‘प्रचण्डको सम्मानमा फोटो झुण्ड्याएका हौं, प्रधानमन्त्रीको फोटो हटाएका छैनौं’

५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा अस्वस्थ आरोप प्रत्यारोप चलिरहेको छ । आन्तरिक द्वन्द्वका कारण नेकपा औपचारिक रुपमा विभाजन भएको छैन तर, विभाजित भन्दा चर्को गरी ओली र प्रचण्ड–नेपाल समूहबीच चर्को आरोपप्रत्यारोप चल्दै आएको छ । नेकपा विभाजनको असर पार्टी केन्द्रमा मात्रै छैन । गाउँगाउँसम्म पुगेको छ । यसको असर केन्द्र, प्रदेश हुँदै स्थानीय तहसम्मै पुगेको छ । यही विभाजित मानसिकताका बेला पूर्व माओवादीका तर्फबाट सिन्धुलीको सुनकोशी गाउँपालिकामा जितेका अध्यक्ष र उपाध्यक्षले कार्यकक्षमा प्रधानमन्त्री केपी ओलीको फोटो हटाएर प्रचण्डको फोटो राखेको चर्चा चलेको छ । यसै विषयमा नेपालवाचले सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालसँग प्रधानमन्त्री ओलीको फोटो हटाएर प्रचण्डको राख्नुभएको हो भनेर प्रश्न गर्दा तीनै जनाको फोटो राखेको दाबी गरेकी छिन् । प्रधानमन्त्रीको फोटो हटाएर प्रचण्डको फोटो राख्नुभएको भन्ने छ नी किन यसो गर्नुभयो ? हामीले अहिले पार्टी फुटेपछि मात्रै होइन पहिलेदेखि नै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डको फोटो कार्यकक्षमा राख्दै आएका छौं । राष्ट्रपतिको पहिल्यै थियो । २०७४ मा प्रधानमन्त्रीमा केपी ओली निर्वाचित भएदेखि उहाँको र प्रचण्डकाे फोटो हामीले कार्यकक्षमा राख्दै आएका छौं । तर, तपाईंहरुले अहिले त कार्यकक्षमा प्रधानमन्त्रीको हटाएर राष्ट्रपति र नेकपाका अध्यक्ष प्रचण्डको मात्रै फोटो राखेको होइन ? त्यस्तो होइन अध्यक्षको मेरो कार्यकक्षमा राष्ट्रपति प्रधानमन्त्री र प्रचण्ड तीन जनाकै फोटो झुण्ड्याएको छ । अहिले चर्चा भएको फोटोको सन्दर्भ उपाध्यक्षको कार्यकक्षको हो । उहाँको कार्यकक्षमा सफा गर्दा प्रधानमन्त्रीको फोटो झरेर फुटेको रहेछ । हिजो सोमबार खेलकुदसम्बन्धी एउटा बैठक उपाध्यक्षको कार्यकक्षमा भएको थियो । त्यहाँ प्रधानमन्त्रीको फोटो नभएको देखेपछि साथीहरुले प्रधानमन्त्रीको फोटो हटाएछन् भनेर प्रचार गरे । तर, सफाइ गर्ने क्रममा फोटो झरेर फुटेपछि नयाँ बनाउन सिन्धुलीको सदरमुकाममा पठाएका छौं । अब केही दिनमा ल्याएर राख्छौं । हामीलाई तीन जनाप्रति नै उत्तिकै सम्मान छ । खासगरी राष्ट्रप्रमुख र सरकार प्रमुखको फोटो सरकारी कार्यालयमा राख्ने चलन हुन्छ तर तपाईंहरुले त पार्टी नेताको पनि फोटो राख्नुभयो नी किन ? प्रचण्ड अहिले पनि नेकपाको अध्यक्ष पनि हुनुहुन्छ । नेकपा केपी ओलीको मात्रै पार्टी होइन । हामी कार्यकर्ताहरुले नै उहाँहरुलाई नेता बनाएका हौं । अध्यक्ष पनि हामीले नै बनाएका हौं । व्यक्तिगत रुपमा उहाँहरुसँग हाम्रो कुनै असझदारी होइन । राजनीतिमा स्थायी शत्रु र मित्रु भन्ने हुँदैन । उहाँहरुबीच अहिले बैमनस्यता होला । तर, सधैं एकनास हुँदैन । यसरी पार्टी नेताको फोटो कार्यकक्षमा राख्न मिल्छ त ? राख्न मिल्छ की मिल्दैन भनेर कानूनमा लेखेको छैन । प्रचण्ड हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष हुनुहुन्छ । सम्मानित व्यक्ति भएकोले भित्रैदेखि श्रद्धा जागेर उहाँको फोटो गाउँपालिकाको कार्यकक्षमा राखेका हौं । हामीले पालिकामा सभाहल बनाइरहेका छौं । सभाहलमा पूर्व प्रधानमन्त्रीहरु सबैको फोटो राख्दैछौं । यसमा कुन दलका प्रधानमन्त्री धेरै वा थोरै परे भन्ने हुँदैन । जुन पार्टीका धेरै प्रधानमन्त्री छन् उनीहरुका मात्रै फोटो धेरै हुन्छन् । यो स्वभाविक हो । प्रचण्डको मात्रै राखेर राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउने तयारी पनि छ की ? त्यस्तो हुँदैन हामीले तीन जनाकै फोटो राखिरहेका छौं । कसैको पनि हटाउँदैनौं । प्रचण्डको फोटो राख्ने तर, राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नराख्न हामीलाई नैतिकताले दिंदैन । सार्वजनिक पद धारण गरेका हामी त्यो दिशामा जाँदैनौं । जान पनि हुँदैन । माओवादीबाट जित्नुभएकोले पूर्व माओवादीका नेताको फोटो राखौं भनेर राख्नुभएको हो ? अहिले पार्टी फुटेको बेलामा साथीहरुले यिनीहरु प्रचण्ड, माधव नेपाल समूहमा लागे भनेर अनावश्यक प्रचार गरे । तर, हामीले पार्टी नफुट्दैदेखि तीनै जनाको राख्दै आएका छौं । प्रचण्डको राखेको चाँहि हाम्रो अध्यक्षप्रतिको सम्मान हो ।
ताजा अपडेट
-
अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क
-
एमालेले कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी गर्दै
-
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुन : काठमाडौँमा आकस्मिक अवतरण
-
एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
प्रतिक्रिया