विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एडिबीसँग १८ अर्ब २५ करोड रुपैयाँको ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपालको विद्युतीय ग्रिड आधुनिकीकरण कार्यक्रमका लागि एसियाली विकास बैंक (एडिबी)ले १८ अर्ब २५ करोड रुपैयाँ (१५६ मिलियन अमेरिकी डलर बराबर) ऋण दिने भएको छ । सो सम्बन्धी ऋण सम्झौतामा बुधबार हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरे । सहसचिव नेपालका अनुसार विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाको विद्युत प्रसारण एवं वितरण प्रणालीमा सुधार गर्ने, विद्युत ग्रिडको आधुनिकीकरण गरी विद्युत आपूर्तिलाई दिगो र भरपर्दो बनाउने र नेपाल विद्युत प्राधिकरणको क्षमता विकास एवं सुदृढीकरण गर्ने उद्देश्य राखेको छ । विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाको कुल लागत करिव २२ अर्ब ८१ करोड रुपैयाँ (१९५ मिलियन अमेरिकी डलर बराबर) रहेको छ । यसमध्ये १८ अर्ब २५ करोड एसियाली विकास बैंक र बाँकी ४ अर्ब ५६ करोड रुपैयाँ (३९ मिलियन अमेरिकी डलर बराबर) नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको स्रोतबाट व्यहोरिने भएको हो । विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाबाट विद्युत चुहावटका कारण हुने उर्जा नोक्सानीलाई न्यूनीकरण गरी बचत हुने उर्जा छिमेकी मुलुकमा समेत निर्यात गर्न सकिने र यसबाट देशको आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने अर्थ मन्त्रालयको भनाई छ । यो आयोजनाको कार्यान्वयन भने नेपाल विद्युत प्राधिकरणबाट हुनेछ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया