NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

सापकोटाको ‘यात्राका इन्द्रेणी रङ’ बजारमा

काठमाडौं । नियात्राकार प्रदीप सापकोटाको ‘यात्राका इन्द्रेणी रङ’ नियात्रा संग्रह बजारमा आएको छ । नियात्राकार, कवि एवं समीक्षक सापकोटाको नियात्रा सङ्ग्रह ‘यात्राका इन्द्रेणी रङ’को एक कार्यक्रमकाबीच शुक्रबार लोकार्पण भएको छ । पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपाने, बरिष्ठ साहित्यकारद्धय मोहन दुवाल र श्रीओम श्रेष्ठले संयुक्त रुपमा नियात्रा सङ्ग्रहको लोकार्पण गरेका हुन् । नियात्रा सङ्ग्रह लोकार्पण कार्यक्रममा नगर प्रमुख न्यौपानेले नगरपालिकाले विकास निर्माणका साथै साहित्य, कला, संस्कृतिको क्षेत्रमा समेत काम सुरु गरेको बताए । आगामी दिनमा पनि नगरले यी क्षेत्रहरुमा निरन्तर काम गर्ने प्रतिवद्धता जनाउदै पनौतीले एक थप साहित्यकार पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा बरिष्ठ साहित्यकार मोहन दुवालले काभ्रे साहित्यकार उत्पादन गर्ने जिल्लाको रुपमा परिचित बनेको बताए । काभ्रे साहित्यकार, कवि, गायक जन्माउने जिल्ला रहेको उनको भनाई थियो । कार्यक्रममा बरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले सापकोटाले पहिलो कृतिको रुपमा आएको नियात्रा सङ्ग्रह ल्याएपनि त्यसमा अब्बल नियात्रामा हुनुपर्ने गुणहरु रहेकोले अत्यन्तै संभावना बोकेका नियात्राकारको रुपमा प्रदीप स्थापित हुन सक्ने बताए । बरिस्ठ नियात्राकार जय छ्याङछाले पुस्तकमा लेखकको निजात्मक शैलीमा इमानदार भएर पोखिनु भएको बताए । सह प्राद्यापक कवि डा. विदुर चालिसेले नियात्रा खारिएका लेखकको भन्दा कम नभएको भन्दै बताए । कार्यक्रममा लेखक तथा पत्रकार दीपक सापकोटाले नियात्रा सङ्ग्रहको बारेमा टिप्पणी गर्दै एउटा नियात्रामा हुनुपर्ने सबैखाले गुण विमोचित कृतिमा रहेको बताए । कार्यक्रममा साहित्यकार सूर्यप्रसाद लाकोँजु, चिकित्सक तथा साहित्यकार डा. सुमनराज ताम्राकार, कथाकार दिनमान गुर्मछान, पनौती नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, कवि नरेन्द्र नगरकोटीसहितले सापकोटाको कृति पठनीय रहेको बताए । विमोचित कृतिका नियात्राकार प्रदीप सापकोटाले यात्राको क्रमका केही रोचक घटनासहित आफ्ना अनुभूति सुनाउनु थिए । सापकोटाको नियात्रा संग्रह शाब्दिक बुक्सले प्रकाशन गरेको हो । के छ सापकोटाको नियात्रामा ? नियात्रामा स्वदेश तथा बिदेशका विभिन्न स्थानहरुमा अबलोकन गर्दा देखे भोगेका र सुनेका कुराहरुलाई आफ्ना शब्दहरुमा खिपेका छन । यात्राका इन्द्रेणी रङ पुस्तकमा १४ वटा नेपालको सोलुखुम्बु, खोटाङको हलेसी ,साहित्यकारहरुसङको कालिन्चोक यात्रा, भारतमा रेलको यात्रामा भोगेका कठिनाई ,ठगिएको कुरा, हैदरावादको सम्पन्नता ,चारमिनारको ऐतिहासिक वैभवता जस्ता कुराहरूलाई मीठा सरल शब्दहरुमा पस्केका छन् । मुलुक संचालकहरुमा इमानदार भएर इच्छाशक्ति दृढ भएमा नेपाल सिंगापुर हुन बेर नलाग्ने कुरालाई उनले तथ्यसहित सम्पन्नताको शहर सिंगापुरको बारेमा लेखेका छन् । पतैयामा बरालिंदा उनी एउटी मसाज गर्ने आमाकोमा पुग्छन् र उनका दुःख र वेदनाका कथा बोकेर नेपाल फर्कन्छन । मलेशियाको यात्रा गर्दा राष्ट्रियता सम्झेर दुःखी हुन्छन् । नेपालीहरुले त्यहाँ गरेका दुःख देखेर दिक्क मान्छन । रेमिटेन्स भित्र्याउनेहरुको पीडासँग दुखी हुन्छन उनी । मलेसियाको होटलमा भारतीय भनेको सुन्दा उनी प्रतिवाद गर्छन् । नियात्रा निजात्मक शैलीमा लेखिएको छ । सानासाना कुराहरुमा समेत नियात्राकारले शब्द पोखेका छन् । स्थानीयता पनि उत्तिक्कै पाइएको यो नियात्रा संग्रह पढ्नेहरुलाई नियात्राकारको पहिलो कृति हो भन्ने भान पर्दैन भन्छन वरिष्ठ निबन्धकार एवं सम्पादक श्री ओम श्रेष्ठ रोदन । काभ्रेका अत्यन्तै संभावना बोकेका नियात्राकारको रुपमा प्रदीप सापकोटाले छाप छोड्न सक्छ्न भन्ने धारणा वरिष्ठ कवि एव जनमतका सम्पादक मोहन दुवालको ।

ताजा अपडेट

नेपालवाच विशेष