अदालतलाई धम्क्याउने ओली र चुनाव चुनाव भन्ने देउवाप्रति पौडेलको आपत्ति

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले असंवैधानिक कदम चालेका प्रधानमन्त्री केपी ओलीले उल्टै अदालतलाई धम्क्याएको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध स्थनीय तहमा भइरहेको विरोधसभालाई चितवनमा सम्बोधन गर्दै पौडेलले अदालतलाई नधम्क्याउन चेतावनी दिएका हुन् । ‘प्रतिनिधिसभाले सरकार नै दिन नसके मात्रै प्रतिनिधिसभा भंग हुने हो । विश्वासका मत लिन नसके मात्रै विघटन गर्न सक्ने व्यवस्था संविधानमा छ । तर, संसदमा केही बाधा नहुँदा नहुँदै पार्टीमा झगडा भयो भनेर ओलीले प्रतिनिधिसभा विघटन गरेर तानाशाह बन्दैछन्, निरंकुश बन्दैछन्’ पौडेलले भने, ‘असंवैधानिक कदम चाल्ने ओली उल्टै राजनीतिक निर्णय गरेको हुँ । यसलाई खारेज गर भनेर अदालतलाई धम्क्याइरहेका छन् । प्रधानमन्त्रीले अदालतलाई दबाब र धम्की दिने हो ? यस्ताे दबाब दिन मिल्छ ?’ ओलीले संविधान र लोकतन्त्रलाई नै मास्न खोजेपछि आफूहरु सडकसम्म आउनुपरेको उनले बताए । ‘कम्युनिष्टले सकेनन् अब सरकार बनाउने हाम्रै पालो हो भनेर कांग्रेस हाम फाल्दैन । किनकी हामी पहिले संविधान र लोकतन्त्रलाई बचाउनुपर्छ भन्ने मान्यतामा अडिग छौं’ पौडेलले भने, ‘संविधान भत्काउने, अदालतलाई धम्क्याउने गर्न थालेपछि हामीले सडकमार्फत प्रतिनिधिसभा पुनस्थापनाको माग गरेका हौं ।’ संविधान ट्रयाकमा आएपछि निर्वाचनमा जान आपत्ति नभएको भन्दै पौडेलले हताररिएर चुनाव चुनाव नभन्न सभापति शेरबहादुर देउवालाई आग्रह गरे । हाम्रो पालो आयो भनेर हाम फाल्ने कांग्रेस नै नभएको पौडेलले बताए । न्यायमूर्तिहरुलाई संविधान पढ्दिएर नेपालीहरुलाई न्याय दिन आग्रह गरेका छन् ।
प्रतिक्रिया