दाङमा १९ जलाशय निर्माण हुँदै

काठमाडौं । दाङमा चालू आर्थिक वर्ष २०७७ र ०७८ मा १९ नयाँ जलाशय निर्माण हुने भएका छन् । बृहत् दाङ उपत्यका सिँचाइ आयोजना कार्यालय तुलसीपुरका अनुसार दुई क्रमागत र १७ थप नयाँ जलाशय निर्माण हुन लागेका हुन् । कार्यालय प्रमुख राजु आचार्यका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिमा–८, घोराही उपमहानगरपालिकामा पाँच बबई गाउँपालिकामा एक, शान्तिनगर गाउँपालिकामा–तीन र दङ्गीशरण गाउँपालिकामा दुई जलाशय निर्माण हुने भएका छन् । त्यसका लागि तीन करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन भएको उनले बताए । तुलसीपुर उपमहानगरपालिकाका लागि एक करोड ८९ लाख रुपैयाँ, घोराही उपमहानगरपालिकाका लागि ८६ लाख रुपैयाँ, बबई गाउँपालिकामा १० लाख रुपैयाँ, शान्तिनगर गाउँपालिकाका लागि ६८ लाख रुपैयाँ बजेट र दंगीशरणका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । उनका अनुसार तुलसीपुर उपमहानगरपालिका–१ को जम्मुचिरा, वडा नं २ को मनिकापुर कुइरेपानी, ८ को खोटीखोली, वडा नं ११ को हस्नापुर, १४ को अकमी, वडा नं १७ को गेगतिया, वडा नं १८ को पिर्थली कुईरे सोता र वडा नं १९ को दूधेगजेरीमा जलाशय निर्माण गर्न लागिएको हो । त्यस्तै घोराही उपमहानगरपालिका–२ को ज्यामिन सोता, वडा नं २ र ४ मा पर्ने सरेसोता, वडा नं १७ को बर्गदी, वडा नं १७ कै ओखर स्याउली सोता र वडा नं ९ को एकलघरुवा सोतामा पनि जलाशय निर्माण हुने भएका छन् । बबई गाउँपालिका–४ तालगैरा, शान्तिनगर गाउँपालिका–१ गुद्रुगखोला, वडा नं २ को अमुवा र वडा नं ३ को फलाटेखोलीमा तथा दङ्गीशरण–१ बाँघेचिरा र वडा नं ३ को बघिगन्धिमा जलाशय निर्माण हुने भएका हुन् । यीमध्ये केही स्थानमा निर्माण शुरु भइसकेको छ भने केही स्थानमा सर्वेको काम भईरहेको प्रमुख आचार्यको भनाइ छ । यी सबै जलाशय निर्माणको काम चालू आर्थिक वर्षभित्रै सकिने आचार्यले बताए । अहिले निर्माण हुन लागेका जलाशयका लागि विनियोजन बजेट पर्याप्त नभएको आचार्यको भनाइ छ । उनका अनुसार एउटा ड्याम निर्माण गर्नका लागि ६० देखि ९६ लाख रुपैयाँसम्म बजेट लाग्ने गरेको छ । थप बजेट ल्याउन पहल भइरहेको उनले बताए । जलाशय निर्माण भएपछि जिल्लामा ३० देखि ६० हेक्टर क्षेत्रफलमा सिँचाइ हुने अपेक्षा रहेको सूचना अधिकारी शान्तराज गौतमले बताए । साथै थप २१ जलाशय निर्माण गर्नका लागि आफूहरुले माग गरेको सूचना अधिकारी गौतम बताउँछन् । दाङमा कार्यालय स्थापना भएदेखि ४१ जलाशय निर्माण भएका छन् ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया