुरदेखि वद्रोहीको दमन गर्दै लखनउ पुगेको थियो । ११ मार्च १८५८ मा लखनउ पुगेको जंगबहादुरको सेनाले तीन दिनमा विद्रोहीको दमन गर्यो । तर अचम्मको कुरा के थियो भने जङ्ग बहादुर निरन्तर विद्रोहीहरुको सम्पर्कमा थिए । उनले विद्रोहीभित्रैका मानिसलाई आफ्नो जासुस बनाउन भ्याएका थिए । यही कुराको चाल पाएर होला गभर्नर जनरल लर्ड क्यानिङकी पत्नीले काठमाडौंस्थित रेजिडेन्ट हड्सनकि पत्नीलाई पत्र लेखेकी थिइन्, ‘तिमी यी गोरखालीहरुलाई आफ्नो लोग्नेलाई जस्तै प्रशंसा गर्छ्यौ । तर म तिमीलाई विश्वास दिलाउन चाहन्छु , यिनीहरू झन्डैझन्डै विद्रोही जस्तै छन् ।’ नेपाली सिपाहीहरुले लखनउमा खूब लूट मच्चाए । भनिन्छ, सुन मात्र चिन्ने नेपाली सिपाहीले सुनको धागोमा उनिएका मोतीका दाना फालेर सुनको धागो मात्र बगलीमा घुसारेका थिए । यही घटनालाई लिएर त हो ‘लखनउ लुट’ उखान प्रसिद्ध भएको । यो महान तर विवादास्स्पद काज फत्ते गरेर बनारस हुँदै पाँच महिनापछि मे ४ का दिन जंगबहादुर काठमाडौं फर्के । यो सहयोग गरेबापत नेपालले सुगौली सन्धिमा गुमाएको पश्चिम तराईको जमिन फिर्ता पायो । नयाँमुलुक नामले प्रसिद्ध उक्त भूमी नै हालका बाँके , बर्दिया , कैलाली र र कन्चनपुर जिल्ला हुन् । यो भूमि जंगबहादुरको आर्जन हो । तर उनी यस उपलव्धिबाट कदापि सन्तुष्ट भएनन् । उनको दावी हालको लखिमपुर र सोको पश्चिमसम्म थियो । जंगबहादुर नापी गरी सीमा निर्धारण भएपछि मात्र सम्झौता गर्न मन्जुर भएका थिए । उनले सीमा नापीका बखत पनि सकेसम्म बढी भूमि हात पार्न निकै प्रयत्न गरेका थिए । उल्लिखित भूमि फिर्ती सम्बन्धी सन्धिमा १ नोभेम्बर १८६० का दिन नेपालका राजा र ब्रिटिश रेजिडेन्टले दस्तखत गरेका थिए । सुगौलीले दिएको घाउमा यो ठूलो मलम थियो । तर कुरा यत्तिमा टुङ्गिएन । पराजित हजारौं विद्रोहीहरु दमनकर्ता जंगबहादुरको भूमिमै शरण लिन आए ।यो मामिला नेपालका लागि अत्यन्तै गम्भीर थियो । हामीले आफ्नो धर्म र भूमि जोगाउन विद्रोह गरेका हौं । तिम्रो शरणमा आएका छौँ । शरण देऊ या मार तिम्रै हातमा छ । भन्ने शरणार्थीहरुको लाचारीप्रति जङ्गको पूर्ण सहानुभूति थियो । तथापि अंग्रेजÞलाई भड्किन दिने अवस्था पनि थिएन । करिब दुई वर्षसम्म लम्बिएको शरणार्थी समस्याबाट पार पाउन आफै खटिएर गए जङ्ग बहादुर । अंग्रेजÞ फौज पनि प्रवेश गरेर दमन गर्यो । जंगबहादुरको विदेशनीतिको विरोध गर्ने अन्य कुनै शक्ति थिएन नेपालमा । तर राष्ट्रिय स्वाधीनता बेचेको भनी तत्काल पाल्पाको तैनाथवाला भएर बसेका उनै भाइ बद्रीनरसिंहले विरोध गरेका थिए । सरकारको बागडोर हातमा लिएको शक्तिलाई देश बेचुवाको आरोप लगाउने चलन पुरानो हो । जंगबहादुरको युग युद्धको युग थियो । तर नेपालको हकमा सो युग समाप्त भएको चार दशक नाघिसकेको थियो । नेपालको तीन दिशामा मित्र मान्नु पर्ने, तर नजिक राख्न नमिल्ने, ठूलो मानिदिनु पर्ने तर लघुताभास प्रदर्शन गर्न नमिल्ने, नरम हुनुपर्ने तर नतमस्तक हुन नमिल्ने खतरनाक छिमेकी थियो । जंगबहादुरले अंग्रेजÞलाई नेपालमा निम्तो दिए ‘छिर्न’ दिएनन् । प्रशंसा गरे हेप्न दिएनन् । बलियो वैरीसँग सन्तुलित सम्बन्ध राख्न कठिन थियो । सानो भूल गरे मात्र देशै निल्न सक्ने ठूलो नाग जस्तो छिमेकीलाई ठेगानमा राख्न कति कठिन हुन्छ भन्ने कुरा उस बखत पनि सत्य थियो र आज पनि सत्य छ । तथापि उनी सार्वजनिक रुपमा इज्जत दिने र एक्लै भेट हुँदा मजाले फट्कार्ने खूबी राख्दथे । नेपालको कुनाकन्दरा घुम्न चाहना गर्ने रेजिडेन्टलाई उनले भनेका थिए, ‘सिक्किमले पहाड हिमाल घुम्न दिँदा ग्रामीण मानिसले गोरालाई मारिदिए । त्यही निहुमा तिमीहरूले सिक्किमको तराई निल्यौ । यहाँ पनि त्यस्तो घटना नहोला भन्ने के ग्यारेन्टी छ ? तिमी सिंह हौ भने हामीबिरालो । बिरालोले बढीमा चिथोरेर घाउ बनाउनेसम्म हो । सिंहले त सर्लक्कैनिलिदिन्छ । तिमी बलिया छौ । चाहे हामीलाई खान सक्छौ । बरु खाऊ , तर हेप्ने कामनगर ।’ यो हदको हिम्मत राख्थे जंगबहादुर । जंगबहादुरको नजिक बसेर पनि आवश्यक दूरीमा रहन सक्ने ‘शानदार पार्थक्य’ (स्प्लेन्डिड आइसोलेसन ) थियो त्यो ।आज समय बदलिएको छ । आज नेपालमा हुकुम फिराएर शासन गर्ने जमाना छैन । वर्तमान नेपालमा राजाका प्रजा र जङ्ग बहादुरका रैतीको बसोवास छैन । आज एक्लै आँट गरेर विदेशीलाई फकाउने, गलाउने र युद्धबिना ठेगान लाउने जंगबहादुर पाउन कठिन छ । अहिलेका छिमेकीहरु पनि भिन्न रुपमा फिरंगीकै नयाँ संस्करण जस्तै छन् । बरु एक कदम अगाडि होलान् । आजको समयमा जंगबहादुर जस्तै चलाख, अवसरवादी, आँटिलो र धूर्त राजनेता पाउन सहज छैन । तथापि त्यस्तै प्रतिभाशाली, तेजिलो, प्रतापी र जोखिम मोल्ने हिम्मत भएको मानिस जन्म्यो भने के गर्ला ? यसको छिनोफानो गर्ने जिम्मेवारी पाठकहरुमै छाडेको छु ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया