व्यापारी राज्यमन्त्री दुगड प्रधानमन्त्रीकाे विशेष आर्थिक सल्लाहकार ! यस्तो छ उनको पृष्ठभूमि

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको विशेष आर्थिक सल्लाहकारमा आइतबार पूर्व उद्योग वाण्ज्यि तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड नियुक्त भए । पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त भएसँगै रिक्त रहेको उक्त पदमा मंगलबारदेखि दुगडले मन्त्री स्तरको सेवासुविधासहित आफ्नो कार्यकाल सम्हाल्दै छन् । व्यापारिक घरानाका दुगड छोटो समयमै राजनीतिमा बलियो पकड बनाएका व्यक्ति मानिन्छन् । सेन्चुरी मसाला, दुगड स्पाइसेज, होटल ह्यारिसन लगायतका उद्योग चलाउँदै आएका दुगड छोटो समयमै राजनीतिमा छलाङ मार्नेमध्येका पात्र हुन् । राजनीतिक पृष्ठभूमि दुगड भारतबाट काठमाडौं आएर अर्बपति बनेका व्यापारी हुन् । उनको राजनीतिक यात्रा ०५१ मा गठन भएको दल नेपाल सद्भावना पार्टी आनन्दिदेवीबाट सुरु भएको हो । सद्भावना दलको नाम लिनेबित्तिकै दलका अध्यक्ष श्याम सुन्दर गुप्ताको नाम छुट्दैन । माघ ०६८ मा व्यापारी पवनकुमार संघाईको अपहरणको मुख्य योजनाकार रहेका गुप्तालाई त्यतिबेला ७ वर्ष जेल सजाय तोकिएको थियो । त्यसमा ३ वर्ष ६ महिनामात्रै जेल बसेर उनी २ साउन ०७० मा मुक्त भए । बाँकी जेल अवधि मिनाहा भयो । धेरै भन्सार छली हुने कार्यालयका रुपमा परिचित भैरहवा भन्सारमा बसी गुप्ताले अकुत सम्पत्ति आर्जन गरेका थिए । उनै गुप्ता अपहरणको मुद्दामा तात्कालिन वाणिज्य तथा आपूर्ति मन्त्री हुँदा नै पक्राउ परेका थिए । तिनै गुप्ता अध्यक्ष रहेको पार्टीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् दुगडले । मोेरङ व्यापार संघ हुँदै २०६४/६५ मा उनी उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्षसमेत भएका थिए । त्यसपछि राजनीतिमा होमिएका दुगड ०६४ को निर्वाचनमा नेपाल सद्भावना पार्टी आनन्दिदेवीबाट समानुपातिक सांसद बनेका हुन् । राजनीतिमा होमिँदा दुगडको मूलधारका पार्टी नेपाली कांग्रेस, तत्कालिन एमाले तथा माओवादीसँग खासै नजिकको सम्बन्ध थिएन । प्रत्यक्ष चुनावमा हारेपछि संविधानसभामा सद्भावना पार्टी नेपालबाट समानुपातिकतर्फका सभासद् भएका दुगड लामो समय सोही दलमा रहन भने सकेनन् । दलबाट निस्केपछि दोस्रो संविधानसभाका लागि आफ्नै पार्टी खोल्ने तरखरमा उनी लागे । त्यसै क्रममा उनले नव नेपाल निर्माण पार्टी गठन गरे । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा उक्त पार्टी खरायो चिन्हसहित मैदानमा उत्रिएको थियो । विज्ञापन काण्डबाट चर्चित दुगडले त्यतिबेला नयाँ पार्टी खोल्ने भनेर पद नै तोकेर पत्रपत्रिकामा विज्ञापन गरेका थिए । उनी आफैं अध्यक्ष बनेर स्थापना गरिएको उक्त पार्टीले निर्वाचनमा पराजय व्यहोर्यो । त्यसवखत उनको दलबाट उम्मेदवारी दिएका २२ जनाले एक हजार तीन सय ९८ मतमात्र ल्याएका थिए । नसोचेको हार व्यहोरेपछि उनले आफ्नो दल एमालेमा गाभेका थिए । त्यससँगै उनले तत्कालीन नेकपा एमालेको नेतृत्वसँग हिमचिम बढाउँदै लगे । ०७४ को चुनावमा सांसद् बन्न उनले तत्कालीन एमालेलाई १० करोड रुपैयाँ बुझाएको खुलासा भएको थियो । प्रधानमन्त्री ओली खेमातिर निकटस्थ दुगडको राजनीतिक यात्रा त्यसपछि फलिफाप हुँदै गएको देखिन्छ । प्रधानमन्त्री ओली विराटनगर गएको समयमा दुगडकै होटलमा बस्ने गरेको उनी निकट नेताले बताउँदै आएका छन् । ओलीलाई उपचारको लागि सिंगापुर लैजाने क्रममा पनि दुगडको सहयोग रहेको बताइन्छ । लकडाउनको समयमा थर्मल गनमा कालोबजारी गर्दै गर्दा रंगेहात पक्राउ परेका व्यापारी सुलभ अग्रवाललाई बचाउन मन्त्री नै लागि परेको भनेर पनि दुगडलाई आरोप लाग्यो । तर, त्यसको खण्डन गर्दै उनले आरोप प्रमाणित गरे कारबाही भोग्न तयार रहेको भन्दै चुनौति नै दिएका थिए । प्रहरीको स्टिङ अपरेसनमा अग्रवाल पक्राउ परेका थिए । सुवास अग्रवालका नाममा कालोबजारी गर्दै आएका उनी पक्राउ परेपछि मात्रै नेपाल उद्योग परिसंघका उपाध्यक्ष, शंकर ग्रुप एवं जगदम्बा स्टिलका सञ्चालन सुलभ अग्रवाल कथित ‘हाइ प्रोफाइल’ व्यवसायी भएको रहस्य खुलेको थियो । कोेरोना भाइरसको प्रकोपको बेलामा अग्रवालले चार हजार पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँसम्ममा बिक्री गरेका थिए । पछि २५ लाख रुपैयाँ धरौटीमा उनी रिहा भएका थिए । दुगडको नियुक्ति राजनीतिक कि निर्वाचनमुखी ? प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार पद सानोतिनो पदमा गनिँदैन । यो पदका लागि आर्थिक क्षेत्रमा योगदान र लामो अनुभव भएका, विज्ञ लाई छनोट गरिन्छ । तर दुगडको यस्तो कुनै पनि पृष्ठभूमि छैन । व्यापारिक समुदायमा राम्रो पकड भएका कारण उनको नियुक्तिलाई चुनावको खर्च जोहो गर्न गरिएको चालवाजीका रुपमा कतिपयले अथ्र्याएका छन् । हाल प्रधानमन्त्रीको आर्थिक विकास सल्लाहकारको रुपमा लालशंकर घिमिरे छन् । उनी हुँदाहुँदै दुगडको नियुक्ति चुनावी नियुक्तबाहेक अरु केही नभएको अड्कलबाजी सुरु भएको छ ।
ताजा अपडेट
-
अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क
-
एमालेले कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी गर्दै
-
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुन : काठमाडौँमा आकस्मिक अवतरण
-
एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
प्रतिक्रिया