NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

प्रचण्ड : किन बिर्सिएको सहिद, घाईते, बेपत्ता?

काठमाडौं । ‘तपाईंले मलाई शान्ति प्रक्रियाका कामहरु अल्झिनुमा समेत दोषी देखाउने दुस्साहस गर्नुभएको रहेछ । म ‘धर्म’ र ‘पाप’मा विश्वास गर्दिनँ । तर यस्ता आरोप सुन्दासुन्दा कहिलेकाँही दिक्क लागेर सोच्ने गर्छु, साथीहरुले यति घटिया ‘पाप’ पनि कसरी चिताउन सक्दा हुन् ? यस्तो सुनेर द्वन्द्वमा ज्यान गुमाएका, वेपत्ता र घाइते पारिएकाहरुको ‘आत्मा’ ले के भन्दो हो ? छातिमा हात राखेर भन्नुस् त, यो विषय यतिका वर्षसम्म कसले अल्झाइरहेको छ ? अस्ति भर्खर मैले भनेको होइन– कि त यस विषयमा मलाई विश्वास गर्नुस्, म सकारात्मक टुंगो लगाउँछु । होइन भने मुख्य सरोकार राख्ने तपाईं दुई पक्ष (तत्कालीन माओवादी र कांग्रेस) मिलेर जे विकल्प दिनुहुन्छ, म अगाडि बढाउँछु । तपाईंले नै होइन, आयोगमा नाम सिफारिसको प्रबन्ध गरेको ? (ओली, केपी, बुँदा नं. ४१ पृ, २६) प्रधानमन्त्री केपी ओलीले १३ मंसिरमा बसेको नेकपा स्थायी समिति बैठकमा पेश गरेको प्रतिवेदनमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लगाएको संगिन आरोप हो यो । यो आरोपमाथि प्रचण्डले न त बैठकमै खण्डन गरे, न त सार्वजनिक मञ्चहरुबाट खण्डन गरेका छन् । ओली प्रचण्डमाथि आरोप बर्साउन यतिमा मात्र रोकिँदैनन् । उनी अघि लेख्छन्– ‘मलाई नातावादको निराधार आरोप लगाउनु पूर्व तपाईंले एकचोटी आफैलाई नियालेर हेर्नु भएको भए हुन्थ्यो । तपाईंले गर्नुभएको सिफारिसमा आन्दोलनमा योगदान र त्याग गरेका मान्छे परेका छन् कि अन्य ? न्यूनतम मानवीय सम्बन्ध र मर्यादालाई ध्यानमा राखेर तपाईंले मसँग उम्मेदवारी, मन्त्रिपरिषद् या राजनीतिक नियुक्तिमा भन्नुभएका सबै विषय अहिले सार्वजनिक गर्दिनँ । आज मात्र होइन, भोलि पनि मबाट यस्तो काम हुने छैन । तर तपाईंले एकछिन एकान्तमा बसेर, आफैतिर नियालेर हेर्नुस् त, हिँजो कष्टपूर्ण यात्रामा साथ दिएका साथीहरुमाथि साँच्चै न्याय भइरहेको छ ? सरकार र पार्टी नेतृत्व दुबैबाट मलाई हटाउने म्याराथुनमा कुँदिरहँदा कहिल्यै तपाईंको दिमागमा युद्धमा घाइते भएका, अझै पनि शरीरमा गोली र छर्रा बोकेर हिँडिरहेका साथीहरुको दुखान्त तस्बिर आउँछ ? कहिल्यै यी साथीहरुलाई राहत र पुनस्र्थापनाको विषय एजेण्डा बनाउनु भएको छ ? (एै, एै, बुँदा नंं ४४, पृ ३१) यि नेकपाका अध्यक्ष प्रचण्डमाथि प्रधानमन्त्री ओलीले लगाएका केवल आरोप मात्र होइनन्, यि आरोपमा सत्यको मात्रा सतप्रतिशत नै छ । घाइते योद्धा प्रतिष्ठान प्रदेश नं. १ ले ०७६ भदौ १८ गते काठमाडौंको प्रज्ञा भवनमा ‘नमेटिने घाउ, महान् जनयुद्धका घाइते योद्धाहरुको सङ्घर्षका गाथा भाग–१’ पुस्तकको विमोचन समारोह राखेको थियो । प्रदेश नंं १ को आर्थिक मामिला तथा योजना मन्त्रालयको सहयोगमा जनयुद्धका क्रममा घाईते/अपाङ्ग भएका ३५ जना अगुवा जनमुक्ति सेनाको जीवन उक्त पुस्तकमा समेटिएको थियो । तत्कालीन जनमुक्ति सेनाका बटालियन कमाण्ड ओम गुरुङका अनुसार त्यस दिन पुस्तकको बिमोचन समारोहमा उपस्थितीका लागि निवासमै पुगेर अध्यक्ष प्रचण्डलाई निमन्त्रणा दिइएको थियो । अध्यक्ष प्रचण्डले ३ बजे आउँछु भनेका थिए । त्यसैले त्यही अनुसार कार्यक्रम राखिएको थियो । निर्धारित समयमा त प्रचण्ड आएनन । एक घण्टा पर्खिएपछि सहभागी हुन नभ्याउने जानकारी पठाए । यसपछि पूर्व जनमुक्ति सेनाहरुले हतार–हतार गृह मन्त्री रामबहादुर थापालाई निम्त्याएर पुस्तकको बिमोचन गराए । गुरुङ आफैं पनि घाइते योद्धा हुन् । बिमोचनमा प्रमुख अतिथी आउँछु भनेर पनि प्रचण्ड नआएपछि पूर्व जनमुक्ति सेनाहरु त्यसदिन उनीसँग निकै रुष्ट भएका थिए । ‘हामी व्यक्तिगत स्वार्थ, घर परिवारका लागि जनयुद्धमा सहभागी भएर युद्ध लडेका थिएनौं । अहिले फर्केर हेर्दा सहिद, हामी घाइते, अपाङ्ग हतियार बनाइएका रहेछौं । आजै ५ बजे (माघ २ गते) अध्यक्ष प्रचण्डले हामी पुर्व जनमुक्ति सेनासँग भर्चुअल कार्यक्रम राख्नु भएको छ’, पूर्वजनमुक्ति सेना संगठनका केन्द्रीय सचिव समेत रहेका गुरुङ भन्छन्, ‘अहिले फेरि सुतेको बाघलाई ब्युँताउने प्रकृया सुरु भएको छ । हामीले विगतदेखि राख्दै आएका मागहरुको वास्ता गरिएको छैन । त्यसैले अहिले हामी कतै पनि खुलेका छैनौं । अब हामीलाई कसैले खेलौना नबनाओस्, बेबारिस नबनाआोस् । सुतिरहेको बाघलाई कसैले पनि नब्युताओस् भन्न चाहन्छौं ।’ ०२८ सालको झापा बिद्रोहका संस्थापक एवं पूर्व मन्त्री राधाकृष्ण मैनालीका भनाईमा पारिवारिक घेराभित्र सबैभन्दा धेरै रमाएर सहिद, बेपत्ता, घाईते, जनयुद्धकालमा खास साथ दिने ठूलो पक्तिलाई प्रचण्डले उपेक्षा गरेको बारे केपी ओली राम्रै गरी जानकार छन् । त्यसैले नै उनले आफ्नो प्रतिवेदनमा प्रचण्डप्रतिको कटाक्ष समेटेका हुन् । जनयुद्धमा जीवन गुमाउने, अङ्गभङ्ग हुनेहरुलाई मुल नेतृत्वमा बसेका प्रचण्डले बिर्सिएकैले माओवादी आन्दोलन एकीकृत रुपमा रहन नसकेको मैनालीको निश्कर्ष छ । ‘प्रचण्डले सहिद, घाइते, अपाङ्ग, बेपत्तालगायत हिजो जनयुद्धमा सामेल र दुःख गरेको पंक्ति  गरेकै हुन् । उनको अतिशय नातावादको चिन्तन सामन्ती दरवारिया चिन्तनकै उपज हो । प्रचण्डले परिस्थिती, वाध्यताले आफ्नो वरिपरि प्रहरी राखेको भने भित्री अन्तरकुन्तरमा चाहि“ मैले सान गर्नु पर्छ, गरेको छु भन्नका लागि घेराफेरा राखेका हुन्’, मैनाली भन्छन्, ‘प्रचण्डले आफ्ना वरिपरि घर परिवार च्यापेपछि राजसी ठाँट हुन्छ भन्ने ठाँने ।’ प्रचण्डको सचिवालयमा सहिद, बेपत्ता, घाईते, अपाङ्ग परिवारका सदस्य वा स्वयंले स्थान पाउन सकेका छैनन् । जनयुद्धमा गोरखामा खटिँदै गर्दा तत्कालीन शाही नेपाली सेनाको घेरामा परेर एउटा खुट्टा गुमाएका गंगाबहादुर लामाका अनुसार प्रचण्ड अवसरवादी रहेछन् भनेर उनले शान्ति प्रकृयामा सहभागी नहुँदैदेखि बुझेका थिए । आफूहरु जस्ता सोझा, सिधाहरुको ठूलो पक्ति माओवादी नेतृत्वले औजारका रुपमा प्रयोग गरेको लामाको बुझाई छ । लामा माओवादीले गठन गरेको तामाङ मुक्ति मोर्चाको संस्थापक अध्यक्ष समेत हुन् । ‘जनयुद्धमा सहभागी भएर अङ्गभङ्ग भएका छन् । तिनीहरु के खाउँ, के लाउँको अवस्थामा छन् । जीवन अस्तव्यस्त भएको छ । पागल समेत भएका छन् आत्महत्या गरीरहेका छन्’, लामाले भने, जनयुद्धमा सहभागी भएका कैयन पात्र समाज, घर परिवारमा टिक्न सकिरहेका छैनन् । जनयुद्धका ति दिन र अहिले नेताहरुको उपेक्षा सम्झियो भने आत्मघाती बनौं जस्तो आक्रोश आउँछ । हामी सुरुवाती चरणका कार्यकर्ताहरुलाई गर्नसम्म उपेक्षा गरेका छन् ।’ नेताहरुलाई सत्ताको मातले बिगारेको र उनीहरुलाई वेवारिसे बनाइएका कार्यकर्ताहरुले आँसु, श्राप लाग्ने लामाको दुखेसो छ । नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा निर्वाचनमा ओखलढु¨ाबाट निर्वाचित सभासद् बालकृष्ण ढुंगेलले अस्ति २३ पसमा लेखेको यो स्टाटसले पनि अध्यक्ष प्रचण्डको सक्कली चित्र उतार्नेछ । सार्वजनिक सञ्जालमार्फत ढुङ्गेलको प्रष्टोक्ति छ, जसले पूर्व माओवादी कार्यकर्ता हुनुको ह्दयभित्रको पीडा ओकल्छ । ढुंगेल लेख्छन्– ‘साथीहरू म मल बनेर मुला सपार्नु भन्दा जीवन खोज्नु पर्छ भनेर जीवन खोजि रहेछु ।तपाईंहरुले मेरा लागि खर्चिनु भएको माया, सद्भाव सहयोग र समयलाई मात्रै हिसाब नगर्नु होला ! मैले गरेको योगदान, मैले बेहोरेको अपमान, भोगेको यातना, दुष्मनको यातना र लुट मात्रै होइन्, आफ्ना भनिएका, भनाइएका, बनेका र बनाइएकाबाट लुटिँदा समेत मैले तपाईंहरुको बिश्वास टुट्न नदिन नखपेको हैन ! तर म आज तपाईंहरुसँग छैन । मलाई सराप्नु अघि क. प्रचण्डलाई सोध्नुस्,– बालकृष्ण किन हामीसँग रहेनन् ? किन ल्यारक्याल लामा हाम्रा हुँदा बालकृष्ण र बालकृष्णहरु लखेटिएका छन् ? किन उनी हाम्रा रहेनन् ? सोध्नुस्, एकपटक ! मेरा लागि होइन तपाईहरु मजस्तै नहुनलाई पनि सोध्नुस् । तपाईंहरुले मेरो दिन भोग्नु नपरोस् ! मृतक होइन सहिद, द्वन्द्व होइन युद्ध, अपराधी होइन, योद्धा बनाउन सफल बन्नुस् । अयोग्य होइन्, योग्य बनाउन र बन्न पनि पहिला नै सोध्नुस् । जनयुद्धको पहिलो सहिद देखिन अन्तिम सहिद सबै मृतक बनेजस्तो अब के बनिन्छ ? सोध्नुस ? सहिदको रगतले मलाई होइन, मृतक बनाउनेलाई सरापिरहेको छ । सरापि रहनेछ । हो तेहि सोधेको राम्रो । प्रचण्ड ओलीको कार्यकर्ता बन्दा कसरी लायक थिए ! आज म बन्दा कसरी गद्दार भए ? तपाईंको मापनको कडीले कतै म माथि फेरि अन्याय त गर्नु हुँदै छैन् ! सम्झनुस ! प्रचण्ड को पछि लागेर शेरबहादुर को चुला चढे नि लाल कमल थापा बोक्दै हिड्दा पनि लाल माधव को पछि लाग्दा पनि लाल रायमाझी आयोगको प्रतिवेदन लुकाउँदा पनि लाल !! एकपटक आँखा उठाउनुस् र सोध्नुस् रायमाझी आयोग को प्रतिवेदन खोइ ! लोकमान , र खिलराज को खेल केहो सोध्नुस् आफु सफल बन्नु हवस् । मलाई सरापेर आफ्नो इतिहास बनाउने समय खेर नफाल्नुस् । माया गरेर राख्ने र माया गरेर सराप्ने सबैलाई धन्यवाद । तपाईंहरु जस्तै म पनि मेरो जीवन खोजि रहेछु । मलाई जेल लादा चुँ गर्न समेत नसक्ने ! पार्टी एकता गरेर अपुताली खाने आसमा कुनै कमिटीमा मेरो नाम लेख्न नसक्ने ! क. प्रचण्ड अपुतली को आस टरेपछि, र आफ्नो जागिर गएपछि चिसो सडकमा पलेटि कस्दा म साथी बन्न सकिन । साथीहरू अर्कोलाई गद्दार भन्दैमा आफु लाल बनिँदैन । लाल बन्नेतिर लाग्नुस् मेरो शुभकामना छ । तपाईं सफल लाल जनप्रिय बन्दा म तपाईंको फ्यान बनुला ।’