NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

नेप्से परिसूचक सामान्य उकालो लाग्दा ३ अर्ब ८५ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो सेयर कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । सेयर बजार उकालो लागेपनि यस दिन कारोबार रकम भने अन्य दिन भन्दा केही घटेको छ । अघिल्लो कारोबार दिन १.९६ प्रतिशत घटेर बन्द भएको नेप्से यस दिन ०.४३ प्रतिशत अर्थात ८.५७ अंक बढेर २००७.२९ विन्दुमा बन्द भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.१४ अंक, फ्लोट इण्डेक्स ०.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ अंक बढेको छ । सोमबार २१४ कम्पनीको ३६ हजार २४५ पटकको कारोबारमा ३ अर्ब ८५ करोड ३ लाख २० हजार रुपैयाँ बराबरको ७४ लाख ९७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आइतबार बजारमा साढे ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । नेप्से परिसूचक यस दिन सामान्य अंक बढेपनि दुई कम्पनीको शेयर नौ प्रतिशत माथि बढेको छ । आज नारायणी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । नारायणीको शेयरमूल्य यस दिन ४१ रुपैयाँ बढेर ४५५ रुपैयाँमा र सेन्ट्रल फाइनान्सको १५ रुपैयाँ बढेर १७१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन राधि विद्युत कम्पनीको शेयरमूल्य ७.५९ प्रतिशत र नेपाल क्रेडिट एण्ड कमर्श बैंकको शेयरमूल्य ६.०१ प्रतिशत बढेको छ । कारोबारमा आएको सिद्धार्थ बैंकको ऋणपत्रको मूल्य सर्वाधिक ७.६० प्रतिशत घटेको छ । यस दिन अन्य कम्पनीहरुको शेयरमूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ । सोमबार कारोबारमा आएका १२ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशत बढेको छ । यता व्यापार उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक २.४६ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ३४ करोड ९१ लाख ८० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन नागरिक लगानी कोष र एनआईसी एशिया बैंकको ३० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष