NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

तमु ल्होछारको अवसरमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होछारले गुरुङ समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । तमु समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारका अवसरमा शुभकामना सन्देश दिँदै उनले प्रचलित भाषा, धर्म, संस्कृति, वेशभूषालगायत विविधता देशको बहुमूल्य पुँजी रहेको बताएका हुन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक रहेको र यहाँ बहुसांस्कृतिक विशेषता मौलिक पूँजीका रुपमा रहेको बताउँदै उनले भने, ‘एकता र सहिष्णुताको भाषा, धर्म, संस्कृति, वेशभूषा बहुमूल्य पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्दछ । विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन् ।’ उनले नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको उल्लेख गर्दै विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गरी यहाँ विभिन्न भाषा, लिपि, संस्कृति सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताएका छन् । ओलीले भनेका छन्, ‘लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो । यस विशेषतालाई आत्मसात् गर्दै हामी ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा छौँ ।’

ताजा अपडेट

नेपालवाच विशेष