प्रतिनिधिसभा पुनस्थापना नभए अबका सरकारको आयु दुई वर्षमात्रै

५ पुसमा झण्डै दुई तिहाई मत भएका प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गराएपछि मुलुक संवैधानिक र राजनीतिक संकटमा छ । विघटनसँगै प्रधानमन्त्री केपी ओलीले निर्वाचनको घोषणा गरेका छन् । तर, संविधानमा व्यवस्था नै नभएको व्याख्या गर्दै ओलीले कदम चालेको भन्दै यसविरुद्ध अदालतसम्म मुद्दा पुगेको छ । सत्तारुढ नेकपाबाटै ओलीको कदमको तीव्र विरोध भएको छ । साथै, प्रतिपक्षी कांग्रेसले पनि ओलीबाट असंवैधानिक कदम चालिएको भन्दै प्रतिवाद गरिरहेको छ । यसै प्रतिवाद स्वरुप आज कांग्रेस १६५ वटा निर्वाचन क्षेत्रमा सरकारको कदमविरुद्ध प्रदर्शनमा उत्रिदैंछ । यसै सिलसिलामा नेपालवाचका लागि रमेश सापकोटाले कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलसँग गरेको कुराकानीप्रधानमन्त्री केपी ओलीबाट हठात प्रतिनिधिसभा विघटन भएपछि कांग्रेसले सुरुमैं जति विरोध गर्नुपर्ने थियो त्यति गरेन भनेर आलोचना भइरहेको छ नी ? सैद्धान्तिक रुपमा पदाधिकारी र र पूर्व पदाधिकारीको बैठकले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनेको छ । पदाधिकारीको संरचना कुनै पार्टीको वैधानिक संयन्त्र होइन तर, शीर्ष नेताहरु रहने यो फोरमले असंवैधानिक र अलोकतान्त्रिक हो भनेर निर्णय गरेपछि कांग्रेस ओलीको कदमविरुद्धमा छ भन्ने प्रष्ट भएकै थियो । पार्टीले असंवैधानिक भनिसकेपछि त्यसविरुद्ध विरोधको स्वरुप कस्तो हुने भन्नेमा पार्टीको केन्द्रीय समितिको बैठकमा बहस भए । एकथरी केन्द्रीय सदस्यले अदालतमा गएपछि कडा आन्दोलननमा नजाउ पर्खौ र हेरौं भनेका हुन् । तर धेरैले पार्टीले असंवैधानिक र अलोकतान्त्रिक कदम भनिसकेपछि कडा विरोधमा जान अलमल नगरौं भनेका हुन् । यसैबीच हामीले १६५ वटै निर्वाचन क्षेत्रमा विरोध र प्रदर्शन गर्न लागेका हौं । देशभर एकैपटक विरोध कार्यक्रम भएपछि कांग्रेस ओलीको कदमविरुद्धमा छ भन्ने प्रष्ट भएको छ । यसपछि पनि हामी सरकारको गलत कदमविरुद्ध उत्रिनुपर्छ । तर, प्रतिनिधिसभा विघटनलगत्तै के गर्ने भन्नेमा कांग्रेसमा अलमल भएको त हो नी । की अदालतको फैसला कुरौ भन्ने लागेको हो ? व्यक्ति विशेषमा त्यो खालको अलमल हो । तर, राजनीतिक रुपमा प्रधानमन्त्रीको कदम असंवैधानिक, अलोकतान्त्रिक, संविधानवादका विरुद्ध हो भनिसकेपछि कुन व्यक्तिले के भने भन्ने कुराले मात्रै अर्थ राख्दैन । असंवैधानिक भनिसकेपछि ओलीको सनकविरुद्ध पार्टीको सिंगो शक्ति एक भएर लड्नुपर्छ । किनकी संसदमा दुई तिहाई हाराहारी भएको प्रधानमन्त्रीले संविधानमा व्यवस्था नै नभएको कदम चाल्नु भनेको विधि, पद्धति र व्यवस्थाको विरुद्ध हो । चरम राजनीतिक अपराध हो । कांग्रेस जस्तो राणा, राजा, पंचायतसँग लडेको पार्टीले यस्तो गम्भीर राजनीतिक अपराधविरुद्ध आँखा चिम्लने होइन सशक्त रुपले लड्नुपर्छ । संसद पुनर्वहालीलाई प्रमुख मुद्दा बनाउनुपर्छ । तपाईंहरु संसद पुनर्वहाली पनि भन्नुहुन्छ । तर, १६५ संघीय निर्वाचन क्षेत्रमा एकसाथ विरोध प्रदर्शन गर्नु भनेको निर्वाचन तयारीको सन्देश होइन ? यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने के ओलीले निर्वाचन गराउन यो सबै गरिरहेका हुन् ? दुई तिहाईका प्रधानमन्त्रीले पार्टी फुट्ने जान्दाजान्दै आफ्नो अवस्था दयनीय हुने निर्वाचन गराउँछन् भन्ने कुनचाँहि मूर्खले पत्याउँछ ? आफ्नो पार्टी एक सय प्रतिशत हार्ने चुनाव ओलीले गर्छन् भनेर कसले पत्याउँछ ? पत्याएर कांग्रेस निर्वाचनमा जान्छ ? सँगै हामीले दुई तिहाई नै ल्याउने हो भने पनि ओलीको कदम नसच्चिकन निर्वाचनबारे सोच्नै हुँदैन । होला हामीले दुई तिहाई ल्याउँला । तर, संविधानवाद, लोकतन्त्र, विधि र पद्धतिका लागि लड्ने र यसैलाई आफ्नो मूल आदर्श बनाएको पार्टी कांग्रेस ओलीको नांगो कदमविरुद्ध कसरी सहमत भएर जान सक्छ ? ओलीले गर्न होइन प्रतिक्रियाको लागि मात्रै निर्वाचन तोकेका हुन् । पार्टीमा ठूलो हिस्सा ओलीको कदम असंवैधानिक हो भनिरहेको छ । तर, प्रतिनिधिसभा विघटन विरुद्ध विरोध प्रदर्शन भन्दै गर्दा संसद पुनस्थापन गर भनेर किन भन्न नसकेको होला ? साथै, ओलीको कदमको विकल्प के हो भनेर कांग्रेस जस्तो पार्टीले प्रष्ट नभन्नुले ओलीले जेसुकै गरुन तर निर्वाचनमा जाने हो भन्ने सन्देश गएको होइन र ? फेरि पनि पुनर्वहाली भएर सरकार दिन सकेन भनेर एउटा अवस्था हुन्छ । यत्ति ठूलो राजनीतिक र संवैधानिक प्रश्नको सवाल भएकोले संसद पुनस्थापनाभन्दा अरु प्रक्रिया छँदैछैन । हामीले राजनीतिक अस्थिरताको अन्त्य गर्न पूर्ण कार्यकाल चल्ने गरी स्थिर सरकार हुनुपर्ने आशय संविधानमा राखेका हौं । तर, विघटनमा जान कारण नै नहुँदा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुभयो । यस्तो बेला सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरिदियो पनि राजनीतिक अस्थिरता पुनः सुरु हुन्छ । त्यसपछि नेपालमा दुई वर्षभन्दा लामो समय कुनै सरकार टिक्न सक्दैनन् । बाहिर राजनीतिक रुपमा विरोध गरे पनि भित्री रुपमा सबै नेता नै निर्वाचनको लागि हतारिएका छन् भनिन्छ नी के यो साँचो हो ? कुनै नेताहरुको व्यक्तिगत यस्ता स्वार्थ हुन सक्छन् । तर, कांग्रेस कस्तो चरित्र बोकेको र आदर्श पछ्याएको पार्टी हो भनेर हेक्का राख्नुपर्छ । हामी विधिका लड्यौं । लोकतन्त्रका लागि लड्यौं । गणतन्त्रका लागि लड्यौं । लोकतान्त्रिक मूल्य र मान्यता हाम्रा आदर्श रहँदै आएका छन् । संविधानवादलाई मान्ने पार्टी लोकतन्त्रविरुद्ध कसरी जान मिल्छ ? चुनावको बाकस नै सबै असंवैधानिक कदमको क्षतिपूर्ति होइन । रामचन्द्र पौडेलले चुनाव जित्नुभएको छैन । तर, संसद पुनस्थापनाको निम्ति उहाँको स्वर सबैभन्दा प्रखर छ । यसर्थ असंवैधानिक कदम भनेपछि यो सच्चिनुपर्छ । त्यसपछि निर्वाचनको विषय बेग्लै हो । तर, ओलीमा कति सनक छ भने असंवैधानिक कदम भनेर दुनियाँले भनेको छ । सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ । प्रतिनिधिसभा विघटन भएपनि राष्ट्रपतिले अब तोकेर तिमी कार्यवाहक भयौं भन्नुपर्ने हो । तर, कार्यवाहक पनि नभई उहाँ मन्त्री थपिरहनुभएको छ । संवैधानिक निकायमा नियुक्ति गरिरहनुभएको छ । असंवैधानिक कदम र राजनीतिक रुपमा नांगो छलछाम देख्दा देख्दै हामी निर्वाचन निर्वाचन भनेर हामी दौडन मिल्छ ? निर्वाचन मात्रै भनेर कुद्ने हो भन ओलीले म जे पनि गर्छु भन्ने कदमलाई समर्थन गरेको ठहर्छ । यति धेरै प्रश्न लिएर तपाईंहरु बस्नुभएको छ तर, सडकमा उत्रिंदै गर्दा विरोध प्रदर्शनमा संसद पुनस्थापना नै गर्नुपर्छ भनेर माग हुन्छ की हुँदैन ? नारा लाग्छ की लाग्दैन ? ओलीको कदम असंवैधानिक हो भनेर सच्चाउनुपर्छ भनिसकेपछि सच्चिने उपाय भनेकै प्रतिनिधिसभा पुनस्थापना हो । प्राथमिकतामा नराख्नेले नभन्लान् । तर, ओलीको कदम सच्चिनुपर्छ भनेको नै प्रतिनिधिसभा पुनस्थापना नै हो ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया