NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

ओलीको कदमविरुद्ध १६५ निर्वाचन क्षेत्रमा आज कांग्रेसको विरोध प्रदर्शन

काठमाडौं । विघटित प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै विरोधमा आज १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ । ५ पुसमा प्रधानमन्त्री केपी ओलीले हठात प्रतिनिधिसभा विघटन गरेको भन्दै कांग्रेसले अलोकतान्त्रिक कदमविरुद आज दिउसो १ बजे एकैपटक देशभरका निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्न लागेको हो । सहमहामन्त्री डा. प्रकाशशरण महतले देशैभर एकैपटक प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध विरोध प्रदर्शन हुन लागेको जानकारी दिए । ‘संसद विघटनलगत्तै पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले प्रधानमन्त्रीको कदम असंवैधानिक र लोकतन्त्रविरोधी रहेको हाम्रो निष्कर्ष थियो’ महतले नेपालवाचसँग भने, ‘पार्टीमा छलफलपछि केन्द्रीय समितिले यो कदमकाविरुद्ध देशैभर प्रदर्शन गर्ने निर्णय गरेपछि हामीले आज एकैसाथ ओलीको प्रतिगामी कदमविरुद्ध विरोध प्रदर्शन गर्न लागेका हौं ।’ विरोध प्रदर्शनमा प्राय: नेताहरु आ–आफ्ना जिल्ला र क्षेत्रमा खटिनेछन् । तर सभापति शेरबहादुर देउवा भक्तपुरमा हुने विरोध कार्यक्रममा सहभागी हुनेछन् । नेता रामचन्द्र पौडेल तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र २ दुवैका विरोध कार्यक्रममा सहभागी हुने उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । विरोध कार्यक्रममा सहभागी केन्द्रीय सदस्य शंकर भण्डारी र प्रदीप पौडेल पनि तनहुँ पुगिसकेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष