स्याउका बिरुवा निर्यात गर्दै जुम्लाका किसान

जुम्लाका किसान स्याउका बिरुवा जिल्ला बाहिरा निर्यात गर्न लागिपरेका छन् । बाहिर जिल्लाका किसान बिरुवा लिन नर्सरीमै पुग्ने गरेको स्याउ किसान गोपाल रोकायाले जानकारी दिए । यस वर्षमा पहिलो पटक दाङ जिल्लामा स्याउ बिरुवा निर्यात गरेसँगै बाहिरी जिल्लाबाट स्याउका बिरुवा खरीद गर्न नर्सरीमै स्याउ लगाउने किसानको भीड हुने गरेका तिला गाउँपालिका– १ का वरिष्ठ स्याउ किसान महेन्द्र बुढाले बताए । यस याममा मात्र करीब ६ हजार स्याउका बिरुवा बेचेको सिञ्जा गाउँपालिका स्याउ किसान हंश कठायतले जानकारी दिए । उनले भने, ‘स्याउका बिरुवा लिन कृषि विकास कार्यालय दाङको टोली आइ र नर्सरीबाटै छ हजार बिरुवा लिएर गएको छ ।’ रेड, रोयल र गोल्डेन जातका स्याउ जिल्ला बाहिर निर्यात भएको छ । स्याउका बिरुवा रोप्ने मौसम शुरु भएसँगै त्यहाँका स्थानीयवासी र जिल्ला बाहिरका किसान आउन थालेको त्यहाँका स्याउ नर्सरीका सञ्चालक बताउँछन् । नर्सरीमै ४० रुपैयाँ प्रतिबिरुवा बिक्री हुने गरेको त्यहाँका किसान बताउँछन् । फाट्टफुट्ट किन्दा प्रतिबिरुवा ५० रुपैयाँ पर्छ । निरोगी बिरुवा उत्पादन गरेर जिल्ला बाहिर पठाउन किसान यस याममा लागिपरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिए । कार्यालय जिल्लामा सञ्चालन आएदेखि स्याउखेतीमा आधुनिकीकरणदेखि किसानलाई चाहिने सीपमूलक तालीमले त्यहाँका स्याउ किसानलाई राहत भएको उनले बताए । अर्गानिक मलखाद्य प्रयोग गरेर हुर्केका स्याउका बिरुवा किन्न व्यापारी गाउँमै पुग्ने गरेका छन् । स्याउका बिरुवा जिल्ला बाहिर निर्यात गर्नका लागि त्यहाँका किसान संगठिन हुने गरेको किसान परी कार्कीले जानकारी दिए । जिल्ला बाहिरबाट आएको मागअनुसार सबै किसानले सल्लाह गरेर एकैपटक निर्यात गर्ने वातावरणका लागि पहल भइरहेको छ । यस कार्यका लागि जिल्ला कृषि विकास कार्यालय सकारात्मक छ । हरेक वर्ष जुम्लादेखि स्याउका बिरुवा निर्यात हुने गरेको छ । त्यहाँको बिरुवा तत्कालीन कर्णालीका पाँच जिल्ला, बझांङ, बाजुरा, दैलेख, सोलुखुम्बु, ताप्लेजुङ, डोटी र जाजरकोटसम्म निर्यात हुने गरेको छ । चिसो हावापानीमा निरोगी बिरुवा पाइने भएकाले सबै किसानको ध्यान जुम्लामा केन्द्रित हुने गरेको किसान बताउँछन् । हाल जिल्लामा ११० नर्स फर्म कृषि विकास कार्यालयका दर्ता भएका छन् जसमध्ये करीब ८० नर्सरी धनीले सक्रियरुपमा विरुवा उमारिरहेको कार्यालय प्रमुख बालकराम देवकोटाले बताए । उनले भने, ‘साढे पाँच लाख नर्स बिरुवा जिल्लामा उत्पादन भएको कार्यालय प्रमुख देवकोटाले बताए ।’ जिल्ला बाहिर पठाउने तयारीमा रहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । स्याउ लगाउने मौसम शुरु भएकाले बिरुवा बिक्री हुने अपेक्षा त्यहाँका स्याउ नर्सका सञ्चालकले गरेका छन् । योपटक सोचे जस्तो गरेर हिउँ नपरेकाले खाल्डा खन्न गाह्रो हुने भएको छ । अगामी फागुनको पहिलो सातासम्म स्याउ लगाउन मिल्ने भएकाले नर्सको माग आउने अपेक्षा गरिएको कार्यालयले जनाएको छ । हाल जिल्लाको सिञ्जा क्षेत्र र गुठीचौर क्षेत्रतिरबाट स्याउ निर्यात भइरहेको जानकारी कार्यालयलाई आएको उनले बताए । स्याउका बिरुवा त्यहाँका किसानको प्रमुख आम्दानीको स्रोतमध्ये एक हो । जिल्लामा ३८ सय हेक्टरमा स्याउ रोपिएकामध्ये करीब एक हजार ५ सय हेक्टर क्षेत्रफलबाट स्याउले फल दिने गरेको सो कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया